भेरी नदीमा भइरहेको जथाभावी उत्खननबाट सुर्खेतको एउटा गाउँ नै बगरमा परिणत हुने जोखिममा छ। त्यसलाई रोक्न स्थानीय सरकारले चासो नदेखाउँदा गाउँले विस्थापनको त्रासमा छन्।
स्थानीय सरकारको बेवास्तामा परेको पश्चिम सुर्खेतस्थित पञ्चपुरी नगरपालिका–९ को राजी गाउँका बासिन्दा अहिले आफ्नो थातथलोबाट विस्थापित हुनुपर्ने पिरलोमा छन्।
२०७१ सालमा भेरी नदीको बाढीले तहसनहस पारेको यो गाउँ यसै पनि बाढीको जोखिममा छ। त्यसमाथि नदीले धार परिवर्तन गरेर गाउँतिर पस्न सक्ने ठाउँमा जथाभावी गिट्टी–बालुवा उत्खनन भइरहँदा जोखिम थप बढेको गाउँले बताउँछन्।
अचेल राजी गाउँका कमल सापकोटा घर अघिल्तिरको बगरबाट बालुवा र गिट्टी उठाउन आउने ट्याक्टर र टिप्परलाई लखेट्नमै समय विताइरहेका छन्। “एकैछिन पनि नहेर्ने हो भने …