परराष्ट्रमन्त्री एनपी साउदले स्थानीय स्रोत र साधनको परिचालनबाट चल्ने लघु घरेलु तथा साना उद्योगहरुले मात्रै समृद्धि र खुसी ल्याउने भन्दै यस्ता उद्योगहरुको प्रर्वद्धनमा जोड दिनुभएको छ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रीय महिला उद्यमी समिति, ग्लोबल इन्डिया मिसन र इन्डियन युथ च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीले संयुक्त रुपमा आयोजना गरेको ‘नेपाल भारत अन्तर्राष्ट्रिय महिला उद्यमी सम्मेलन २०८०’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘परिवारमा सुख समृृद्धि र खुसी ल्याउने काम घरेलु र साना उद्योगले मात्र गर्न सक्छ। तपाईंहरुको यो इमानदार प्रयत्नले देशलाई आर्थिक समृद्धितर्फ डोर्याउने छ। स्थानीय स्रोत र साधनको परिचालन पनि यिनै उद्योग रहेका छन्।’
उद्यमशीलताको संस्कृतिलाई महिला तथा युवा समुदायबीच संस्थागत गरी मुलुकलाई आर्थिक समृद्ध बनाउन घरेलु तथा साना उद्योगको थप विस्तार र स्तरोन्नति गर्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो। ‘नेपाल–भारतबीच अत्यन्त निकट सम्बन्ध छ। हामी एउटै नदीको पानी पिएर हुर्किन्छौँ। हाम्रो सभ्यता र संस्कृति एउटै छ। दुवै देशबीचको व्यावसायिक सम्बन्धलाई सुदृढ गर्न मेरोतर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दछु,’ उहाँले भन्नुभयो।
नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रीय समितिका अध्यक्ष उमेशप्रसाद सिंहले स्थानीय स्रोत र साधनको परिचालन गर्ने सवालमा होस् या मुलुकभित्र रोजगारी सिर्जना गर्ने सवालमा होस् घरेलु र साना उद्योगको योगदान उच्च रहेको तथ्यांकले पुष्टि गरेको बताउनुभयो। छरिएर रहेको पूँजीको परिचालन र उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गर्ने कार्यमा समेत यसै क्षेत्रको महत्वपूर्ण योगदान रहेको भन्दै उहाँले महासंघ अन्तर्राष्ट्रिय उद्यम फोरममा समेत जोडिएको बताउनुभयो।
नेपालमा उद्योग स्थापना गर्न चाहने भारतीय उद्यमीहरूलाई स्वागत गर्ने भन्दै अध्यक्ष सिंहले भन्नुभयो ‘हामी नेपाल भारतको सांस्कृतिक सम्बन्धलाई उद्यमशीलताको क्षेत्रमा जोड्न चाहन्छौं। आगामी दिनमा नेपाली उत्कृष्ट महिला उद्यमीलाई भारतको औद्योगिक गतिविधिको अध्ययन भ्रमण गराउन चाहन्छौँ।’
अन्तर्राष्ट्रिय कोदो वर्ष २०२३ सँग सम्बन्धित कार्यक्रम भारतीय राजदूतावाससँगको सहकार्यमा गर्ने विषयमा पनि आफू क्रियाशिल रहेको उहाँको भनाइ थियो।
कार्यक्रमका संयोजक एवं घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समितिका महासचिव डा. सोनी महतोले महिला उद्यमशिलताको क्षेत्रमा लगानी वृद्धि उद्योग स्थापनामा सहजीकरण, सहज सीपमूलक तालिम, सरल व्यावसायिक कर्जा तथा उपयुक्त प्रविधिमा सर सहयोग विस्तार गर्दै महिलाहरूले सञ्चालन गरेका उत्पादनमूलक व्यवसायहरूलाई विशेष कर छुटको व्यवस्था गर्न सकिएको खण्डमा, महिलाहरू घरेलु तथा साना उद्योग व्यवसायमा आकर्षित हुने सम्भावनातर्फ राज्यले ध्यान पुर्याउन जरुरी भएको बताउनुभयो।
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले देश विकासको महत्वपूर्ण पाटो आर्थिक विकास भएको भन्दै रोजगारी सिर्जना गर्ने व्यवसाय सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो। ‘बिहान उठेदेखि सुत्ने बेलासम्म हामीले विदेशमा उत्पादन भएका वस्तु उपयोग गर्ने परिपाटीमा सुधार आउनुपर्दछ,’ उहाँले भन्नुभयो, ‘महिलाहरूको व्यवसायमा ४० प्रतिशत कर छुटको व्यवस्था मिलाएका छौं। विभिन्न तालिम पनि सञ्चालन गरेका छौं र तालिमपश्चात्र व्यवसाय स्थापना र बजारीकरणमा जोडने गरी कार्यक्रम डिजाइन गरेका छौं। ३२ वडामा ३२ प्रकारको वस्तु उत्पादन हव बनाउने निर्णय समेत गरेका छौं।’
निर्णय प्रक्रियामा महिला सहभागिता हुन सके पनि अर्थपूर्ण सहभागिता आवश्यक हुने भएकोले सबै सक्रियतापूर्वक लाग्न उहाँको आग्रह थियो।
सांसद प्रतिमा गौतमले सांस्कृतिक, धार्मिक र सामाजिक रुपमा नेपाल भारत सम्बन्ध प्रगाढ रहेको बताउनुभयो। समृद्धिको प्रमुख औजार उद्योग भएको भन्दै उहाँले महिलाले घर परिवार पनि सम्हाल्नुपर्ने र घरायशी श्रमको मूल्यमा गणना नहुने अहिलेको समस्या भएको बताउनुभयो।
कार्यक्रममा महिला उद्यमशिलताको क्षेत्रमा लामो समयदेखि क्रियाशील नेपाल र भारतका अग्रणी महिला उद्यमीहरुलाई सम्मान गरिएको थियो।
कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ, केन्द्रीय महिला समिति अध्यक्ष रोशनी उपाध्याय, नागार्जुन नगरपालिका उपप्रमुख सुशीला अधिकारी, महासंघका वरिष्ठ उपाध्यक्ष सूर्य कँडेललगायतले आफ्ना मन्तव्य राख्नुभएको थियो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- सामाजिक सञ्जालको सदुपयोग गर्दा …
- ब्लू ओरिजिनको पहिलो कक्षीय रकेट प्रक्षेपण स्थगित
- ‘बेलायतसँग भएको सन्धीले नेपाललाई सार्वभौम राष्ट्रका रूपमा चिनायो’
- देवघाटमा आजदेखि माघे सङ्क्रान्ति मेला
- अमेरिकी डलरको भाउ बढ्यो
- आज माघ सङ्क्रान्ति पर्व मनाइँदै
- महाकुम्भमा एक करोड भक्तजनको ऐतिहासिक स्नान
- शेन्झाउ–१९ दलद्वारा अन्तरिक्ष स्टेशनमा नयाँ प्रयोगको सुरूवात
- मुस्ताङ
- सूर्योदय