पाल्पा दरबार सङ्ग्रहालय पुनर्निर्माण अन्तिम चरणमा

ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालयको केही संरचनाको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । दरबारलाई थप पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले पुराना जीर्ण संरचनाको पुनर्निर्माण थालिएको थियो ।

लुम्बिनी प्रदेश सरकार, पुरातत्व विभाग र  तानसेन नगरपालिकाको सहकार्यमा दरबार क्षेत्र परिसरमा ढुङ्गा छाप्ने, पर्खाल बनाउने र जीर्ण भएको मूलढोका पुनर्निर्माण जारी छ ।

दरबारको सुरक्षार्थ बनाइएको पर्खाल र यसभित्रको संरचनामा ढुङ्गा बिछ्‌याउने काम यस आर्थिक वर्षभित्रै सक्नेगरी धमाधम भइरहेको छ । पुनर्निर्माणका लागि तानसेन नगरपालिकाले चालु आर्थिक वर्षमा ४१ लाख र लुम्बिनी प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरेका थिए ।  यसैगरी मूलढोका पुनर्निर्माण गर्ने काममा पुरातत्व विभागले ८१ लाख ९५ हजार विनियोजन गरेको जनाइएको छ ।

राणाकालीन समयमा बनेको मूलढोका जीर्ण बनेपछि यसलाई पुरानै स्वरुपमा नबिग्रने गरी बनाउन थालिएको तानसेन नगरपालिकाका उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले जानकारी दिइन् ।

पाल्पाको पहिचानका रूपमा रहेको दरबारको ऐतिहासिक स्वरुप नबिग्रने गरी पुनर्निर्माण सम्पन्न गरेर आन्तरिक मात्र नभई बाह्य पर्यटक भित्र्याउने गरी संरचना तयार पारी पर्यटकीय केन्द्रका रूपमा विकास गर्नुपर्ने स्थानीय सन्तवीर बरालले बताए ।

तत्कालीन द्वन्द्वका समयमा पूरै ध्वस्त बनेको दरबारलाई पुरानै शैलीमा पुनर्निर्माण गरी सङ्ग्रहालय बनाइएको छ । अहिले सो दरबारलाई थप सुन्दर र आकर्षक बनाउन विभिन्न कार्य भइरहेका छन् ।

दरबारलाई सङ्ग्रहालयका रूपमा स्थापित गरिएपछि यहाँ अवलोकन गर्न पर्यटक आउने गर्दछन् । पाल्पाको सदरमुकाम तानसेनमा रहेको दरबार जिल्लाको चिनारीका रूपमा रहेको छ ।

इतिहासकारका अनुसार तत्कालीन प्रधानमन्त्री जङ्गबहादुरका भाइ बद्रीनाथ सिंहले विसं १९३० ताका मूलढोका निर्माण गरेका थिए । सोही बेला बनेको मूलढोका पर्खाल र दरबार परिसरलाई थप आकर्षक बनाउन पुनर्निर्माण गरिएको हो ।

तत्कालीन समयमा दरबारलाई सुरक्षाका दृष्टिले पर्खाल बनाइएको बताइएको छ । ऐतिहासिक दरबार परिसरलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न गत वर्ष यहाँ रहेका ५७  घर तथा टहरा भत्काइएको थियो ।

पुनर्निर्माण भइरहेका संरचना बनाउने काम पूरा भएपछि तानसेन सहर थप आकर्षणको केन्द्र बन्नेछ । पुरानो सहरका रूपमा परिचित पाल्पाको तानसेन सहरमा ऐतिहासिक, धार्मिक सम्पदा प्रशस्त छन् ।

पुराना संरचना तथा सम्पदालाई संरक्षण गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्ने र  यहाँको आयस्रोतमा टेवा पुग्ने स्थानीय बताउँछन् ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link