राष्ट्रिय सूचना आयोगले मधेस प्रदेशका दुई स्थानीय सरकारका कार्यालय प्रमुखलाई कारबाही गर्ने चेतावनीसहित लिखित जवाफ माग गरेको छ ।
आयोगको माघ २९ मा बसेको इजलासले सूचनाको हक सम्बन्धी ऐन,२०६४ को दफा ३२ को उपदफा १ र २ बमोजिम किन कारबाही नगर्ने ? कारबाही गर्न नपर्ने कुनै कारण भए ७ दिनभित्र आयोग समक्ष जवाफ पेस गर्न धनुषाको कमला नगरपालिका र महोत्तरीको औरही नगरपालिकाको कार्यालय प्रमुखको नाममा आदेश जारी गरेको हो ।
संवैधानिक तथा कानुनी रूपमा नागरिकलाई प्राप्त अधिकारको बेवास्ता गरेको र सूचनाको कानुन पालना गर्न गराउन तत्पर नदेखिएको स्पष्ट भएको भन्दै आयोगको प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङका साथै आयुक्तद्वय कमला ओली थापा र रत्नप्रसाद मैनालीको इजलासले यस्तो आदेश गरेको हो।
सूचना माग्ने र पाउने संस्कृतिको विकासमा लागेका सूचनाको हकको अभियन्ता परशुराम साहले आफूलाई सूचनाको अधिकारबाट वञ्चित गरेको भन्दै ती कार्यालयका विरुद्धमा राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गरेका थिए । कमला नगरपालिका र औरही नगरपालिकालाई आयोगले निवेदकलाई सूचना उपलब्ध गराउन र सूचना दिनु नपर्ने कारण भए खुलाएर जवाफ पेस गर्न भनेको थियो । आयोगको आदेशलाई उक्त नगरपालिकाले बेवास्ता गरेपछि कारबाही किन नगर्ने भन्दै आयोगले आदेशसहित चेतावनी दिएको हो।
अभियन्ता साहले उक्त नगरपालिकासँग सफ्टवेयर खरिद तथा सवारी मर्मतमा भएको खर्च, पालिकाको गाडी र इन्धन सरकारी काममा प्रयोग र खर्च भएको पुस्ट्याइँ गर्ने प्रमाण लगायतका विषयमा सूचना माग गरेका थिए ।
साथै, यस अघि साहको पुनरावेदन माथि आयोगले सिराहाको सखुवानान्कारकट्टी गाउँपालिका, सर्लाही र बाराको शिक्षा विकास तथा समन्वय इकाईको नाममा पनि सोही आदेश जारी गरेको थियो।
साह सूचनाको हकको क्षेत्रमा विगत लामो समय देखि सकृय रहदैँ आएका छन् । मधेश प्रदेशका सार्वजनिक निकायमा हुने गरेका विभिन्न प्रकारका अनियमितताको बारेमा सूचना माग गर्दै उनले ती निकायहरूलाई जवाफदेही, पारदर्शी र उत्तरदायी बन्न दबाव दिदैँ आएका छन् । मधेशको सार्वजनिक निकायहरूमा सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न साहले सूचनाको हकको कानुनमार्फत माग गरेका सूचनालाई प्रकाशनमा ल्याएर दबाब बढाउँदै आएकाछन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- घुम्टोमा घण्टाघर: मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग
- के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?
- बेलायतमा नेपाली भजन महोत्सव
- उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
- रेसुंगा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- गौतमबद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न राष्ट्रपतिद्वारा आग्रह
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
