बैतडीको पञ्चेश्वर गाउँपालिकाका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भयो। स्थानीयका अनुसार महिनावारी भएको ४ दिन भएको थियो। किशोरीकी आमा मकै जोगाउन खेतमा बनाइएको अस्थायी टहरामा हुनुहुन्थ्यो।
मंगलबार मध्यराति गाईभैँसीसँगैको गोठमा सुतिरहेकी अनिताको हातमा सर्पले टोकेपछि छट्पटिँदै आफन्तलाई जानकारी गराएको र बिहान वैद्य खोज्न जाँदाजाँदै उहाँको घरमै मृत्यु भएको आफन्त एवं वडा नं ४ मा कार्यरत इएमआइएस अपरेटर प्रेमबहादुर चन्दले बताउनुभयो। ‘महिनावारी भएको बेला देवताको डरले यहाँका किशोरी तथा महिलाहरु गोठमा सुत्छन्,’ चन्दले भन्नुभयो, ‘कोही घरको कुनै एक छेउमा छुट्टै सुत्ने गरेका छन्।’
महिनावारी हुँदा गरिने यस्तै विभेद र पुरातन सोचका कारण अनिताको मृत्यु भएको हो। अनिता नजिकैको जवलपुर मावि कक्षा ९ मा अध्ययनरत हुनुहुन्थ्यो।
बैतडीमा महिनावारी हुँदा गरिने विभेद कायमै छ। बैतडीसहित सुदूरपश्चिममा महिनावारी भएको समयमा गोठमा बस्ने, घरको अलग्गै ठाउँमा बस्ने, दही, दूध तथा गोरसजन्य खानेकुरा नखाने र घरका अन्य सदस्य तथा भाँडाकुँडालाई समेत छुनुहुँदैन भन्ने गलत मान्यता अझै पनि उत्तिकै छ। देवीदेवता रिसाउने र घर परिवारमा अनिष्ट हुनेलगायतका पुरातन सोचले महिनावारी मर्यादित बन्न सकेको छैन।
गाउँघरमा यस्तै चलन रहेकाले आफूहरू पनि अलग्गै बस्ने र ५ दिनसम्म महिनावारी कडाइका साथ बार्ने गरेको पञ्चेश्वर गाउँपालिका–१ पालडीकी कसेडी सार्कीले बताउनुभयो। ‘५ दिन अलग्गै बस्छौँ, घरभित्र ठाउँ भयो भने छुट्टै बस्छौँ, नत्र कहिलेकाहीँ गोठमा पनि सुत्ने गरेका छौँ,’ उहाँले भन्नुभयो। पहिलेदेखि चलिआएकाले यो चलन सहजै छोड्न नसकिने समेत उहाँको भनाइ छ।
महिनावारी हुँदा बार्नु नपर्ने र विभेदसमेत गर्न हुन्न भन्ने कुरा विभिन्न कार्यक्रममा सुने पनि व्यवहारमा परिर्वन ल्याउन नसकिने सार्कीले बताउनुभयो।
महिनावारी हुँदा किशोरीलाई प्याडको व्यवस्था गरिएको र त्यसमा कुनै विभेद नगरिएको जवलपुर माविका सहायक प्रधानाध्यापक पदम चन्दले बताउनुभयो। ‘सर्पको टोकाइबाट मृत्यु भएकी किशोरी अनिता विद्यालय आइरहेकै थिइन्, प्याडसमेत प्रयोग गर्न भन्दै लगेकी थिइन्,’ सहायक प्रधानाध्यापक चन्दले भन्नुभयो, ‘विद्यालयमा कुनै पनि विभेद हुँदैन।’
महिनावारी हुँदा घरमा छुट्टै बस्ने र कोही गोठमा सुत्ने गरेको अवस्था कायमै रहको स्थानीय बताउँछन्। ‘घरभित्र ठाउँ हुनेहरू घरभित्रै सुत्छन्, नभए परिस्थितिअनुसार गोठमा पनि सुत्छन्,’ पञ्चेश्वरका अर्का स्थानीय नारायणराम सार्कीले भन्नुभयो।
स्थानीय स्तरमा मर्यादित महिनवारीको विषयमा बुझ्न र बुझाउन नसकिएको देखिएको छ। पञ्चेश्वर गाउँपालिकाले महिनावारी विभेद अन्त्यका लागि गाउँपालिकाले ‘मर्यादित महिनावारी व्यवस्थापन निर्देशिका, २०७६’ जारी गरेर कार्यान्वयन गरेको दाबी गरेको छ। गाउँपालिकाको तर्फबाट सचेतनामूलक कार्यक्रम गर्दै आएको भए पनि महिनावारी हुँदा अलग्गै बस्ने चलन हट्न नसकेको गाउँपालिकाले जनाएको छ। ‘अधिकारको क्षेत्रमा सबैसँग हातेमालो गरिरहेका छौँ। सबैले सचेत हुन जरुरी छ। हामीले हाम्रो तर्फबाट सक्दो प्रयास गरिरहेका छौँ,’ गाउँपालिका उपाध्यक्ष बिना भट्टले भन्नुभयो, ‘गत वर्ष पनि सुदूरपश्चिम प्रदेशका लागि मर्यादित महिनावारी सद्भावनादूतमा नियुक्त हुनु भएकी गायिका रेखा जोशीलगायतको समूहलाई आमन्त्रित गर्दै सचेतनामूलक कार्यक्रम गरेका थियौँ। अझै पनि कार्यक्रम गरिरहेकै छौँ।’
के हो मर्यादित महिनावारी ?
मर्यादित महिनवारी भनेको महिनावारी भएको ५ दिनमा पनि महिनावारी नहुने महिनाका बाँकी २५ दिन सरह नै गरिने व्यवहारलाई मर्यादित महिनावारी भनिन्छ। महिनावारी हुँदा गरिने मानसिक शारीरिक वा व्यवहारगत रुपमा कुनै पनि विभेद गर्न हुँदैन। यसैलाई मर्यादित महिनावारी भनिन्छ।
महिनावारी हुने किशोरी तथा महिलाको शरीरमा प्रजनन स्वास्थ्यसँग सम्बन्धित नियमित, आधारभूत एवं प्राकृतिक प्रक्रिया हो।
महिनावारीबारे समाजमा देखिएको रुढीवादी कुसंस्कार, कुरीति र अन्धविश्वाससम्बन्धी यो अभ्यासलाई निरुत्साहित गर्दै किशोरी र महिलाको स्वास्थ्य, शिक्षा र सुरक्षाको प्रत्याभूत गराउनु मर्यादित महिनावारी क्षेत्रभित्र पर्छ।
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १० मा भेदभाव र अपमानजनक व्यवहारसम्बन्धी कसुर शीर्षकको दफा १६८ उपदफा (३) मा महिलाको रजस्वला र सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमको भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्नु वा गराउनु हुँदैन भनिएको छ। यस्तो कार्य गरेको ठहरिएमा ३ महिनासम्म कैद वा ३ हजारसम्म जरिवाना हुन सक्ने व्यवस्था उक्त ऐनमा गरिएको छ।
नेतृत्वमा पुगेका महिला नै कुरीतिको दलदलमा
बैतडीको सन्दर्भमा मर्यादित महिनावारीको सवालमा प्रभावकारी कार्यक्रम नभएको पाइएको छ। यसबाट आम महिला मात्रै होइन नेतृत्वमा पुगेका महिलासमेत यही कुरीतिको दलदलमा छन्।
जिल्लाको सिगास गाउँपालिकाका उपाध्यक्षसहित महिला जनप्रतिनिधि महिनावारी भएको बेला गाउँपालिकाको केन्द्रमा जाँदैनन्। गाउँपालिका उपाध्यक्ष धाना धामीले भन्नुभयो, ‘गाउँपालिकाको केन्द्रनजिकै कुल देवताको मन्दिर छ। छाउ भएको बेला जानुहुँदैन, हामी जान्नौँ पनि,’ उहाँले भन्नुभयो, ‘यदि महिनावारी भएका बेला समाजको प्रवाह नगरी मन्दिरनजिक रहेको गाउँपालिकाको केन्द्रमा गयौँ भने समाजले पनि हामीलाई मान्दैन।’
बुझ्न र बुझाउन नसकिएको मर्यादित महिनावारी
माथिल्लो घटना र भनाइलाई मनन गर्ने हो भने मर्यादित महिनावारीका सवालमा प्रवेश नै नभएको पाइएको छ। पञ्चेश्वर गाउँपालिकाले जारी गरेको ‘मर्यादित महिनावारी व्यवस्थापन निर्देशिका, २०७६’ कार्यान्वयनको चरणमा रहेको दाबी गरिए पनि व्यवहारमा लागू भने भएको छैन। जनप्रतिनिधिलगायत नेतृत्वमा पुगेकाले समेत महिनावारीलाई सहज रुपमा बुझ्न नसकिरहेको अवस्थामा मर्यादित महिनावारी र महिनावारी बार्ने चलन सहजै हट्ला भन्नेमा शंका गर्ने ठाउँ भेटिन्छ।
विद्यालय क्षेत्र र सार्वजनिक क्षेत्रमा कहीँकतै महिनावारीलाईसामान्य रूपमा लिए भए पनि ग्रामीण क्षेत्रका अधिकांश घरमा महिनावारी बार्दै आएको अधिकारकर्मीले बताउँछन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
कृष्ण विष्ट/ बैतडी का अन्य पोस्टहरु:
- नयाँ सहरको पुरानै काम : बनेका संरचना कुरूप, मुख्य काममा प्रवेश नै पाएन
- बैतडीमा अवैधानिक मेडिकलको बिगबिगी, स्वास्थ्यमाथि चरम लापरबाही
- बैतडीमा प्रसूतिलाई प्रदूषित पानी, स्वास्थ्यचौकीकै पानीट्यांकीमा भ्यागुता र चेपागाँडा !
- कौसाडीको दलित परिवार : खानेपानी नपाउँदा तीन दिन भोकै
- परोपकारी उपमेयर कौशिला : आफ्नो पारिश्रमिक विद्यार्थीलाई पढ्न सहयोग गर्दै
- पालिकाले बलजफ्ती सडक खन्यो, महिनापछि पहिरोले आमाछोराको ज्यान गयो
- योजना नै नपरी सेवाग्राहीलाई गाउँपालिकको फोन, एकप्रति फोटोकपीको सय रुपैयाँ !
- ग्रामीण बजार मदिरा पसलले भरिए, सिसाले भरियो वातावरण
- बैतडीमा बालमैत्री संरचना, हाँस्दै खेल्दै पढ्न पाएपछि दंग बालबालिका