जापानको डिजिटल व्यापारमा बढ्यो घाटा 

जापानबाट एप्पल, अमेजन र माइक्रोसफ्ट जस्ता विदेशी प्रविधि कम्पनीहरूले हरेक साल अरबौँ डलर लागेको र यसबाट जापानको डिजिटल व्यापारमा घाटा बढ्दै गएको छ । तर जापानका लागि यो कुरा नकारात्मक भन्दा सकारात्मक हुन सक्ने  अध्ययनहरूले उल्लेख गरेका छन्।

मित्सुबिशी अनुसन्धान संस्थानका अनुसन्धानकर्ता केन्गो वाटाया भन्छन् – “धेरै कम्पनीहरू र व्यक्तिहरूले डिजिटल सेवाहरू प्रयोग गरिरहेका हुनाले डिजिटल घाटा धेरै बढेको हो । डिजिटलाइजेसनले गति लिएको छ र हामी विश्वास गर्छौँ कि यो जापानको लागि सकारात्मक कुरा हो” ।

गत वर्ष जापानमा डिजिटल सेवाहरूमा ५.५ ट्रिलियन येन (३४  बिलियन डलर) को घाटा देखिएको छ । ठुलो रकम क्लाउड सेवा, अपरेटिङ सिस्टम, इमेल सेवा, सामाजिक सञ्जाल र विदेशी कम्पनीहरूसँग इन्टरनेटमा आधारित अन्य सेवाहरूको लेनदेनमा खर्च गरिएको थियो ।

एक दशक अघिको तुलनामा यो रकम दोब्बर भन्दा बढी हो । एक सरकारी अधिकारीका अनुसार माथिको तथ्याङ्कमा वास्तवमा सरकारले डेटा सङ्कलन गर्ने तरिकाका कारण केही गैर डिजिटल सम्बन्धित खर्चहरू समावेश भएको छ ।

जापानी कम्पनीहरू सामान्यतया नयाँ टेक्नोलोजीहरू अपनाउन अनिच्छुक हुन्छन् । महामारीको समयमा उनीहरू यसको धेरै मात्रामा प्रयोगकर्ताहरू बन्न थाले किनकि महामारीले गर्दा आएको आवश्यकताले यी कम्पनीहरूलाई टाढा बसेर र विकेन्द्रित रूपमा काम गर्न बाध्य तुल्यायो ।

अनुसन्धानकर्ता केन्गो वाटाया डिजिटल घाटा “सकारात्मक र नकारात्मक दुवै पक्षहरूको विश्लेषण गरेर मात्र मूल्याङ्कन गर्नुपर्छ भन्ने तर्क गर्छन् ।

उनी भन्छन् – “घाटाले अर्थतन्त्रलाई नोक्सान नहोस् भन्ने कुरा सुनिश्चित गर्ने मुख्य कुरा भनेको मूल्य सृजना गर्न सेवाको प्रयोग गर्नु हो” । वाटायाले व्यवसायहरूलाई अझ प्रभावकारी बनाउन मात्र नभई भइरहेका उत्पादनहरूमा सुधार गर्न वा नयाँ लाभदायक व्यवसायहरू सिर्जना गर्न सक्षम भएमा घाटाले फरक पार्दैन भन्छन्।

परम्परागत रूपमा जापानी कम्पनीहरू कच्चा माल आयात गर्ने र जापानमा त्यसको प्रयोगबाट विदेशमा बेच्नको लागि माल र सामान निर्माण गर्ने गर्छन् । तसर्थ जापानले डिजिटल प्रविधिहरूको  क्षेत्रमा पनि त्यस्तै लक्ष्य राख्नुपर्छ भन्ने कुरामा अनुसन्धानकर्ता केन्गो वाटाया जोड दिन्छन् । क्लाउड सेवाहरू प्रयोग गरेर मात्र पुग्दैन । त्यसमा जापानले आविष्कार र नयाँ खोज पनि गर्नुपर्छ ।

वाटाया भन्छन् – “ डिजिटल घाटा बढ्दै जाँदा जापानी कम्पनीहरूले बढेको खर्चको भार लिन सक्ने नाफा बढाएसम्म यो समस्या हुनेछैन” ।

मेइजी यासुदा रिसर्च इन्स्टिच्युटका प्रमुख अर्थशास्त्री युइची कोडामा यसै कुराको प्रतिध्वनि गर्छन् ।

अर्थशास्त्री युइची कोडामा रिपोर्टमा लेख्छन् – “विदेशी प्रविधि दिग्गजहरूले प्लेटफर्महरू मात्र उपलब्ध गराउँदै छन् । जापानी कम्पनीहरूले प्रभावकारी रूपमा यसको प्रयोगबाट नयाँ मूल्य सिर्जना गर्न प्रयोग गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरा नै मुख्य मुद्दा हो । जापानी कम्पनीहरू अझ धेरै सक्षम हुनुपर्दछ” ।

जापानको डिजिटल घाटा देशको त्रैमासिक प्रतिवेदनमा प्रस्ट रूपमा देखिन थालेको छ । विशेष गरी यो सङ्ख्या यति ठुलो भएको छ कि देशको अन्तर्राष्ट्रिय व्यापारहरूको क्षेत्र हेर्दा यसले उल्लेखनीय भाग ओगटेको छ ।

जापानी कम्पनीहरूले डिजिटल प्रविधिको पूर्ण फाइदा लिन नसकेमा पुँजी निकासी बढ्ने हुँदा डिजिटल घाटा बढ्ने समस्या हुन सक्छ । केही विश्लेषकहरू अन्तर्राष्ट्रिय प्राविधिक सेवा प्रदायकहरूमा जाने पैसाको बाढीका कारण जापानी येन मुद्रा आंशिक रूपमा कमजोर भएको तर्क गर्छन् ।

मार्चमा प्रकाशित निक्को एसेट म्यानेजमेन्टको प्रतिवेदनका अनुसार जापानको डिजिटलाइजेसन प्रयासहरू र डिजिटल घाटामा निरन्तर वृद्धि संरचनात्मक छन् । त्यसैले यसले येन मुद्राको नाफालाई निरन्तरता दिने विश्वास गर्न सकिन्छ भनेर प्रतिवेदनमा उल्लेख छ ।

क्लाउडमा विदेशी फर्महरूको प्रभुत्वको अर्थ जापानले महत्त्वपूर्ण पूर्वाधारमा केही नियन्त्रण गुमाउन सक्छ भन्ने यो राष्ट्रिय सुरक्षाको चिन्ताको विषय पनि हो ।

अझ व्यापक स्तरमा हेर्दा डिजिटल घाटाले जापानी प्रविधि विश्व स्तरमा कति पछाडि परेको छ भन्ने कुरामा प्रकाश पार्छ ।

एक दशक भन्दा अघि केही जापानी कम्पनीहरूले उन्नत क्षेत्रहरूमा आफ्नो राम्रो उपस्थिति कायम राखेका थिए । एनटीटी कम्युनिकेसन २०११ मा स्वदेशी क्लाउड बजारमा अग्रणी थियो । साथै अन्य जापानी कम्पनीहरू पनि शीर्ष पाँच स्थानमा थिए ।

तर ठुला विदेशी प्राविधिक कम्पनीहरूले हालका वर्षहरूमा जापानी बजारमा प्रभुत्व जमाउँदै आएका छन् । अहिले अमेजनको वेब सेवाहरू जापानमा पहिलो स्थानमा छन् ।

अनुसन्धानकर्ता केन्गो वाटाया भन्छन् – ” वास्तवमा घरेलु कम्पनीहरूले प्रतिस्पर्धी उत्पादन र सेवाहरू बनाउन नै सकेका छैनन् । त्यसैले डिजिटल घाटा बढ्दै गएको छ” ।

यसतर्फ जापान सरकारले ध्यान दिएको छ । गत महिना एकीकृत गरिएको डिजिटल रणनीतिमा यो मुद्दा उल्लेख गरिएको थियो ।

गत महिना एक पत्रकार सम्मेलनमा जापानका डिजिटल मन्त्री तारो कोनोले भने – “जापानी कम्पनीहरूको प्रतिस्पर्धात्मकता जापानीहरूले आफ्नो दैनिक जीवनमा प्रयोग गर्ने प्रणाली र एपहरू कति मात्रामा स्वदेशी हुन् भनेर जाँच गरेर मापन गर्न सकिन्छ” ।

जापानका नयाँ वा भइरहेका घरेलु कम्पनीहरूले आगामी वर्षहरूमा अमेरिकी प्रविधि कम्पनीहरूसँग पर्याप्त प्रतिस्पर्धी हुने सम्भावना कम भएकोले  डिजिटल घाटा अझ फराकिलो हुने सम्भावना रहेको अनुसन्धानकर्ता केन्गो वाटाया भन्छन् ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link