नदी कटान र बाढी नियन्त्रण गर्न म्याग्दीको बेनी नगरपालिका-४ सिंगा तातोपानीमा ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा संघीय र प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट म्याग्दी नदी किनारको फरक फरक ठाउँमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना पोखरा र जलस्रोत, सिँचाइ तथा खानेपानी डिभिजन कार्यालयले पक्की पर्खाल निर्माण गरेका हुन् ।
गत फागुनदेखि सुरु भएको दुई वटै योजना बर्खा सुरु हुनुअघि नै सम्पन्न भएको तातोपानीका बासिन्दा दिनेश केसीले बताए । रु. एक करोड ५५ लाखमा ठेक्का सम्झौता गरेको साहाना–बिआरटी जेभी पर्वतले सरस्वती माविमुनि कम्पोजिट प्रविधिको पर्खाल निर्माण गरेको छ । यो योजनाका लागि रु. दुई करोड ७० लाख लागत अनुमान गरिएको थियो ।
म्याग्दी नदीको किनारमा कटान नियन्त्रणका लागि ६६ मिटर लामो, चार मिटर चौडाइ भएको तीन तीन मिटर अग्लो कङ्क्रिट र त्यसमाथि ग्याविन पर्खाल निर्माण भएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका इञ्जिनियर नरजङ गुरुङले बताए ।
बि.सं. २०७८ मा म्याग्दी नदीमा आएको बाढीले तातोपानीस्थित फापरखेत र मसारमा कटान गरेको थियो । मसारमा दुई वटा घर भत्किएका थिए । फापर खेतमा रहेको सरस्वती मावि, ज्वालामाई भगवती आमा समूहको भवन र मसारको १७ घर नदी कटानको जोखिममा छन् । करिब एक सय घरपरिवारको बसोबास रहेको उपल्लो तातोपानी बजार पनि म्याग्दी नदीको कटानको जोखिममा छ ।
यसअघि ग्यावियन पर्खाल निर्माण गरेर नदी नियन्त्रण गरिँदै आएकामा यसपालिदेखि पक्की पर्खाल निर्माण गर्न थालिएको वडाध्यक्ष अणबहादुर खड्काले बताए । प्राकृतिक उपचार स्थलका रूपमा परिचित सिंगा तातोपानी र बेनी बजारमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि चालु आवमा बहुवर्षीय स्रोत सुनिश्चित भएको रु. १० करोड बजेटको योजना कार्यान्वयनका लागि पनि ठेक्का प्रक्रियामा छ ।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका इञ्जिनियर गुरुङका अनुसार तातोपानीमा एक सय दुई मिटर र बेनीको दरवाङ बजार पछाडि एक सय ६५ मिटर कम्पोजिट पर्खाल निर्माण गर्न लागिएको हो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- जुनार खेतीबाट दोहोरो कमाइ, विदेशबाट फर्केका युवाको नयाँ बाटो
- त्रिविको आग्रह : समस्या वार्ता र संवादबाट समाधान गरौँ, हडताल-तोडफोड नगर्नू
- सहिद दिवसमा व्यास नगर अल्ट्रा म्याराथन
- शक्तिराष्ट्रहरूले विश्व सहयोगलाई कमजोर पार्दै : गुटेर्रेस
- आजबाट राष्ट्रिय सभाको अधिवेशन
- लोपोन्मुख पुर्ख्यौली संस्कृति जोगाउन, मालिका गाउँपालिकामा ऐतिहासिक प्रतियोगिता
- बागमती प्रदेश सरकारको बजेट कार्यान्वयन कमजोर
- आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया सुरु
- फागुन २१ निर्वाचन : तनहुँमा निर्वाचन प्रहरी भर्नामा कम चासो, समय थप
- मस्कको आफ्नै बच्चाकी आमाद्वारा एक्सएआई ग्रोक विरुद्ध मुद्दा दायर