लुम्बिनीमा स्वास्थ्य बिमा गर्ने सेवाग्राही बढ्दो, व्यवस्थापनमा चुनौती

स्वास्थ्य बिमा लागु भएका लुम्बिनीका अस्पतालहरूमा सेवाग्राही बढ्दो रहे पनि व्यवस्थापनमा चुनौती थपिदा सेवा सहज बन्न सकिरहेको छैन । प्रदेशका स्वास्थ्य मन्त्री देखि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सम्मले बिमाका कारण सरकारी अस्पतालहरूमा सेवाग्राही बढ्दो रहे पनि सेवा सहज बनाउन चुनौती रहेको बताएका छन् ।

बुटवलमा स्वास्थ्य बिमा बोर्डले गरेको एक कार्यक्रममा प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले बिमाका कारण बिमा कार्यक्रम लागु भएका अस्पतालहरूमा आकर्षण बढ्दो रहे पनि सेवा लिन धेरै समय लाग्ने गरेको बताउनुभयो ।

लामो समय लाइनमा उभिनुपर्ने, निःशुल्क औषधी आर्थिक स्रोतको अभावले पर्याप्त मात्रमा दिन नसकिने अवस्था रहेको उहाँको भनाइ थियो । अस्पतालको पुरानो संरचना, पुरानो दरबन्दीले पनि सेवालाई प्रभावकारी बनाउन चुनौती रहेको मन्त्रीको भनाई छ । बिमा गरेकाले सहज सेवा लिन नीतिगत सुधारदेखि अन्य सुधारको खाँचो रहेको मन्त्री खनालले बताउनुभयो ।

दाङको बिरामी काठमाडौँ जाँदा आकस्मिक बिरामी भयो भने बिमाको सेवा लिन सुरुमा दाङ नै जानुपर्ने प्रावधान सच्चाएर जहाँ गएको अवस्थामा पनि सहज सेवा लिने गरी सुधार गर्नुपर्ने मन्त्री खनालले बताउनुभयो । उहाँले बिमा गरेको तीन महिनापछि मात्रै बिमा अनुसारको सेवा लिन पाउने प्रावधान पनि हटाएर बिमा गरेबाटै लागु गर्ने प्रावधान राख्न पनि सुझाव दिनुभयो ।

महँगो स्वास्थ्य उपचारबाट पार पाउन बिमालाई सफल बनाउनुपर्ने र यसका लागि सामूहिक रूपमा लाग्नुपर्नेमा मन्त्री खनालले जोड थियो । बिमा लागु गरेका प्रदेशका विभिन्न अस्पतालले समयमै रकम पाउन नसकेको भन्दै सेवा अझ बढी प्रभावकारी बनाउन समयमै भुक्तानी गर्नुपर्ने खनालको भनाई छ ।

स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डाक्टर गुणराज लोहनीले बिमाको कभरेज बढाउनुपर्ने बताउनुभयो । उहाँले बिमा बढाउँदै लैजानुपर्ने भन्दै कसरी सहज हुन्छ त्यसरी नै काम गर्न सुझाव दिनुभयो । बिमालाई माया गर्नुपर्ने र सकारात्मक सोच्नुपर्ने भन्दै अध्यक्ष लोहनीले बिमा क्षेत्रका समस्या भए अप्ठ्यारा फुकाउँदै अघि बढ्ने बताउनुभयो । डा. लोहोनीले अस्पतालहरूले बिरामीको रिफर गर्दा रिफर गर्ने अस्पतालमा बिरामीका लागि सेवा छ की छैन भन्ने बुझेर मात्र गर्न पनि सुझाव दिनुभयो ।

बिमा बोर्डका कार्यकारी निर्देशक डाक्टर दामोदर बसौलाले सबै प्रदेशमा बोर्डले समीक्षा गर्ने र समीक्षा पछि आएका निचोडका आधारमा अगाडी बढ्ने बताउनुभयो । उहाँले बिमाको सीमा बढाउने बारेमा अध्ययनको क्रममा रहेको पनि बताउनुभयो।

कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुदर्शन थापाले अस्पतालमा बिमा कार्यक्रम लागुपछि सेवाग्राही ह्वात्तै बढेपछि ओपिडी, ल्याब तथा फार्मेसीमा व्यवस्थापनमा चुनौती थपिएको बताउनुभयो ।

स्वास्थ्य समाज निर्माण गर्न बिमा कार्यक्रमले ठुलो योगदान गरेको भन्दै कार्यक्रमपछि अस्पतालमा देखिएका चुनौती व्यवस्थित गर्दै अगाडी बढेमा स्वास्थ्य क्षेत्रमा सुधार गर्न धेरै मद्दत मिल्ने धारणा राख्नुभयो । प्रदेशका स्वास्थ्य सचिव डाक्टर जनार्दन पन्थीले बिमालाई सफल बनाउन प्रदेश सरकार लागि पर्ने बताउनुभयो । उहाँले औषधीमा स्वास्थ्य बीमा बोर्ड आफै सक्रिय बन्नु पर्ने बताउनुभयो।

बिमा बोर्डको कार्यक्रममा स्थानीय सरकारको बेवास्ता

बिमा बोर्डले लुम्बिनी प्रदेशमा बिमा कार्यक्रमको अवस्थाका बारेमा गरेको कार्यक्रममा प्रदेश सरकारका अतिरिक्त स्थानीय तहका सरकार प्रमुखहरूलाई पनि खबर गरेको थियो । तर कुनै पनि पालिकाका प्रमुख तथा उपप्रमुख सहभागी भएनन् ।

केही केही पालिकाका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी तथा कर्मचारी मात्रै कार्यक्रममा सहभागी भए । बिमा बोर्डका कार्यकारी निर्देशक डाक्टर दामोदर बसौलाले स्थानीय सरकारका जनप्रतिनिधिहरू कार्यक्रममा उपस्थित भएर अपनत्व लिनुपर्नेमा त्यस्तो नभएको बताउनुभयो । तीनै तहका सरकारको साझा कार्यक्रम रहेकाले सबैले अपनत्व लिनुपर्नेमा उहाँको भनाई छ ।

लुम्बिनीमा ७९ प्रतिशत स्वास्थ्य बिमाको पहुँच बाहिर

लुम्बिनी प्रदेशमा अझै पनि झन्डै ८० प्रतिशत जनसङ्ख्या स्वास्थ्य बिमाको पहुँच बाहिर रहेको पाइएको छ । प्रदेशमा स्वास्थ्य बिमाको कार्यक्रम सुरुमा पाल्पाबाट लागु भएको थियो । पाल्पामा लागु भएको ७ वर्ष भएको छ । यहाँ हाल सबै जिल्लामा लागु छ । हालसम्म यहाँ जम्मा २१ दशमलव ३३ प्रतिशत जनसङ्ख्यामा मात्र स्वास्थ्य बिमाको पहुँच पुगेको छ ।

प्रदेशको कुल जनसङ्ख्या ५१ लाख २२ हजार ७८ मध्ये १० लाख ९२ हजार ६ सय ७३ जना बिमित भएका छन् । बिमितहरू मध्ये ५ लाख २४ हजार ७ सय ७० पुरुष, ५ लाख ६७ हजार ७ सय ८७ महिला, अन्य १ सय १७ जना समावेश छन् ।

स्वास्थ्य बिमा बोर्ड लुम्बिनी प्रदेशका संयोजक जनकबहादुर साउदले प्रदेशमा सबैभन्दा पहिला यस कार्यक्रम २०७३ सालमा पाल्पाबाट सुरु भएको र २०७७ फागुनसम्म आइपुग्दा सबै १२ वटै जिल्लामा लागु भएको बताउनुभयो ।

कार्यक्रम लागु भएपछि पाल्पामा दुई लाख ३६ हजार ७१७, रुपन्देहीमा एक लाख ६१ हजार ५८१, बर्दियामा एक लाख २८ हजार ९९६, गुल्मीमा एक लाख ७ हजार ३१२, कपिलवस्तुमा एक लाख ४ हजार ४८, अर्घाखाँचीमा ८२ हजार ११६, बाँकेमा ७१ हजार २०५, प्युठानमा ६३ हजार ८८६, दाङमा ४५ हजार ३, नवलपरासी पश्चिमा ४४ हजार १६८ रोल्पामा ३८ हजार ९३९ र सबैभन्दा कम रुकुम पूर्वमा ८ हजार ७०२ जना बिमित रहेको बताउनुभयो ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
लुम्बिनीमा स्वास्थ्य बिमा गर्ने सेवाग्राही बढ्दो, व्यवस्थापनमा चुनौती
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link