गण्डकी प्रदेशका नौ अस्पताल स्तरोन्नति हुँदै

गण्डकी प्रदेश सरकारले प्रदेशका नौ वटा अस्पताल स्तरोन्नति गर्ने निर्णय गरेको छ । सोमवारको प्रदेश मन्त्रिपरिषद् बैठकले ती अस्पतालको दरबन्दी र शय्या सङ्ख्या निर्धारण गरी स्वीकृत गरेको हो ।

स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकका अनुसार प्रदेश सरकारले यसअघि दुई आयुर्वेद अस्पतालसहित चार अस्पताल स्तरोन्नति गरेको छ । स्तरोन्नति गरिएका १३ वटै अस्पतालको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) पनि स्वीकृत भइसकेको छ । तेह्र वटै अस्पतालमा करारमा कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीको तलब भत्ता अस्पतालको आन्तरिक स्रोतबाटै भइरहेको दरबन्दी थप गर्दा मन्त्रालयलाई अतिरिक्त आर्थिक भार पर्ने छैन ।

बागलुङस्थित धवलागिरि प्रादेशिक अस्पतालमा स्वीकृत शय्याको सङ्ख्या एक सय पुगेको छ । यसअघि उक्त अस्पतालमा स्वीकृत शय्याको सङ्ख्या ५० थियो । कास्कीस्थित मातृ शिशु मितेरी र जनरल तथा सरुवा रोग अस्पतालको शय्या सङ्ख्या २५ बाट ५० पुर्‍याइएको छ ।

नवलपुरको मध्यविन्दु प्रादेशिक अस्पताललाई १५ बाट एक सय, प्रदेश अस्पताल मुस्ताङ र मनाङलाई १५ बाट २५, पर्वत, स्याङ्जा र तनहुँको दमौली अस्पताललाई १५ बाट ५० शय्यामा स्तरोन्नति गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रदेश अस्पताल बुर्तिबाङमा ५० र प्रदेश अस्पताल आँपपिल गोरखामा १५ बाट २५ शय्या पुर्‍याइएको छ । बागलुङस्थित धवलागिरि आयुर्वेद अस्पताल, कास्कीस्थित गण्डकी आयुर्वेद अस्पतालमा २५ शय्याको व्यवस्था हुनेछ ।

प्रदेश अस्पताल गोरखा, लमजुङ र म्याग्दी यसअघि नै ५० शय्यामा सञ्चालित छन् । प्रदेश सरकारले गोरखाको आँपपिपल र बागलुङको बुर्तिबाङ अस्पताल सञ्चालन गरिरहेको छ । यसै वर्ष कास्कीस्थित गण्डकी आयुर्वेद अस्पताल र बागलुङको धवलागिरि आयुर्वेद अस्पताललाई पनि अन्तरंग सेवासहित २५ शय्याको सुविधायुक्त आयुर्वेद अस्पतालका रूपमा स्तर वृद्धि गरिएको हो ।

हाल ती अस्पतालको वार्षिक आम्दानी रु. ६६ करोड रहेको मन्त्री पाठकले बताए । नयाँ व्यवस्था अनुसार हरेक अस्पतालले आफ्नो आम्दानीको १५ प्रतिशत रकम अस्पताल सुदृढीकरण कोषमा छुट्याउनुपर्ने छ । कोषको रकम प्रदेश अस्पताल र स्थानीय स्वास्थ्य संस्थाको सुदृढीकरणमा खर्च गर्न नयाँ व्यवस्था भएको हो ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link