अमेरिकी विज्ञापन डिजाइनर हार्भे रोस बलले सन् १९६३ मा स्माइली फेस बनाए, ४५ डलर पारिश्रमिक लिए र चुपचाप बसे। तर सन् १९७१ मा, फ्रान्सेली पत्रकार फ्रैंकलिन लुफ्रानीले एउटा कम्पनी गरे, ‘दि स्माइली कम्पनी’ नाम दिए। उनका छोरा निकोलसले स्माइली फेसलाई डिजिटल दुनियाँमा लगे। यो साता स्माइली फेस पचासौ जन्मदिन मनाइरहेको छ।
आजको इन्टरनेट र सोशल मिडियाको युगमा स्माइली फेस (इमोजी) मानिसका हरेक किसिमका भावनालाई छिटो–छरितोसँग व्यक्त गर्ने एउटा भरपर्दो र सरल माध्यम बनेको छ । आज इन्टरनेट र मोवाइलदेखि फेसन, मनोरञ्जन र अन्य थुप्रै क्षेत्रमा व्यापक प्रयोग गरिने इमोजीको शुरूवात भने लगभग ६० वर्ष अगाडि भएको हो। पहिलोपटक इमोजी बनाउनुको पछाडि पनि एउटा रोचक कथा लुकेको छ।
अमेरिकाको म्यासाचुसेट्स राज्यको वर्केस्टरमा एउटा एडभरटाइजिंग र पब्लिक रिलेसन एजेन्सी सञ्चालन गरेर बसेका हार्भे रोस बलको अफिसमा स्टेट म्युचुअल लाइफ इन्स्योरेन्स कम्पनी अफ अमेरिकाका केही कर्मचारी एउटा अनौठो समस्या लिएर आइपुगे । आफ्नो बीमा कम्पनीलाई अर्को ठूलो कम्पनीमा विलय गराएपछि त्यहाँका पुराना कर्मचारीहरू निकै दुःखी भएको र व्यवस्थापनसँग पनि रिसाइरहेका कारण उनीहरूको रिस शान्त पार्ने उपायको खोजीमा उनीहरू हार्भेकहाँ आएका थिए । हार्भेले पनि केही बेर सोचेर बीमा कम्पनीको त्यो समाधान गर्ने एउटा नौलो उपाय सोचे ।
हार्भेले १० मिनेटभित्र एउटा चम्किलो उज्यालो कागजमा एउटा गोलो आकृति बनाए र त्यसभित्र हाँसिरहेको मान्छेको मुहार बनाएर बीमा कम्पनीका कर्मचारीहरूको हातमा थमाइदिए । यसरी संसारमा पहिलोपटक स्माइली फेस तयार भएको थियो । १९६३ मा हार्भेले यति काम गरेवापत ४५ डलर पारिश्रमिक पाएका थिए ।
हार्भेले बनाएको त्यो पहेँलो रङ्गको स्माइली फेसलाई पोष्टर र बटनमा राखेर बीमा कम्पनीले आफ्ना सबै कर्मचारीहरूलाई बाँड्यो । त्यो स्माइली फेस देखेर त्यो कम्पनीका रुष्ट कर्मचारीहरू पनि धेरै खुसी भए । बिस्तारै ग्रिटिङ कार्ड, स्टीकर, किरिङ, टि–सर्ट गर्दै जताततै यसको प्रयोग बढ्दै गयो र केही वर्षभित्रै अमेरिकामा मात्र होइन संसारभर यसको लोकप्रियता बढ्यो । सन् १९७०–७१ तिर अमेरिकामा एउटा बनार्ड एण्ड मुरे स्पेन भन्ने कम्पनीले स्माइली फेसको हलमार्क राखेर पाँच करोडभन्दा बढीको फेस बटन बिक्री गरेका थिए । अमेरिकामा यसको लोकप्रियता यतिसम्म बढ्यो कि सन् १९९९ मा अमेरिकाको सरकारी यूएस पोस्टल सर्भिस डिपार्टमेन्टले स्माइली फेस अंकित हुलाक टिकट समेत जारी गरेको थियो ।
आफूले आविस्कार गरेको स्माइली फेसले त्यस्तो लोकप्रियता हासिल गरे पनि हार्भेले कानूनी रूपमा त्यसको ट्रेडमार्क वा पेटेन्ट राइट (सर्वाधिकार) दर्ता गराएनन् । त्यसैले यसको सर्वाधिकारका बारेमा समय–समयमा विवादहरू पनि भइरहे । सन् १९७१ मा, फ्रान्सेली पत्रकार फ्रैंकलिन लुफ्रानीले एउटा कम्पनी गरे जसलाई ‘दि स्माइली कम्पनी’ नाम दिइयो । अहिले स्माइली फेसको प्रतिलिपि अधिकार यही कम्पनीसँग छ । सन् १९९६ मा पत्रकार फ्रैंकलिन लुफ्रानीका छोरा निकोलस लुफ्रानीले स्माइली फेसलाई डिजिटल दुनियाँमा लगे। अहिले प्रचलित अधिकांश स्माइली फेसका जनकचाहिँ निकोलस हुन।
अमेरिकाको सुपरमार्केट जायन्ट वालमार्टले सन् २००६ मा स्माइलीको कपीराइट माथि दावी गर्दै कानूनी लडाइँ लडेको थियो तर त्यसको फैसला द स्माइली कम्पनीकै पक्षमा भएको थियो । आज १०० भन्दा बढी देशहरूमा स्माइली फेस प्रतीकहरूको सर्वाअधिकार दि स्माइली कम्पनीसँग सुरक्षित छ ।
सन् १९८२ सेप्टेम्वर १९ का दिन अमेरिकाको कानर्गी मिलान युनिभर्सिटीका प्रोफेसर स्कट फलम्यानले कम्प्युटरमा पहिलोपटक इमोजीको प्रयोग गरेका थिए । त्यसपछि कम्प्युटरमा यसको प्रयोग बढ्दै गयो । केही पहिले गरिएको एक अध्ययनले १९ देखि २५ वर्षका ६८ प्रतिशत युवा हरेक दिन मोवाइल वा कम्प्युटरमा च्याट गर्ने क्रममा इमोजीको प्रयोग गरिरहेका हुन्छन् भने ५० वर्षभन्दा बढी उमेरका ४८ प्रतिशत मानिसले कुराकानीका क्रममा फोन वा कम्प्युटरमा स्माइलीको प्रयोग गर्छन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ‘टार’ शब्द परेपछि…
- युद्धका कारण लेबनानबाट चार लाख सिरियाली शरणार्थी स्वदेश फर्किए
- कोप–२९ जलवायु वित्त बढाउन सहमति, कार्बन उत्सर्जन कटौतीको भाका सारियो
- भारतबाट आउने तरकारीकै कारण नेपाली किसान पीडित
- चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि…
- बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?
- बगेर खेर गइरहेछ भोटको नुन
- गाउँकै अगुवा किसान, गाउँले एफएम दाइ
- नेतन्याहू, ग्यालेन्ट र देइफविरुद्धको आइसिसीको पक्राउ पुर्जी ‘बाध्यकारी’: इयू
- बुढाहाङ सेवामा वढाङमी नाचको रन्को