हामी एकपटक लेलेपबाट विशाल तमोर नदीको किनारै–किनार हुँदै लुङ्थुङ्तर्फ उकालो लागेका थियौँ। लुङ्थुङ्देखि उत्तरतिर प्रायः शेर्पा जातिका मानिसहरूको मात्रै बसोवास रहेको पाइन्छ। लुङ्थुङ्बाट उकालो लागेपछि तमोर नदीले दिशा फेर्दोरहेछ।
यात्राका क्रममा ठाउँ–ठाउँमा सुन्दर र मनमोहक छङ्छङे झर्नाहरू भेटिन्छन्। आँखै अगाडिबाट झरिरहेको छङ्छङे झर्नाको आकर्षण अनि चारैतिर गुञ्जिरहेको झ्याउँकिरीको संगीतले वातावरणलाई साह्रै मनमोहक र आनन्दमय बनाइदिएको थियो। बाटोमा भारीका भारी सामान बोकेर उकाली र ओराली गरिरहेका चौँरीका बथान र तिनको गलामा झुण्ड्याइएको घण्टीबाट निस्केको ‘टङ् टङ्…टङ् टङ्’को आवाजले थकान महसुस हुन दिँदैन।
कहिले तमोरलाई छोडेर डाँडा–काँडा उक्लँदै अनि फेरि घुमेर त्यसैको किनारामा मिसिँदै, तमोरसँग लुकामारी खेल्दै हामीले देउरालीमा पाइला टेक्यौँ। त्यहाँ उकालो चढिसक्नेले त्यत्रो उकालो चढ्न सफल भएको खुसीमा र ओरालो झर्नेले अगाडि केही अशुभ नहोस् भनेर फूलपाती चढाउने गर्दा रहेछन्। अरूहरूले गरेको देखेर हामीले पनि त्यही धर्म निभायौँ अनि देउरालीमा पाती चढायौँ। एकछिन् त्यहाँ उभिएर देउरालीको चिसो हावामा उन्मुक्त हुँदै रमायौँ।
ओलाङ्चुङ्गोला पुग्ने बेलामा परैबाट विशाल पर्वतको काखैमा झुरुप्प भएर रहेका घरहरू देखियो। हामी बिस्तारै–बिस्तारै तेर्सो बाटोहुँदै ओलाङ्चुङ्गोलास्थित किपा दिदीको घरतर्फ लाग्यौँ। त्यहाँ किपा दिदीले हामीलाई हार्दिकतापूर्वक स्वागत गर्दै भन्नुभयो– ‘सरहरू थाक्नु भएको होला ! पहिले खाना खाएर एकछिन आराम गरौँ, अनि फुटुक हेरौँ है?’ किपा दिदीले पकाएको तातो खाना र साथमा तोङ्बाको चुस्कीले थाकेर चूर भएको ज्यानलाई केही स्फूर्ती मिलेको महसुस भयो।
खाना खाएर आ–आफ्ना झोला र सामान त्यहीँ घरमा राखेर हामी फुटुक हेर्न निस्क्यौँ। स्थानीयहरू गाउँको माथिल्लो भागमा रहेको गुम्बामा फुटुक पर्व मनाइरहेको कुरा हामीले सुनेका थियौँ, हामी पुनः उकालोतिरै लाग्यौँ। मनमा फुटुक पर्व कसरी मनाइन्छ भन्ने जिज्ञासा पनि त्यतिकै थियो र पर्वमै सहभागी हुन गइरहेको कुराको हर्ष पनि। फुटुक पर्वमा शेर्पाहरूले ‘गुम्बा’ क्षेत्रलाई बेहूली सिँगारेझैँ सिँगारेका थिए, बसेर खान र मनोरञ्जन गर्न आ–आफ्नै पाल टाँगिएको थियो। मैँले विशेष चासो दिएर फुटुक पर्वका सबै तौर–तरिका र पर्व मनाउने विधिहरू अवलोकन गरेँ र आफ्ना जिज्ञासा शान्त पारेँ।
फुटुक पर्वमा प्रसादको रूपमा सेलरोटी पोलिँदो रहेछ, अनि रोटी, फलफूल र फूलपाती बनाएर भगवानलाई चढाइँदो रहेछ। लामाहरू मिलेर पूजाको विधि सम्पन्न गर्दा रहेछन् भने मुख्य लामाबाट भूत–प्रेत भगाउने मन्त्र पढिँदो रहेछ। परापूर्व कालदेखि मनाइँदै आएको फुटुक पर्वमा सहभागी हुन देश–विदेशबाट पाहुनाहरू आउने गरेका हामीले त्यहाँ पुगेपछि मात्र थाहा पायौँ।
ताप्लेजुङ्ग सदुरमुकाम फुङ्लिङ्गबाट तीन दिनको पैदल यात्रा गरी पुगिने ओलाङ्चुङ्गोला नेपालकै दुर्गम र विकट गाउँ मानिन्छ। करिब साढे चार सय वर्ष पुरानो ऐतिहासिक दिकि छ्योलिङ गुम्बा जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलामा अवस्थित छ। कञ्चनजङ्घा संरक्षण क्षेत्र अन्तर्गत ताप्लेजुङको ओलाङ्चुङगोलामा वालुङ समुदायको बसोवास छ। तीन हजार दुई सय मिटरको उचाईमा रहेको तमोर किनारको हिमाली बस्ती ओलाङ्चुङगोलामा हाल वालुङ समुदायका ५२ घरपरिवार बसोवार गरिरहेका छन्। फुटुक पर्व नेपालभरि केवल वालुङ समुदायबाट ओलाङ्चुङगोलामा मात्र मनाइने विशेष पर्व हो।
फुटुक पर्व
वालुङ समुदायले आफ्नो प्रमुख पर्वका रूपमा प्रत्येक वर्ष दशैँको कोजाग्रत पूर्णिमा पछिको पञ्चमी तिथिदेखि तिहारको औँसी अर्थात् लक्ष्मीपूजाको दिनसम्म फुटुक पर्व धुमधामका साथ मनाउने गर्दछन्। वालुङ समुदायका आफन्त, नातेदारहरू पनि पर्व मनाउन टाढा–टाढादेखि ओलाङ्चुङ्गोला आउने गर्दछन। यस्तै, फुटुक पर्वमा नजिकैका बस्ती याङ्मा, घुन्सा, फले, ग्याब्ला, लेलेप, लुङ्गथुङ्ग आदि गाउँका बासिन्दाहरू समेत सहभागी हुने गरेका छन्।
फुटुक पर्वको अवधिभर हरेक दिन मध्यरातदेखि लामाले पूजापाठ गर्ने र देव नृत्य देखाउने गर्दछन्। फुटुक पर्व करिव दुई सातासम्म चल्ने गरे पनि पर्वको अन्तिम चार दिनलाई मुख्य मान्ने गरिन्छ। फुटुक पर्वमा नयाँ कपडा फेर्ने, मिठो–मसिनो परिकार बनाएर खाने प्रचलन छ। यसरी वालुङ समुदायले परापूर्व कालदेखि नै भव्यताका साथ फुटुक पर्व मनाउँदै आएका छन्, यो उनीहरूको प्रमुख र महत्वपूर्ण सांस्कृतिक पर्व हो।
अन्तिम दिन, पर्वको समापनका क्रममा मुख्य लामाले देवता–नृत्य प्रदर्शन गर्ने गर्दछन्। देवता र राक्षसको मखुण्डो लगाएर देवता र राक्षसबीचको युद्धको अभिनय गर्दै अधर्म गर्नेको पराजय र सत्यको विजय कसरी हुन्छ भन्ने भावको कथालाई नृत्यद्वारा देखाउने गरिन्छ। लामाको नृत्य र प्रस्तुति हेर्न र भगवानको आशीर्वाद थाप्न लिनका लागि स्थानीय र बाहिरबाट समेत धेरै पाहुनाहरू आएर गुम्बा नजिकै पाल र टेन्ट टाँगेर बस्ने गर्दछन्। यो समुदायले आफ्नो परम्पराअनुसार आगोको राप (ज्वाला) ले गुम्बाको धुरी कटाउँदै विधिवत् रूपमा फुटुक पर्व समापन गरिन्छ। घ्यू र तेलद्वारा तयार पारिएको आगोको राप वा ज्वाला गुम्बाको धुरी कटाएपछि शुभ हुने उनीहरूको विश्वास छ।
सुनिल मणि दाहाल
श्रोत: INS NEWS-स्वतन्त्र समाचार
ग्लोबल न्युन ब्रेकसँगको सहकार्यमा
सुनिलमणि दाहाल का अन्य पोस्टहरु:
- दसैँ स्वाद: खल्पीको अचार
- हुँदैछ अमेरिकामा सरकार बन्द: के असर पर्छ?
- नवीन काफ्ले: हिमालयदेखि अमेरिकाको ‘बिग एप्पल’ सम्म
- यस्तो थियो रानी एलिजाबेथको ‘ह्यान्डब्याग’ को रहस्य
- बेलायतका नयाँ राजाले छोरा ह्यारीका सन्तानलाई किन दिएनन् राजकीय उपाधि ?
- दक्षिण भारतमा फैलदो ‘टमाटो फ्लू’
- टिकटकमा भाइरल हुने रहरले बढाएको हो त अश्लितता?
- ‘स्लगिङ’ लागु गरौं, इन्धन बचाऔं
- विदेशमा लुटिएको नेपालको यौवन
- व्यावहारिक, दवावरहित र निःशुल्क अमेरिकी शिक्षा