असारे विकास: सडक विस्तार सुरु भएको ८ वर्षपछि कालोपत्रेको तयारी

यतिबेला जतासुकै असारे विकासको बिगबिगी छ। बजेट सक्न डाँडाकाँडा भत्काउनेदेखि सडक कालोपत्रे गर्नेसम्मका काम यही मेसोमा हुन्छन्। आगामी साउनदेखि नयाँ आर्थिक वर्ष लाग्ने भएकाले चालू आवको विनियोजित बजेट जतिसक्दो खर्च गर्न मेसोका रूपमा असारे विकासलाई लिइन्छ। त्यसकैको उदाहरण हो जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक।

जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार सुरु भएको आठ वर्षपछि कालोपत्रको तयारी भएको छ। बर्खा लागेसँगै कालोपत्र गर्न सुरु गरेपछि सडक गुणस्तरीय हुनेमा स्थानीय विश्वस्त छैनन्। लामो समयसम्म पनि सडक कालोपत्र नहुँदा खाल्डाखुल्डीका कारण दैनिक सवारी सञ्चालनमा समस्या हुने गरेको छ। मनसुन सुरु भएसँगै दैनिक पानी पर्ने याममा गोकर्णेश्वर नगरपालिका–१ नयाँपाटी पुल क्षेत्रमा कालोपत्रका लागि अलकत्रा हालिएको छ। शनिबार बेलुका निर्माण व्यवसायीले अलकत्रा हालेपछि ठूलो पानी पर्‍यो र अलकत्रा बगायो। सडक दायाँबायाँ अझै धेरै ठाउँमा काम बाँकी छ। काम बाँकी भएका स्थानका सडकमा खाल्डाखुल्डी धेरै छन्। वर्षाको समयमा खाल्डाखुल्डीमा जमेको फोहर पानीका कारण आवागमनमा सास्तीसमेत हुने गरेको गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता नारायणबहादुर सुवेदीले बताउनुभयो।

संघीय सरकारले आयोजनाको ठेक्का सम्झौता गरेकाले निर्माण व्यवसायीले स्थानीय सरकारलाई नटेर्दा सडक जीर्ण बन्दै गएको उहाँको भनाइ छ। आर्थिक वर्ष २०७५–२०७६ मा सक्ने गरी विसं २०७२ मा ठेक्का भएको सात किमी सडक आठ वर्षदेखि अलपत्र छ। सुरुमा सडकको दायाँबायाँ घर भएका स्थानीयले मुआब्जा नदिई काम अघि बढाउन नदिने भनी विरोध गरेपछि सडक विस्तारको काम रोकिएको थियो। दायाँबायाँ ११–११ मिटर गरी २२ मिटरको सडक बनाउने ठेक्का काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले गरेको थियो। सात किलोमिटरको दूरीमा पर्ने करिब नौ सय घरधनीले ठेक्काअनुसार सडक विस्तार गर्ने भए मुआब्जा दिनुपर्ने माग गरेपछि काम अगाडि बढ्न सकेको थिएन।

गोकर्णेश्वर नगरपालिकाको नेतृत्वमा घर भएको स्थानमा दायाँबायाँ सातरसात मिटर र सार्वजनिक जग्गा भएका स्थानमा दुवैतर्फ ११  मिटर सडक विस्तार गर्ने सहमति भएको थियो। उक्त सहमति भएको पनि चार वर्ष बितेको छ। लामो समयदेखि सडक अलपत्र बन्दा वर्षौँदेखि यात्रु पीडित भएका छन्। अधिकांश स्थानमा सडक विस्तारको काम सकिए पनि केही ठाउँमा रोकिएकाले वर्षाको समयमा पानी पर्दा आवागमनमा सास्ती हुने गरेको स्थानीयको गुनासो छ।

अत्तरखेलमा सडक छेउमै किराना पसल चलाउँदै आउनुभएका समुद्र श्रेष्ठले वर्षाद्मा हिलो र हिउँदमा धुलो खाएर स्वास्थ्यमा समस्या आउन थालेको बताउनुभयो। पानी पर्न थालेपछि हिलो र हिलो सुकेपछि धुलोले समस्या हुने गरेको उहाँले बताउनुभयो। निर्धारित समयमा सडक स्तरोन्नतिको काम नसकिएपछि आर्थिक वर्ष २०७६–७७ मा सक्ने गरी म्याद थपिएको थियो। पटक–पटक समय थप गर्दा पनि काम सकिएको छैन। नगरपालिकाका प्रवक्ता सुवेदीका अनुसार ५८ करोड रुपैयाँको लागतमा सडक विस्तारको काम थालिएको थियो। विभिन्न प्राविधिक समस्याका कारण काममा ढिलाइ हुने गरेको निर्माण कम्पनीको भनाइ छ।

कोरोना महामारीका समयमा भएको बन्दाबन्दीका समयमा निर्माणाधीन सडकमा पर्ने रुख हटाए पनि कतिपय स्थानमा विद्युत्को पोल, तारलगायत संरचना नहटेकाले सडक विस्तारको काम प्रभाविच भएको निर्माण कम्पनीले जनाएको छ। यस्तै वर्षाको समयमा हिलो र धुलोका समस्या समाधानका लागि ग्राभेल हालेर डोजर र रोलरले सम्याउँदै काम गर्न ठेकेदार कम्पनीलाई दबाब दिँदै आएको नगरपालिकाले जनाएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
असारे विकास: सडक विस्तार सुरु भएको ८ वर्षपछि कालोपत्रेको तयारी
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link