प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) लाई आग्रह गर्नुभएको छ।
नेपाल भ्रमणमा रहेका एआइआइबीका निर्देशक नेतृत्वको प्रतिनिधिमण्डलले चैत १२ गते गरेको शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री दाहालले एआइआइबीमा सहुलियतको प्रावधान नहुँदा बजार दरको ब्याजमा ऋण प्राप्त गर्न नेपालजस्ता मुलुकलाई कठिन हुने बताउनुभयो।
“नेपाललाई अझै पनि ऋणमा सहुलियत आवश्यक छ, तर एआइआइबीसँग यस्तो व्यवस्था छैन”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “बजार दरको मूल्यले बैंकको वित्तमा नेपालको पहुँचलाई सीमित गरेको छ, तपाईंहरू नीति निर्माता भएका नाताले यसमा पुनःविचार गर्न आग्रह गर्दछु।”
सरकार सुशासन, संस्थागत विकास, सामाजिक न्याय तथा समृद्धिमार्फत् उच्च आर्थिक वृद्धिको लक्ष्यमा केन्द्रित भएको बताउँनुहुँदै प्रधानमन्त्री दाहालले यस प्रक्रियामा वित्तीय व्यवस्थापन, प्राविधिक सहायता, ज्ञानको साझेदारी र पुँजी परिचालनमा बैंकको सहयोगको अपेक्षा गरेको उल्लेख गर्नुभयो।
नेपालमा हाल एआइआइबीको लगानीमा ऊर्जा क्षेत्रका केही परियोजनामा रहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री दाहालले जलविद्युत्, पर्यटन, सूचना प्रविधि र पूर्वाधार विकासमा लगानीको प्रचुर सम्भावना रहेकाले लगानी गर्न आग्रह गर्नुभयो। “भारतमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने र बङ्गलादेशमा समेत विद्युत् निर्यात गर्ने सम्झौता भएको छ। यसले नेपालको ऊर्जा व्यापारमा मार्गप्रशस्त गरेको छ,” प्रधानमन्त्री दाहालले भन्नुभयो, “ऊर्जा क्षेत्रमा लगानीका लागि राम्रो सम्झावना छ। हामीले आगामी महिना लगानी सम्मेलन गर्दैछौँ, त्यसमा एआइआइबीले उच्च तहमा प्रतिनिधित्व गर्दै नेपालका प्राथमिकताका क्षेत्रमा लगानीका लागि अनुकूल वातावरण निर्माणमा सहयोग गर्ने मैले विश्वास लिएको छु।”
नेपालमा निजी तथा वैदेशिक लगानी प्रवर्द्धनका लागि नीतिगत परिमार्जन गरेको उल्लेख गर्नुहुँदै दाहालले ढुक्क भएर नेपालमा लगानी गर्न आह्वान गर्नुभयो। उहाँले भन्नुभयो, “लगानीका लागि अब नेपालमा नयाँ हुन्छ, ढुक्क भएर लगानी गर्नुहोस्।”
भेटमा एआइआइबीका निर्देशक आरएमपी रथनायकेको नेतृत्वमा निर्देशक, उपाध्यक्ष एवं उच्च अधिकारीको सहभागिता रहेको थियो। सो अवसरमा प्रतिनिधिमण्डलका प्रमुख श्रीलङ्काका आरएमपी रथनायकेले नेपाल संस्थापक सदस्यका रुपमा बैंकले नेपाललाई प्राथमिकता राखेको र यहाँको विकासमा लगानी गर्न बैंक सकारात्मक रहेको बताउनुभयो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बाल विद्यार्थीको अभावमा बेनीका दुई विद्यालय बन्द
- पाँच हजार किसानलाई स्रोत किसानका रूपमा विकास गरिने
- अख्तियारमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी
- धुलिखेल-साँगा सडक खण्ड कालोपत्र सुरु
- आजका लागि निर्धारित विनिमय दर
- हुरीका कारण २० प्रतिशत केरा खेतीमा क्षति
- कतारमा युद्धविराम वार्ता: हमासले इजरायलसमक्ष राख्यो यस्तो प्रस्ताव
- नदी कटान रोकथाम गर्न सिंगा तातोपानीमा ‘कम्पोजिट’ पर्खाल
- सरकारी बजेट नभएपछि स्थानीय आफैँले बनाउन थाले पुल
- एक दशकपछि देख्न पाउँदा मुहारमा फिरेको खुसी
