सडक व्यापारीको पक्षमा १९९ घण्टादेखि (नौ दिन) उभिएर आन्दोलनरत अभियन्ता ईः र काठमाडौँ महानगरपालिका बिच बुधवार राती सहमति भएको छ। महानगरपालिका र यी बिच भएको वार्ता पछि चार बुँदे सहमति भएको जनाइएको छ। सहमतिपछि ईःपक्षले बेलुका ९ बजे पत्रकार सम्मेलनमार्फत सहमति भएको भन्दै आन्दोलनका कार्यक्रमहरू स्थगित भएको घोषणा गरेको छ। उक्त सहमतिमा फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत भएका सामग्रीहरू महानगरले सम्बन्धित धनीलाई फिर्ता दिने उल्लेख छ।
त्यस्तै, महानगरले अनौपचारिक क्षेत्रमार्फत हुने व्यापारलाई व्यवस्थित गर्न अध्ययन समिति बनाउने सहमति भएको छ। समितिमा महानगर, अभियन्ताका प्रतिनिधि तथा सरकार प्रतिनिधि रहने उल्लेख छ। सडक व्यापारी प्रतिनिधिको रोहबरमा भएको सहमति पत्रमा काठमाडौँ महानगरपालिकाका तर्फबाट कार्यपालिका सदस्य चिनीकाजी महर्जन तथा मेयर बालेन शाहको सचिवालयका सदस्य धिरज जोशीले हस्ताक्षर गर्नुभएको छ। त्यस्तै अभियानकर्ता ई:का तर्फबाट ईःले आफैले नै हस्ताक्षर गर्नुभएको छ।
सहमतिका बुँदाहरू यस प्रकार छन्-
१. फुटपाथ/सार्वजनिक स्थलमा व्यापार गर्ने विषयलाई सम्बोधन गर्न १९९ घण्टादेखि राष्ट्रिय सभागृहको मूल गेटमा निरन्तर उभिएर प्रदर्शन गरिरहनुभएका अभियानकर्ता ई: र सहभागी साथीहरूको स्वास्थ्य लाभको कामना गर्दै सो प्रदर्शन आजैबाट स्थगित गर्ने।
२. फुटपाथ/सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत गरिएका सामानहरू महानगरपालिकाको स्टोरमा भएसम्म यकिन गरी सम्बन्धित सामानका धनीलाई महानगरले फिर्ता गर्ने।
३. अनौपचारिक क्षेत्रमार्फत हुने व्यापार व्यवसायलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्न र स्थान उपलब्ध गराउने विधि, प्रक्रिया तथा कानुनी व्यवस्था समेतको प्रबन्ध गर्नुपर्ने विषयमा ठोस सुझावसहित अध्ययन गरी २ महिनाभित्र महानगरपालिकामा प्रतिवेदन पेस गर्न देहाय बमोजिमको समिति गठन गर्ने:
क. महानगरपालिकाले तोकेका ३ जना
ख. अभियानकर्ता ई: को तर्फबाट तोकिएका प्रतिनिधि २ जना
ग. भौतिक तथा यातायात मन्त्रालयको प्रतिनिधि १ जना
घ. सहरी विकास मन्त्रालयको प्रतिनिधि १ जना
ङ. ट्राफिक प्रहरीको प्रतिनिधि १ जना
४.साबिकमा फुटपाथ/सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरूका लागि महानगरपालिकाभित्र कानुनले निषेध गरेका स्थानबाहेक अन्यत्रका उपयुक्त स्थलहरू पहिचान गर्न महानगरपालिकाले आजको मितिले एक हप्ताभित्र पहल गर्नेछ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- जापानको आर्थिक वृद्धिदर सुस्त
- हिउँद नलाग्दै सुक्न थाले खोला
- गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन : अदालत
- पाकिस्तानमा विषाक्त धुवाँका कारण एकै दिनमा १५ हजारभन्दा बढी सङ्क्रमित
- राष्ट्रपति पौडेल र अजरबैजानका राष्ट्रपतिबीच भेटवार्ता
- कोप–२९ मा नेपालको जलवायुजन्य हानिनोक्सानीबारे चर्चा
- महिलाका लागि आम्दानीको आधार बन्दै घोँगी व्यापार
- पर्यटकीय गन्तव्य बन्दै सरुवाडाँडाको झोलुङ्गे पुल
- कोप२९ मा नेताहरूको मतभेदबीच उत्सर्जनलाई लिएर कडा चेतावनी
- वार्ताका लागि राष्ट्रसङ्घका आणविक प्रमुख इरान प्रस्थान