राजा पृथ्वीनारायण शाह हुँदै थालिएको एकीकरण अभियान र बेलायतसँग भएको ४ मार्च सन् १८१६ को सुगौली सन्धि हुँदै आधुनिक सन्दर्भमा नेपालले १४ डिसेम्बर सन् १९५५ मा राष्ट्रसङ्घको सदस्यता प्राप्त गरेको थियो। यसरी नेपाल दुनियाँका देशहरूको पङ्क्तिमा देखा परेको हो।
भौगोलिक र पर्यावरणीय क्षेत्रको दृष्टिबाट हेर्दा हिमाल, पहाड र तराईका तीन वटा मूल क्षेत्रहरू, हिम चुचुरा, उच्च पहाड, मध्य पहाड, उपत्यका, बेँसी, दुन र भित्री मधेस एवं खोँच, मधेसका जङ्गल र फाँटहरू तथा पहाडका भिर पाखाहरू, जङ्गल र खोला किनारहरूको विविधता बोकेको यो भूखण्ड हो।
तर प्रागैतिहासिक कालमा विश्वका विभिन्न क्षेत्रमा देखा परेका अस्ट्रेलोपिथेकस, होमोह्याविलिस, होमोइरेक्टस, नेन्डरथल, होमोसेपिन, डेनिसोभन, होमोनालेदी, लगायतका कुन कुन मानव प्रजातिहरूको नेपाल र यसको वरिपरिको विचरण थलो थियो भन्ने बारे यथेष्ट खोज बिन हुन भने सकेको छैन।
प्रागैतिहासिक अन्वेषण प्रति हाम्रो राज्यको चेत अझै खुलेको छैन। हामी आँखा मिचिरहेका छौँ, अझै ब्युँझी सकेका छैनौ। तर छिमेकीहरू उठिसके, यहाँ ज्ञानको खोजीमा केही विदेशीहरूका प्रयास नभएको भने होइन। एउटा उदाहरण हेर्दा नेपालको मध्य पहाडी क्षेत्रमा करिब ७ लाख ३० हजार वर्ष पुराना र दाङ देउखुरीमा भेटिएका ७ लाख देखि ५ लाख वर्ष पुराना पुरापाषाणयुगीन ढुङ्गाका हतियारहरू प्रागैतिहासिक होमोइरेक्टस कोटीमा पर्ने अचेउलियन मानिसहरू देखिन्छन् (प्रिहिस्टोरिक कल्चर इन नेपाल…, गुड्रुन कोर्विनुस, २००७)। नेपालको काठमाडौँ वरिपरि नाग जाति र पूर्वी पहाडी क्षेत्रहरूमा हाल बसोबास गर्ने किरात जातिहरूको संस्कृतिसँग मेल नखाने अर्को प्रागैतिहासिक संस्कृति बोकेको जाति थियो भन्ने आधार त्यहाँ फेला परेको चिहानबाट प्राप्त सामग्रीहरूले देखाएका छन्।
हालसम्मको अन्वेषणमा आधुनिक मानवका पुर्खाहरू अफ्रिकाबाट निस्किएर एसिया, युरोप, पोलिनेसिया, अस्ट्रेलिया, र अमेरिकी महादेशतर्फ लागेका हुन् भन्ने तथ्यमा आधारित सत्यको निषेध नभएको हुँदा नेपाल भूखण्डमा पनि प्रागैतिहासिक कालको विभिन्न खण्डमा विभिन्न प्रजातिका झुन्डहरू आएर बसोबास गरे होलान्। प्रजातीय दृष्टिबाट हेर्दा प्रागैतिहासिक मानवका कुन कुन प्रजातिहरूको रक्त मिश्रण भएर आधुनिक मानव होमिनोइडको बगाल देखा परो र उक्त होमिनोइड भित्र पनि लामो समयसम्मको कुनै पर्यावरणीय र भौगोलिक क्षेत्रमा बसोबास हुँदा कुन कुन आधुनिक मानवका प्रजातिहरू देखा पर्न गए यो अझै पनि अन्वेषणमय छ। तर नेपालको जनसङ्ख्यामा आधुनिक प्रजातिका ककेसियाली आर्य र खसहरू, मङ्गोल किराँतहरूका साथै हब्सेली लक्षण बोकेका कतिपय द्रविड जातिहरूसमेतको पर्याप्त जनसङ्ख्या रहेको छ।
भाषिक दृष्टिबाट हेर्दा नेपालमा ५ वटा मूल परिवार आग्नेय, कुसुन्डा, द्रविड, भारोपेली, र भोट बर्मेली परिवारका गरी जम्मा १२४ भाषाहरू रहेका छन्। उप भाषिक, जातिगत, स्थलगत, वा थरगत, पहिचानका क्षेत्र त्यसै गरी विविध छन्। यस्तो देखिन्छ कि बत्तीमा पुतली झुमिएर आए जस्तै पुरापाषाण काल देखिनै यस मनमोहक हिमालयको वरपर विभिन्न प्रजाति र जातजातिका मानिसहरूका झुन्डहरू आएर बसोबास गरे। कोही उत्तरबाट, कोही दक्षिणबाट, कोही पूर्वबाट, र कोही पश्चिमबाट यहाँ आएर बसोबास गरे। पौराणिक कालका केही प्रसङ्ग र ऐतिहासिक कालका कतिपय प्रमाणहरूले के देखाएको छ भने उत्तरमा यारलुङ्साम्पो या ब्रम्हपुत्र नदी र दक्षिणमा गङ्गा नदीको बिचमा पर्ने भूभाग अर्थात् ‘नेपाल मण्डल’ किराँत काल, मल्लकाल, कर्णालीका खसहरू र सेन कालमा झन्डै झन्डै वर्तमान नेपालको क्षेत्रफलको हाराहारीमा यसको आकार रहेको देखिन्छ।
महाभारतमा द्रोणाचार्य र किराँतहरूको लडाइँ अनि खस र किराँत सेनाहरू कौरवका पक्षमा लड्न आएको प्रसङ्गलाई हेर्न सकिन्छ। यसले के देखाउँछ भने पूर्वका किराँतहरू र पश्चिमका खसहरू कौरव र पाण्डव राज्यका परवर्ती छिमेकी राज्य थिए। पछि मल्ल, खस र सेनहरूका राज्यहरू पनि निकै ठुलो क्षेत्रफलमा फैलिएका थिए। सेनकलामा भने नेपाल झन्डै झन्डै वर्तमान कै हाराहारीमा फैलिएको भए तापनि पछि छोराहरूको अंशबन्डाका कारण विभाजित बन्न पुग्यो। राज्य ठुलो आकारमा बढ्ने कुरा समाज विकासको क्रममा प्राप्त हुने प्राविधिक पहुँचमा आधारित हुन्छ। पश्चिम नेपालमा बाइसे र चौबिसे राज्यहरूको निर्माण उनीहरूले प्राप्त गरेको प्राविधिक पहुँचमा आधारित थियो भने यी राज्यहरूको विगठन र विनिर्माण पनि प्रतिद्वन्द्वीको तुलनामा उनीहरूमा रहेको न्यून प्राविधिक पहुँच प्रमुख रूपमा जिम्मेवार थिए।
यहाँ बन्दुकलाई उदाहरणका रूपमा हेर्न सकिन्छ, जुन पृथ्वीनारायण शाहका पाला भन्दा अघि सहज रूपमा उपलब्ध थिएन। यस अघिका खुकुरी, तरबार, गुलेली, घुयेँत्रो, भाला र पर्साहरूले लड्नु पर्ने लडाई अब सिधै आग्नेयास्त्र द्वारा लड्ने सम्भावना प्रदान गर्यो। इतिहासका युद्धहरूमा घुयेँत्रो फ्याँक्नेले ढुङ्गा हान्नेलाई, भाला हान्नेले पर्सा हान्नेलाई, तिर हान्नेले भाला हान्नेलाई, बन्दुक हान्नेले तिर हान्नेलाई, घोडचढीले पैदल सेनालाई, तोप हुनेले बन्दुक हुनेलाई, ट्याङ्क हुनेले तोप हुनेलाई परास्त गरेको देखिन्छ। यसर्थ पृथ्वीनारायण शाह कुनै अधि मानव नभएर समाज विकासको त्यो चरणमा आइपुगेका एक कुशल प्रबन्धक थिए जसका पालामा सामरिक महत्वका हतियारहरूको पहुँच यस भूखण्डसम्म बढ्दै थियो। विजेताहरूका निम्ति देव तुल्य उनी पराजितहरूका लागि आक्रान्ता पनि थिए।
तर समाज विकासको नियम अनुसार हेर्ने हो भने पृथ्वीनारायण शाह त्यस बेलासम्मको समाजमा पहुँच बढ्दै गएको प्रविधिको आधारमा उभिएका एक आधेय व्यक्तित्व थिए नत अधि मानव नै नत आक्रान्तानै। किनकि त्यो समाज एकीकरण अघि नै आर्थिक र प्राविधिक कारणबाट जोडिँदै थियो। थुप्रै एकल जातीय थाकथलाहरु बहु जातीय जनसङ्ख्यामा परिणत हुँदै थिए। उदाहरणका रूपमा एकीकरण अघि नै लुगा सिउने, फलामका औजार र सरसामान बनाउने, भेडाको उनबाट राढी पाखी बनाउने, माटाका भाँडाकुँडा बनाउने, छालाका जुत्ता सिउने, व्यापार वाणिज्य गर्ने, ज्योतिष हेर्ने, सैन्य सेवामा जाने र पुरोहित जस्ता व्यावसायिक वर्गका मानिसहरू फरक जाति र संस्कृतिको भए तापनि विभिन्न जातीय राज्यका इलाकाहरू भित्र पसिसकेका कारण त्यहाँ बहु जातीय जनसङ्ख्याको निर्माण तीव्र गतिमा बन्दै थियो।
यो अवस्थामा पृथ्वीनारायण शाह जन्मिएका थिएनन् भने पनि यस भूखण्डको कुनै राजाको नेतृत्वमा यस क्षेत्रका राज्यहरूको एकीकरणको इतिहासको गति रोकिने थिएन भन्न सकिन्छ। अतः यो इतिहासको अनिवार्य आवश्यकता थियो। यो शताब्दीको वरपर हुँदै दुनियाँका क्षेत्रहरूमा पनि राज्य विस्तारका अभियानहरू यसै गरी अघि बढ्दै गएका थिए। यसर्थ समाजमा हुने आर्थिक र प्राविधिक पहुँचको विस्तार राज्य विस्तार हुने आधार हुन् भने कतिपय व्यक्तित्वको नेतृत्व र व्यवस्थापकीय कौशलताका कारण उनीहरू नायकका रूपमा देखा परेका हुन्छन्। तर तत्कालीन अवस्थामा पराजित राज्यहरू र त्यहाँका जनताहरूमाथि विजेताले औपनिवेशिक नीति अवलम्बन गर्दै दमन र शोषण गर्छ कि समानता र सम न्यायका आधारमा व्यवहार गरी मन जित्छ भन्ने कुरा प्रमुख सवाल हो।
नेपाल निर्माणको क्रममा बाइसे र चौबिसे राज्यहरू भन्दा पनि अघि जाने हो भने यहाँ भुरे टाकुरे र अपुङ्गी राजाहरूका राज्यहरू हेर्ने हो भने झन्डै ३०० को हाराहारीमा यस्ता राज्यहरू रहेको देखिन्छ। एकीकरणका क्रममा यी सबै त्यति बेलाका राज्यहरू स्वतन्त्र र अझ अधीनस्थहरूसमेत हाल नेपालको अन्तर्राष्ट्रिय सिमाना भित्र परिसकेका छन्। यी राज्यहरूमा राजनीतिक विविधता, मौलिक प्रकृतिको सांस्कृतिक विविधताहरू कायमै भएको हुँदा नेपाल वैविद्य मुलुक बन्न पुगेको हो। नेपाल कोरिया जस्तो एउटै भाषिक र सांस्कृतिक समूहको राष्ट्र होइन। नेपालको भूगोलको विविधताले सांस्कृतिक विविधता जन्माएको छ। अर्को ठाउँको पानी र वाणी फरक हुन्छ भनेझैँ भाषा हरेक तीन कोस दुरीमा बदलिन्छ भनिन्छ। हाल नेपालमा १२४ भाषा हुनु भनेको विविधताको महत्त्वपूर्ण सूचक पनि हो।
त्यसै गरी नेपालमा धार्मिक र सम्प्रदायगत विविधता रहेको छ। संसार भरिनै के देखिन्छ भने ठुलो आकारको निश्चित धार्मिक सम्प्रदायको विकास हुनु भन्दा अघि मौलिक पहिचान भएका लोक धर्महरू रहेका हुन्छन्। यस्ता धर्महरूमा प्रकृति र पितृ पूजा सहितै केही स्थानीय लौकिक देवताहरू पुज्ने गरिन्छन्। सरल खालको प्रकृति पूजामा जल देवता, वनदेवता, देउराली देवता, भूमीदेवता, ग्राम देवता, अग्नि देवता, सूर्य देवता, वायु देवता, आदिको पूजाआजा गरिन्छ। यता पितृ पूजामा श्राद्ध, कुलायनको धूपधूवार जस्ता संस्कारहरू पाइन्छ। बिस्तारै विकासका क्रममा कुनै निश्चित विधा हेर्ने देवताको परिकल्पना गर्दै देवत्त्वकरण गरिन्छ र धेरै जातिहरू एउटा ठाउँमा बसोबास गर्ने क्रममा देव मण्डलमा धेरै देवताहरूको उपस्थिति भई समाज बहुदेवत्ववादको चरणमा प्रवेश गर्दछ।
यस्तो वहुदेवत्ववाद पछाडि फेरी पनि कुनै निश्चित सम्प्रदायले ठुलो आकार लिन जान्छ र लोक धर्मका सनातनी संस्कार र पद्धतिका स्वरूपहरूको विलय हुन थाल्दछ। यो अवस्थामा समाज एकेश्वरवादमा प्रवेश गर्ने गर्दछ। एकेश्वरवादको उदाहरण दिनुपर्दा इसाई, इस्लाम, र बुद्ध धार्मिक सम्प्रदायहरूलाई लिन सकिन्छ जुन मूलतः एउटा ईश्वरमा आधारित छन्। यता हाम्रो समाज भने प्रकृति र पितृ पूजा, वहुदेवताहरुको पूजा र एउटै ठुलो दार्शनिक (जसलाई भगवान् पनि भनिन्छ) को पूजा र अमूर्त शक्तिका रूपमा ईश्वरको पूजा हुने गरिकन यी बहुविधा चरणमा छ। नेपालका रैथाने धर्महरूमा किराँत, प्रकृति र पितृ पूजक, बोन (पोन), बौद्ध, मस्टो, हिन्दु, सनातनीभित्र– शैव, गाँडपत्य, सौर्य, शाक्त, वैष्णव, कृष्ण प्रणामी, जैन र सिख लगायत छन्। त्यसै गरी इस्लाम र इसाई धर्महरू जस्ता अल्पसङ्ख्यक धार्मिक सम्प्रदायहरू पनि यहाँ अस्तित्ववान् छन्।
हाम्रो राज्यभित्र एकातर्फ एउटै नेपाल र हामी नेपाली भन्ने सङ्घीय राष्ट्रको पहिचान निर्माण भइरहेको छ भने यो प्रक्रियाले अर्कातर्फ क्षेत्रीय सांस्कृतिक तथा जातीय पहिचानका स्वरूपहरू विनिर्माणको प्रक्रियामा पनि छन्।
यी मूल धार्मिक सम्प्रदायहरू भित्र पनि उप सम्प्रदायहरू सहित आआफ्नै विश्वास प्रणालीहरू छन्। तसर्थ नेपाली समाजको धार्मिक पक्षलाई कुनै अन्य देशको अमुक धर्मसँग हुबहु दाँज्न सकिन्न, यो वैविद्य यहाँको मौलिकता हो। जनसांखिक भूगोलले भन्दछ जहाँको भूगोल छिन्नभिन्न छ त्यहाँको संस्कृति पनि छिन्नभिन्न हुन्छ। जब हामीले देशको एकीकरण गर्यौँ र छिन्नभिन्न संस्कृतिहरूलाई एकै ठाउँमा राख्यौ तिनीहरू बिच सहयोग र सङ्घर्ष, एकता र विभाजन त हुने नै भयो। किनभने यदि कुनै राज्य बहु जातीय प्रकृतिको भएमा निश्चितै एउटा वर्चस्वशाली समूहले आफ्नो भाषा धर्म र संस्कृतिका मानकहरू राज्य धर्मका रूपमा स्थापित गर्दछ, फलतः शासकको भाषा धर्म आदिको प्रभुत्व स्थापित गरिएको हुन्छ। हाल हाम्रो सन्दर्भमा देखा परेको पहिचानको अन्तर्विरोध यसैको उपज हो।
यस अन्तर्विरोधको पृष्ठभूमिमा नेपाललाई हेर्दा नेपाल राष्ट्रिय राज्य नभई एक राज्य राष्ट्र हो। किन भने नेपाल यहाँ एउटा राज्य बनेर त्यो राज्यको अभ्यासले एउटा साझा राष्ट्र बन्ने प्रक्रियामा छ । अभ्यासको यो प्रक्रियामा जाँदा बहुविध पहिचानलाई लिएर एउटा पहिचान निर्माण हुनु आफूलाई दमित कित्तामा राखेर हेर्ने समुदायका लागि यो आन्तरिक उपनिवेश करणको प्रक्रिया पनि हो। तर वर्चस्वशाली समूहका लागि भने यो राष्ट्र निर्माणको प्रक्रिया हो। हामी यी दुवै विरोधाभासलाई सँगसँगै लिएर अघि बढिरहेका छौँ र यो प्रक्रिया अझै लामै समयसम्म जारी रहने देखिन्छ। एकीकरणका समयमा बहुल पहिचानमा खुकुलो बनेको राज्य त्यसका केही समय पछि कसिलो बन्दै गयो र हालैको सङ्घीय संविधान पछि समानुपातिक समावेशीकरणको संवैधानिक प्रावधानले पहिचान अङ्गीकार गरी राज्य खुकुलो भएको छ।
मानव जातिको उत्पत्ति नेपालमै भएको र मेरो जाति त्यही समयदेखि नेपालमा निरन्तर बसोबास गरी आएको छ भनेर दावा गर्ने आधार यहाँका कुनै पनि जातिमा छैन। अझ प्रागैतिहासिक कालमा यहाँ बसोबास गर्ने कुन कुन जाति निरन्तर रूपमा यही छन् र अन्य जातिहरू को कहाँबाट आए त्यो खुट्याएर भन्न कठिन छ।
विश्वव्यापीकरणको इन्धनका रूपमा रहेको मानिसको प्राविधिक सामर्थ्य र सो माथिको पहुँच आज केन्द्रमा रहेका औद्योगिक समाजबाट सीमान्त वा परिधीय क्षेत्र तर्फ निरन्तर प्रवाहित छ। प्रविधि र ज्ञान माथिको मानिसको पहुँचले एकातिर पहिचानको विनिर्माण र अर्कातिर विनिर्माणमा बल पुर्याइरहेको छ। कृषि चरणबाट औद्योगिक चरणतर्फ अघि बढीरहेको मानव समाजमा पहिचान निर्माणका रूपमा व्यक्ति र समूहका विभिन्न खाले पहिचानहरू निर्माण भएका छन्। आजसम्मका युगहरूको तुलना गर्ने हो भने यो युग मानिसको पहिचानको निर्माण र विनिर्माणको तीव्रतम युग पनि हो। हाम्रो राज्यभित्र एकातर्फ एउटै नेपाल र हामी नेपाली भन्ने सङ्घीय राष्ट्रको पहिचान निर्माण भइरहेको छ भने यो प्रक्रियाले अर्कातर्फ क्षेत्रीय सांस्कृतिक तथा जातीय पहिचानका स्वरूपहरू विनिर्माणको प्रक्रियामा पनि छन्।
फेरी पनि अर्को दृष्टिबाट हेर्दा मानिसहरूमा आएको आर्थिक र प्राविधिक पहुँचले सुषुप्त रूपमा रहेका सूक्ष्म राष्ट्रवादका पहिचानका मुद्दाहरू क्रमशः मुखरित भइरहेका छन्। कुनै एउटा जाति भनौँ वा राष्ट्रियता नेपालको वर्तमान भूभाग भित्र निश्चित एउटा ठाउँमा थियो। उसको छुट्टै धर्म संस्कृति भाषा र हामी भन्ने मनोविज्ञान थियो। उसको धर्म संस्कृति र भाषाको प्रयोगमा उसको सामूहिक पहिचान माथि राज्यले नियन्त्रण गरेको महसुस उसले गरुन्जेल भावनात्मक रूपमा राष्ट्रिय एकता सम्भव हुने करा भएन। हिजो लगाइने गरिएको “हाम्रो राजा हाम्रो देश ! हाम्रो भाषा हाम्रो भेष!” भन्ने नाराले केही नेपालीलाई खुसी बनाएता पनि नेपाली राष्ट्रिय परिवारका कतिपय समुदायको मन भने कुँड्याएको थियो। जब एउटा परिवारका सबै सदस्यहरू खुसी हुन सक्दैनन् त्यो परिवारमा द्वन्द्व र कलह हुन जान्छ।
मानव जातिको उत्पत्ति नेपालमै भएको र मेरो जाति त्यही समयदेखि नेपालमा निरन्तर बसोबास गरी आएको छ भनेर दावा गर्ने आधार यहाँका कुनै पनि जातिमा छैन। अझ प्रागैतिहासिक कालमा यहाँ बसोबास गर्ने कुन कुन जाति निरन्तर रूपमा यही छन् र अन्य जातिहरू को कहाँबाट आए त्यो खुट्याएर भन्न कठिन छ। नेपालमा विभिन्न कालखण्डमा विभिन्न जो जो जातिहरू आएर बसोबास गरे वर्तमान सम्म आइपुग्दा ती सबै नेपाली साझा राष्ट्रिय द्रवणपात्रमा पग्लिएर नेपाली बनेका र बन्ने क्रममा छन्। उनीहरू नेपाली नागरिक बनेका छन्। राणा शासकहरूले आफ्नै परिवारमा विभाजन गरेझैँ कोही पनि एक नम्बर नेपाली र दुई नम्बरको नेपाली आज छैन।
नेपाल उत्पत्ति देखिनै धार्मिक स्वतन्त्रता भएको सनातनी बहु धार्मिक देश थियो। हरेक भौगोलिक स्थानमा त्यहाँको पर्यावरण र प्रकृतिसँगको अन्तरक्रियाबाट निसृत जीवनपद्धति र दृष्टिकोण नै धर्म थियो र त्यस्ता मौलिक धर्महरूलाई परापूर्व काल देखि मानी आएको सनातन धर्म भनेर भन्न थालियो। समय क्रममा आर्थिक र व्यापारिक प्रक्रियासँग जोडिएर जानसांखिक गतिका कारण यहाँका हिन्दु भित्रका कतिपय सम्प्रदायहरू, इस्लाम अनि इसाई धर्म हामीकहाँ आइपुगेका हुन्। हामीले साँच्चै प्राकृतिक नियमको अवलम्बन गर्ने हो भने अमुक धर्म सापेक्ष र निरपेक्ष भनेर विवाद गर्नु तर्कसम्मत छैन। संविधानमा लेखेर पनि बिग्रिएको छैन नलेखेर पनि बिग्रँदैन। नेपाल बहुल धार्मिक समुदायहरू बसोबास गर्ने धार्मिक स्वतन्त्रता भएको मुलुक हो। कुनै अतिवादी राज्यबाहेक दुनियाँमा राज्यहरू धार्मिक सम्प्रदाय प्रति निरपेक्ष नै रहन्छन्।
नेपाल मानव सभ्यताको उषा काल देखिनै सहअस्तित्वमा आधारित राज्य हो। राज्य विभेदकारी भयो भने यो सन्तुलन बिग्रन सक्दछ। यहाँका कुनै पनि जातीय समुदायको विद्रोहले पनि तात्त्विक परिणाम दिन सक्दैन। बहु जातीय इलाकाहरूमा विस्तारित भएको हाम्रो जनसङ्ख्याले कुनै प्रकारको एकल पहिचान स्वीकार गर्न सक्दैन।
नेपालको भविष्य यहाँको माटोमा उम्रिएर हुर्किएको, मानवतावादी, सनातनी एवं मौलिक संस्कृति परम्परामा आधारित, धार्मिक बहुलतामा छ। जन्म र नस्लले श्रेष्ठ हुने परिपाटीको निषेधमा छ। लैङ्गिक श्रेष्ठताको निषेधमा छ। क्षेत्रीय वर्चस्व र केन्द्रीय वर्चस्वको पनि निषेधमा छ। कुनै किसिमको आन्तरिक र बाह्य उत्पीडनको विरुद्धमा छ। नेपालको हिन्दु धर्म फारसीले नाम दिएर प्रयोगमा आएको हिन्दु भन्दा हजारौँ किलोमिटर टाढा गङ्गाको उत्तरी मैदानको माथिल्लो भाग हुँदै हिमालय फेदमा फस्टाएको सनातनी र मौलिक प्रकृतिको छ। हाम्रा कतिपय देवस्थलहरू हिन्दु, बौद्ध, किराँत र प्रकृति पूजक जातिहरूका समेत साझा तीर्थस्थलका रूपमा छन् र हजारौँ वर्ष पुराना छन्। यस भित्रको रूढिवाद, रूढ एवं शोषणमा आधारित कर्मकाण्ड र सामाजिक लैङ्गिक र अन्य प्रकृतिका मानव विभेदका पक्षहरू समानतामा आधारित वर्तमान संविधान स्वीकार गरेका नेपालीहरूका निम्ति मान्य छैनन्।
कुनै पनि भाषाको उत्पत्ति हुनका लागि भनिन्छ हजारौँ वर्ष लाग्दछ। भाषा संस्कृतिको वाहक हो। एउटा भाषा मासिनु भनेको मानव जाति भित्रको एउटा परिवार मासिनु हो। प्रकृतिसँगको अन्तरक्रियाबाट उसले हासिल गरेको ज्ञान राशि पनि मासिनु हो। भाग्यले हामी बिच धेरै भाषा र संस्कृति विद्यमान छन्। यो वैविद्य हाम्रो राष्ट्रको सम्पत्ति हो। जुन राष्ट्रमा धेरै संस्कृति र भाषाहरू छन् त्यो राष्ट्र परम्परागत ज्ञानमा सम्पन्न छ भन्ने बुझिन्छ। आजको हाम्रो नेतृत्वले नेपाल चिन्न सक्नु पर्दछ। जसले नेपाली राष्ट्रिय परिवारका सबै जातजाति भाषाभाषी क्षेत्र तह र तप्काका जनताको मन जित्न सक्दैन त्यस्तो नेतृत्वले समृद्ध राष्ट्र निर्माणको आधार तयार गर्न सक्दैन। यी विविधताले जनसङ्ख्याको निक्खर र घना सांस्कृतिक उपस्थिति भएको स्थानीय क्षेत्रमा संरक्षण गर्दै जाने नीति र कार्यक्रमहरू अघि बढाउन सकिन्छ।
अतः नेपाल मानव सभ्यताको उषा काल देखिनै सहअस्तित्वमा आधारित राज्य हो। राज्य विभेदकारी भयो भने यो सन्तुलन बिग्रन सक्दछ। यहाँका कुनै पनि जातीय समुदायको विद्रोहले पनि तात्त्विक परिणाम दिन सक्दैन। बहु जातीय इलाकाहरूमा विस्तारित भएको हाम्रो जनसङ्ख्याले कुनै प्रकारको एकल पहिचान स्वीकार गर्न सक्दैन। तसर्थ यो साझा राज्यमा कुनै परिवार, जात वा जाति, र लिङ्ग विशेषको एकल वर्चस्व स्वीकार हुन सक्दैन। खास गरीकन नेतृत्वले पहिचानको उचित सम्बोधन र व्यवस्थापनका निम्ति फराकिलो हृदय राखी बचन र व्यवहार गरेमा विभाजन र विभेदका समस्याहरू समाधान हुँदै जानेछन्।
डा.अधिकारी मानव शास्त्र र भाषा विज्ञान विषयका अध्येता हुन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
डा. रघुनाथ अधिकारी ‘निलमशेखर’ का अन्य पोस्टहरु:
- युरेसियामा प्राच्य संस्कृत र लिथुआनियाली भाषा
- सुशासनको दृष्टिमा ह्रासोन्मुख र बिटुलिँदो प्राकृतिक स्रोत
- लोकतन्त्रमा टिकट खरिदबिक्री र इमानदार ‘जुनुमान’
- ‘स्वतन्त्र’ उम्मेदवारको उदय र दलमा विकल्पको खोजी
- यसपालीको चुनावमा प्रभाव पार्ने तत्त्व
- सपनामा सीमित बनाइएको जनता केन्द्रित लोकतन्त्र
- कुलीनतन्त्रमा पतन भइरहेको हाम्रो लोकतन्त्र
- रुस–युक्रेन युद्धको वैश्विक प्रभाव र नेपाल
- आसन्न निर्वाचन: संविधानपक्षधर, विरोधी र तटस्थ मतदाता
- सामाजिक सौहार्द र अपराध नियन्त्रणमा आचारिक शिक्षा