विपद्‌मा सहयोग गर्न तयार भए १ लाख ४ सय ४६ स्वयंसेवक

सरकारले विपद् व्यवस्थापन पूर्वतयारी, खोज, उद्धार, राहत र पुनःस्थापनाका लागि सङ्घ, प्रदेश र स्थानीयस्तरमा एक लाख चार सय ४६ स्वयंसेवक तयार गरेको जनाएको छ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको पुस १२ गते विहिबारको बैठकमा गृहसचिव दिनेश भट्टराईले स्थानीय समुदायको सहभागिता अभिवृद्धिसँगै स्वयंसेवकको पहिचान र परिचालन गर्न ‘स्वयंसेवक व्यवस्थापन सूचना प्रणाली’को विकाससमेत गरिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “विपद् प्रभावितको उद्धार र राहतलाई प्रभावकारी बनाउन विपद् व्यवस्थापनमा संलग्न निकायको क्षमता अभिवृद्धिका लागि आवश्यक स्रोत व्यवस्थापन गरेको छु।”

सचिव भट्टराईले विपद् उद्धार तथा व्यवस्थापनका लागि सबै प्रदेशमा ‘मल्टिपर्पोज रोवोटिक फायर फाइटिङ’ एवं बारुणयन्त्र खरिदको प्रक्रिया तयार भएको बताउनुभयो। त्यस्तै उहाँले प्रत्येक प्रदेशमा विपद् न्यूनीकरणका लागि एउटा मल्टिसिटर एम्बुलेन्स र एक सयवटा फायर पम्प निर्माण गरेको बताउनुभयो।

समितिका सभापति मायाप्रसाद शर्माले जाजरकोटमा गएको भूकम्पमा उद्धारमा समस्या नरहे पनि आवास निर्माणमा ढिला भएको बताउनुभयो। उहाँले चिसोका कारण त्रिपालमा बसेका सुत्केरी र ज्येष्ठ नागरिकले ज्यान गुमाउनु परिरहेकाले मन्त्रालयले छिटो आवास निर्माण गरिदिन आग्रह गर्नुभयो।

सांसद मदनकुमारी शाहले अब बन्ने कानुनमा विपद्‌मा परेका पीडितले राहत पाउने गरी नीति/कार्यविधि निर्माण गर्नुपर्ने बताउनुभयो। कानुन अभावको कारण राहत पाउनबाट बञ्चित हुनुपरेको उहाँले बताउनुभयो। सांसद नरपति लुवारले जनता आवास कार्यक्रमको फाइदा अन्यत्र एक/दुई ठाउँमा घर भएका व्यक्तिले उठाउने गरेको बताउनुभयो। जसका कारण एउटा पनि घर नभएका पीडितले आवासबाट बञ्चित हुनुपरेको पनि उहाँले बैठकमा जानकारी गराउनुभयो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link