हामी एकपटक लेलेपबाट विशाल तमोर नदीको किनारै–किनार हुँदै लुङ्थुङ्तर्फ उकालो लागेका थियौँ। लुङ्थुङ्देखि उत्तरतिर प्रायः शेर्पा जातिका मानिसहरूको मात्रै बसोवास रहेको पाइन्छ। लुङ्थुङ्बाट उकालो लागेपछि तमोर नदीले दिशा फेर्दोरहेछ।
यात्राका क्रममा ठाउँ–ठाउँमा सुन्दर र मनमोहक छङ्छङे झर्नाहरू भेटिन्छन्। आँखै अगाडिबाट झरिरहेको छङ्छङे झर्नाको आकर्षण अनि चारैतिर गुञ्जिरहेको झ्याउँकिरीको संगीतले वातावरणलाई साह्रै मनमोहक र आनन्दमय बनाइदिएको थियो। बाटोमा भारीका भारी सामान बोकेर उकाली र ओराली गरिरहेका चौँरीका बथान र तिनको गलामा झुण्ड्याइएको घण्टीबाट निस्केको ‘टङ् टङ्…टङ् टङ्’को आवाजले थकान महसुस हुन दिँदैन।
कहिले तमोरलाई छोडेर डाँडा–काँडा उक्लँदै अनि फेरि घुमेर त्यसैको किनारामा मिसिँदै, तमोरसँग लुकामारी खेल्दै हामीले देउरालीमा पाइला टेक्यौँ। त्यहाँ …