विगतका वर्षका तुलनामा यस वर्ष तनहुँका ग्रामीण भेगहरुमा पिङ हाल्ने क्रम बढेको छ । दसैँका बेला भुइँ छाड्नुपर्छ भन्ने मान्यता रहँदै आएको छ । सोही बमोजिम जिल्लाका विभिन्न ठाउँमा युवा क्लवहरुले लिङ्गे तथा रोटे पिङ हालेर संस्कृति संरक्षणमा जुटेका छन् ।
भानु नगरपालिका–१३ सम्जुरमा युवाहरुले छ पिर्के रोटे पिङ बनाएका छन् । पछिल्लो पुस्ताको वेवास्ता र बढ्दो युवा पलायनका कारण गाउँमा पिङ देख्नै मुस्किल भएपछि आफूहरुले रोटे पिङ बनाएको सम्जुरका युवा अर्जुन बानियाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा दसैँ सुरु हुनुभन्दा गाउँमा पिङ बनाइन्थ्यो, पिङ खेल्दै रमाइलो हुन्थ्यो । तर आजभोलि समय त्यस्तो छैन । गाउँमा युवा नै पाउन छाडियो ।”
वैदेशिक रोजगारीका लागि युवा विदेशिने क्रम बढेपछि गाउँमा पिङ देख्नै छाडिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पिङको संस्कृति संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यका साथ हामी गाउँमा भएका युवा मिलेर पिङ हालेका छौ ।”
यस्तै व्यास नगरपालिका–१२ कमलाबारीमा अकला युवा क्लवले लिङ्गे पिङ बनाएको छ । दसैँमा पिङ हाल्ने संस्कृतिको संरक्षणका लागि युवाहरु मिलेर पिङ हालेको क्लवका तारा पन्थले बताउनुभयो । उहाँले भन्नुभयो, “पिङ हालेको देखेपछि दसैँ आयो भन्ने अनुभूति हुन्छ । वर्षमा एकदिन धर्ती छाड्नुपर्छ भन्ने मान्यता रहँदै आएको बताइन्छ । गाउँघरमा हवाइजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाइजहाज चढ्न नसक्नेहरुले वर्षमा एकपटक भएपनि दसैँमा टीका लगाएपछि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने चलन रहँदै आएको छ ।”
म्याग्दे गाउँपालिका–१ गुणादीमा फ्रेण्डसीप युवा क्लव, व्यास नगरपालिका–१० बैरेनी, शुक्लागण्डकी नगरपालिका–११ थामडाँडा, व्यास नगरपालिका–३ दमौलीमा पनि रोटे तथा लिङ्गे पिङ हालिएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- इजरायली आक्रमणमा हमासका प्रमुख सिनवार मारिए, रोकिएला युद्ध ?
- बाढीपहिरो क्षतिः काभ्रेका छजना अझै बेपत्ता, ७८ को मृत्यु
- नेपालको मिडिया परिदृश्य ‘कठिन समय’ को सामना गर्दै
- नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोटमा १४० भन्दा बढीको मृत्यु
- माटोका भाँडा बेचेर मासिक ८० हजारसम्म कमाउँछन् पण्डित
- सहकारीमार्फत दूधको बजारीकरण भएपछि किसान उत्साहित
- कोशी प्रदेशमा ३४ करोड मूल्य बराबरको अन्नबालीमा क्षति
- जो सिलौटो बेचेर मासिक ४० हजार कमाउँछन्…
- गलकोट दरबार
- उत्तरगया धाम