पछिल्लो समय ग्रामीण क्षेत्रमा गुन्द्री बुन्ने चलन लोप हुने अवस्थामा छ । प्लाष्टिकका गुन्द्री बजारमा प्रशस्त पाइन थालेपछि पराल तथा गुदका गुन्द्री बुन्ने चलन लोप हुँदै गएको स्थानीय बताउँछन् ।
हाल आधुनिकतासँगै जनजीवन परिवर्तन भएर कुर्सीको प्रयोग गर्नेको सङ्ख्या बढ्न थालेपछि गुन्द्रीमा बस्ने व्यवहारमा पनि परिवर्तन आउन थालेको छ । सहरी क्षेत्रका साथै ग्रामीण क्षेत्रमा पनि अधिकांशले अहिले प्लाष्टिकका कुर्सीको उपयोग गर्दछन् ।
परालको गुन्द्रीसँगै सिमान्तकृत दरै (दराई) समुदायले प्राकृतिक तथा जैविक कच्चापदार्थको प्रयोग गरी गुदको गुन्द्री बुन्ने गर्दछन् । तनहुँको व्यास नगरपालिका–१ भादगाउँका ६८ वर्षीया मनसुलीमाया दरैले सानो उमेरदेखि गुदको गुन्द्री बुन्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “साउन अन्तिमदेखि कात्तिकसम्म गुद सङ्कलनका लागि विभिन्न स्थानमा जानुपर्छ । पुस, माघमा हर्रोको लेदोले पोतेर सुकाइन्छ । प्राकृतिकरुपमा जङ्गलमा रहेका कच्चापदार्थ सङ्कलन गरी माघ, फागुन, चैतसम्म बुन्ने गरेका छौँ ।”
गुदको गुन्द्री बुन्ने निकै समय र मेहेनत लाग्ने मनसुलीमायाले जानकारी दिनुभयो । “राम्रो र बुट्टेदार देखिए पनि बुन्न भने लामो समय लाग्छ । मौलिक संस्कार र संस्कृति जोगाउनका लागि हामीले अझै गुदका गुन्द्री बुन्ने गरेका छौँ”, उहाँले भन्नुभयो । अतिथि सत्कार मात्रै नभई संस्कार र पहिचानका लागि पनि गुन्द्री बुन्ने गरिएको उहाँको भनाइ छ ।
स्थानीय ६६ वर्षीया फूलमाया दरैले भन्नुभयो, “पहिले पहिले त बाबियाको डोरीले गुन्द्री बुनिन्थ्यो । अहिले फेरिँदै गएको छ । हामी अल्छी हुन थालेका छौँ । अहिले सुतरीको डोरीमा नै गुदको गुन्द्री बुन्छौँ ।” पहिले पहिले धेरै ठाउँमा पाइने गुद अहिले पाउन अलि कठिन हुन थालेको उहाँको अनुभव छ ।
फूलमायाले भन्नुभयो, “पहिले त चार/पाँच दिन लगाएर विभिन्न स्थानमा पुगेर खोला किनारमा पाइने गुद लिएर आउने गथ्र्यौं । ल्याएर घाममा सुकाएर पुस लागेपछि भने बुट्टेदार गुन्द्री बुन्नका लागि रङ्ग्याउने कार्य थालनी हुन्छ ।” साधाभन्दा बुट्टेदार बुन्ने प्रचलन बढी रहेको भन्दै यो आकर्षित पनि देखिने उहाँले बताउनुभयो ।
पहिले हिँडेर गुद ल्याउने गरिएको थियो भने अहिले सवारीसाधनमा जाने हुँदा एकै दिनमा ल्याउने गरिएको फूलमायाले बताउनुभयो । सुविधाको पनि उपयोग गरिरहेको भन्दै परालको भन्दा गुदको गुन्द्री बुन्न कठिन हुने उहाँको अनुभव छ । “परालको गुन्द्रीमा बिट सजिलो हुन्छ । गुदको गुन्द्रीमा बुट्टासँगै बिट मार्नै फरक तरिका हुने भएकाले अलि समय लाग्छ”, उहाँले भन्नुभयो ।
परालको गुन्द्रीमा जस्तो बिटले गुदको गुन्द्री एकैछिनमा फुस्किने भएकाले पनि यो फरक तरिकाले बनाउनुपर्ने फूलमायाले बताउनुभयो । “यो फरक र कसिलो हुन्छ । जो कोहीलाई यो बिट मार्नै मुस्किल हुन्छ । अहिलेका बच्चा सिक्नै मान्दैनन्”, उहाँले भन्नुभयो, “बस्न र चलाउन खोजे पनि कच्चापदार्थ खोज्न सहज छैन । अलि बुढा भइसकेका महिला सकिएपछि हाम्रो त गुदको गुन्द्री पनि हराउँछ होला ।”
हर्रोको बोक्रालाई पानीमा उमालेर बनाइएको लेदो गुदमा लगाइ घाममा सुकाइन्छ । सुकाइसकेपछि हिलो गाडेर कालो बनाउनु पर्दछ । दरै समुदायका महिलाले कालो र सेतो रङमा बुट्टा बनाएर गुन्द्री बुन्ने गर्दछन् । हिलो राम्रो नभएको स्थानमा गाड्दा कालो राम्रो नआउने उहाँहरुको भनाइ छ ।
हिलोमा गाडेर कालो भएपछि घर ल्याएर सुकाइ केही समय राखेर मात्रै बुन्न सकिन्छ । ४५ वर्षीया सुनिता दरैले भन्नुभयो, “मेरो छोरा २४ वर्ष लाग्यो । मैले छोरा नपाउँदै बुनेको गुदको गुन्द्री अझै राम्रै छ । गुदको गुन्द्री टिकाउ पनि हुन्छ ।” साथीहरुसँग गुद खोज्न जाने गरिएको भन्दै हालसम्म परम्परा जोगिए पनि पुस्ता हस्तान्तरण नहुँदा लोप हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो ।
ज्येष्ठ र अधबैँशे महिलामा यो आकर्षण भए पनि युवामा चासो नदेखिएको सुनिताको भनाइ छ । विगतमा पुरुष र महिला भएर जाने गरे पनि हाल महिला मात्रै गुद खोज्न जाने उहाँले बताउनुभयो । संस्कार र संस्कृतिसँग नै जोडिएकाले संरक्षण गर्नुपर्ने उहाँहरुको जोड छ ।
आधुनिक परिवेशसँगै फेरिँदै गएको नयाँ प्रविधिको गुन्द्री (म्याट)भन्दा बढी प्राकृतिक तथा जैविकरुपमा बुनिएका गुदका गुन्द्री उपयुक्त हुने भादगाउँ दरै समाजका कोषाध्यक्ष वीरबहादुर दरैले बताउनुभयो । “पहिले हामीलगायत पुरुषसमेत गुद खोज्न जाने गरेका थियोँ । अहिले पुरुष गुद खोज्न जान छाडेका छन्”, उहाँले भन्नुभयो, “हाम्रो समुदायको हरेक संस्कारमा आवश्यक मानिएको गुदको गुन्द्री बुन्ने प्रचलन लोप हुँदै छ । यसको संरक्षणमा सबै जुट्नुपर्ने देखिएको छ ।”
जन्मदेखि मृत्यु संस्कारका लागि अन्य किसिमका गुन्द्री दरै समुदायले उपयोग गर्दैनन् । आफूसँग नभएको अवस्थामा खोजेर ल्याउने गरिन्छ । मृत्यु संस्कारबाट मुक्त हुनका लागि पनि गुदको गुन्द्रीमा बसेर कर्म गर्ने प्रचलन दरै समुदायमा रहेको भन्दै यसको संरक्षण गर्नुपर्नेमा कोषाध्यक्ष वीरबहादुरले जोड दिनुभयो ।
दरै उत्थान समाज नेपालका वरिष्ठ उपाध्यक्ष चीजबहादुर दरैले व्यास नगरपालिका, ऋषिङ र घिरिङ गाउँपालिकामा बसोबास गर्ने दरै समुदायका महिलाले गुद खोज्न टाढा पुग्नुपर्ने अवस्था रहेको बताउनुभयो । गुद खोला किनारमा पाइने भएकाले यसको कच्चापदार्थ संरक्षणमा तीनै तहका सरकारको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।
“खोला, नदी किनारमा पाइने भएकाले कच्चापदार्थ संरक्षण गर्नु पहिलो प्राथमिकता हो । पहिले दरै समुदायले मात्रै प्रयोग गर्ने गरिएको थियो”, उपाध्यक्ष चीजबहादुर, “यसको उपयोगिता दीर्घकालीन हुनेहुँदा अन्य जातिले पनि सिक्ने प्रचलन बढ्दै गएको छ । जसले गर्दा अझ यसको कच्चापदार्थ पाउन मुस्किल बन्दै गएको छ ।” खोला, नदीनाला किनारमा पाइने कच्चा पदार्थलाई संरक्षण गर्दै गुदको गुन्द्री बुन्ने प्रचलनलाई प्रवर्द्धन गरी व्यावसायिक बनाउन आवश्यक रहेको उहाँको भनाइ छ ।
बुट्टेदार राम्रा र बलिया गुदका गुन्द्री लामो ससम्म टिकाउ हुने भएकाले पनि बजारमा माग हुने गरेको स्थानीय महिला बताउँछन् । मेहनत र समय बढी लाग्ने भएकाले यसको मूल्य महँगो हुने दरै समुदायले जनाएको छ । गर्मी समयमा बिछ्याउँदा सितलता दिने विशेषता रहेको गुदको गुन्द्री ३० देखि ३५ वर्षसम्म टिक्छ ।
गाउँघरमा नै हुने जैविक कच्चापदार्थ उपयोग गरी बुनिने गुदको गुन्द्रीको प्रयोग मानवीय र वातावरणीय स्वास्थ्यका दृष्टिले लाभदायक छ । मौलिक संस्कृति तथा जैविक पदार्थको संरक्षण गरी दरै समुदायमा स्वरोजगार सिर्जना गर्न आवश्यक छ । गुदको गुन्द्री उत्पादनलाई आयआर्जनसँग जोड्नतर्फ सरोकारवालाको ध्यान जानुपर्ने स्थानीयको माग छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ‘मुन्दुम ट्रेल’को प्रवर्द्धन गर्न महोत्सव
- कन्कार्ई पुल : पाँच पटक ठेक्काको म्याद थप , १३ वर्षमा आधा काम
- इजरायली सेनाद्वारा सिरियाबाट तीन हजार हतियार बरामद
- सामाजिक सञ्जालको सदुपयोग गर्दा …
- ब्लू ओरिजिनको पहिलो कक्षीय रकेट प्रक्षेपण स्थगित
- ‘बेलायतसँग भएको सन्धीले नेपाललाई सार्वभौम राष्ट्रका रूपमा चिनायो’
- देवघाटमा आजदेखि माघे सङ्क्रान्ति मेला
- अमेरिकी डलरको भाउ बढ्यो
- आज माघ सङ्क्रान्ति पर्व मनाइँदै
- महाकुम्भमा एक करोड भक्तजनको ऐतिहासिक स्नान