मर्चवारी गाउँपालिकाकी उपाध्यक्ष र वडा अध्यक्षको नागरिकता विवादमा

रामविकास चौधरी

‘व्यक्ति एउटै, नागरिक दुई देशको ।’ यस्तो कुरा पटकपटक सुनिएकै हो । यसैक्रममा रूपन्देहीको मर्चवारी गाउँपालिका उपाध्यक्ष र सोही गाउँपालिका वडा नं ५ का वडा अध्यक्षमाथि नेपाल र भारत दुबै देशको नागरिकता रहेको विवाद सिर्जना भएको छ ।

मर्चवारी गाउँपालिकाकी उपाध्यक्ष आशा सिंह र उहाँको ससुरा काका तथा सोही गाउँपालिकाको वडा नं ५ का वडाध्यक्ष कृष्णा सिंह दुवै जना नेपाल र भारत दुई देशको नागरिक रहेको भन्दै जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा उजुरी परेपछि सो कुरा बाहिर आएको हो ।

भारतको निर्वाचन आयोगको पहिचानपत्र अनुसार आशा सिंह जानकी नगर वडा नं १८ थाना नौतनवा, तहशील नौतनवा जिल्ला महराजगञ्ज (उत्तर प्रदेश) भारतका स्थायी बासिन्दा देखिनुभएको छ । उहाँको घर संख्या ४० हो । सोही ठेगाना देखिएका कृष्णा सिंहको पहिचान पत्रमा घर संख्या ४१ छ ।  आयोगको पहिचान पत्रमा उहाँहरूको पिनकोड नं. क्रमशः २७३१६४ उत्तर प्रदेश र २७३१६१ उत्तर प्रदेश उल्लेख छ ।

जसवन्त सिंहका चारभाइ छोराहरू, श्रीपत सिंह, राजकुमार सिंह, कृष्ण कुमार सिंह र अर्जुन सिंह हुन् । गाउँपालिका उपाध्यक्ष आशा सिंह राजकुमार सिंहका जेठा छोरा भारत सिंहको श्रीमती हुनुहुन्छ ।

त्यसैगरी वडाध्यक्ष कृष्ण कुमार सिंह जसवन्त सिंहका काइँला छोरा तथा उपाध्यक्ष आशा सिंहका ससुरा काका हुन् । पञ्चायतकाल देखिनै उनको परिवार नेपालको स्थानीय राजनीतिमा सक्रिय देखिन्छ । 

राजकुमार सिंहले तत्कालीन ओडवलिया गाउँपञ्चायतबाट २०३९ र २०४३ सालमा दुईपटक प्रधानपञ्च जितेका थिए । सिंह २०४६ सालमा प्रजातन्त्रको पुनर्बहालीपछि उनी २०४९ र २०५३ सालमा दुईपटक सिलौटिया गाविस अध्यक्ष पनि निर्वाचित हुनुभयो । अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा २०७९ को स्थानीय तह निर्वाचनमा उहाँकी बुहारी आशा सिंह मर्चवारी गाउँपालिकाको निर्वाचित उपाध्यक्ष हुनुहुन्छ ।

स्वर्गीय जसवन्त सिंहका जेठो छोरा श्रीपत सिंह २०३२ चैत्र २९ गते तत्कालीन ठर्की गाउँ पञ्चायतका निर्विरोध निर्वाचित प्रधानपञ्च तथा २०५४ सालमा इलाका नं १६ को इलाका सदस्य हुनुभएको थियो । त्यसैगरी अर्जुन सिंह २०५३ सालमा ठर्की गाविसका अध्यक्ष जित्नुभएको थियो भने आशा सिंह र कृष्णा सिंह २०७४ को स्थानीय तह निर्वाचनमा मर्चवारी गाउँपालिकाका निर्वाचित उपाध्यक्ष र वडाध्यक्ष हुनुहुन्छ ।

“सीमा वारी र पारी दुबैतिर घरजग्गा रहेपनि उहाँहरू खासमा भारतीय बासिन्दा हुनुहुन्छ” एक स्थानीयले भन्नुभयो – “उहाँहरूको घरजग्गा तथा नेपाल तर्फको ठेगाना मर्चवारी गाउँपालिका –५ ओवलिया रहेपनि उहाँहरूको बेलुकाको बाँस भारत नौतनवा स्थित निवासमा नै रहने गरेको छ ।” ती स्थानीयले भन्नुभयो । उहाँहरूको राजनीतिक र प्रशासनिक पकड दुबै देशमा रहेकोले कसैले कारवाहीको पहल नगरेको ती स्थानीयको आरोप छ । 

वडाध्यक्ष कृष्णा कुमार सिंहले आफ्नो बाबु र आमा दुवैजना पञ्चायतकालमा चारचार पटक प्रधानपञ्च जितेको बताउनुभयो । उहाँले भन्नुभयो– “बाबु जसवन्त सिंह तत्कालीन ठर्की गाउँपञ्चायत र जेठीआमा देवमाया सिंह ओडवलिया गाउँ पञ्चायतबाट सँगसँगै चारचार पटक प्रधानपञ्चको जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ ।” आफूहरूको फर्जी भारतीय निर्वाचन कार्ड बनाएर बदनाम गर्न कसैले षड्यन्त्र रचेको उहाँले आरोप लगाउनुभयो ।

कृष्णकुमार सिंहले भन्नुभयो– “नौतनवा स्थित आफूहरू बस्ने घरपनी मावली हजुरबुबा त्रिवेणी क्षेनियाको नाममा रहेको छ । त्यो आमाको पेवा सम्पत्ति हो ।” आफूहरूको नाममा भारतमा कुनै पनि सम्पत्ति वा कागज प्रमाण नभएको उहाँले बताउनुभयो । सामाजिक सञ्जाल फेसबुक समेतमा आफूहरू विरुद्ध पोष्टिएका सबै कागज प्रमाण फर्जी हुन, त्यस्ता फर्जी कागजात बनाइ आफूहरूलाई फसाउन षड्यन्त्र गर्नेलाई कारवाही हुनुपर्ने उहाँको माग छ ।

गाउँपालिका उपाध्यक्ष आशा सिंहको भनाइ पनि कृष्णा सिंहसँग मिल्दो छ । भारत देवरिया माइत भएकी आशा सिंहको नेपाली नागरिकता वैवाहिक अंगीकृत हो । केहीदिन अघिमात्रै कसैले आफ्नो नाम जोडेर भारत निर्वाचन आयोगको फर्जी पहिचानपत्र तयार गराइ सामाजिक सञ्जाल फेसबुकमा सम्प्रेषित भएको भन्दै उपाध्यक्ष सिंहले त्यसमा कुनैपनि सत्यता नरहेको बताउनुभयो । उहाँले भन्नुभयो– “आफू नेपाली हो, नेपाली हुनुमा गर्व छ ।”

नागरिकता ऐन २०६३ को दफा १४ को उपदफा १ अनुसार “कुनै विदेशी व्यक्तिले झुटो विवरण वा बयान दिई नेपाली नागरिक हो भनी झुक्याई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको कुरा प्रमाणित हुन आएमा नेपाल सरकारले निजको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरी निजलाई नेपाली नागरिकबाट हटाउने आदेश दिनेछ ।” त्यसैगरी नेपाल सरकारले कुनै व्यक्तिलाई नेपालको नागरिकताबाट हटाउने गरी दिएको आदेश उपर पैँतीस दिनभित्र सम्बन्धित उच्च अदालतमा पुनरावेदन लाग्न सक्ने सोही ऐनको दफा २ मा लेखिएको छ ।

यस सम्बन्धमा रूपन्देही नागरिक समाजका महासचिव दीपक केसीले देशको विद्यमान ऐन कानुनसँग बाझिने कुनैपनि कृयाकलाप विरुद्ध नेपाल सरकार तथा सम्बन्धित निकायले तत्काल कारवाही गरि कानुनी राज्यको अनुभुति दिनुपर्ने बताउनुभयो । त्यसैगरी सम्बन्धित निकाय निर्वाचन आयोग समेतले आरोपितहरूको दुई देशको नागरिकता सम्बन्धमा तत्काल छानबिन गरि दोषी साबित भए उनीहरूको नेपाली नागरिकता बदर गरिने निर्वाचित पद समेत खारेज गरि कारवाही गर्नुपर्ने नागरिक अभियन्ता तथा अधिवक्ता प्रख्यात बन्जाडेको भनाइ छ ।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले उपाध्यक्ष आशा सिंह र वडाध्यक्ष कृष्णा सिंहले लिएको भनिएका दुई देशको नागरिकता बारे उजुरी परेको र छानबिन चलिरहेको बताउनुभयो । दोहोरो नागरिकता लिएको पुष्टि भए कारवाही हुने उहाँको भनाइ छ ।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

रामविकास चाैधरी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link