फल लाग्ने अवस्थाको ड्रागन फ्रुटको बोट र त्यससँगै रोपिएको सयपत्रीको फूलले बारी पहेँलपुर छ । मन्थली नगरपालिका–५ सुनारपानीका रामबहादुर शाहीले बनमाराले भरिएको जग्गामा खनजोत गरी सुरु गरेको ड्रागन फ्रुट र सयपत्री फूलको खेती हेर्न त्यहाँ पुग्ने जो कोही पनि लोभिन्छन् ।
पाँच रोपनीमध्ये तीन रोपनीमा उहाँले ड्रागन फ्रुट मात्रै लगाउनुभएको छ भने बाँकी दुई रोपनीमा ड्रागन फ्रुटसँगै सयपत्रीको पनि खेती गरिरहनुभएको छ । तिहार सुरु हुने समयमा झपक्कै फूलेका सयपत्रीले त्यहाँको दृश्य मनमोहक बनाइदिएको छ ।
लामो समयदेखि बनमारा मात्रै उम्रिएको जग्गामा दुई वर्षअघि शाहीले ड्रागन फ्रुट लगाउने निर्णय गर्नुभएको थियो । सुरुमा तीन सय बोट ड्रागन फ्रुट रोप्नु भएका उहाँले त्यससँगै सयपत्री फूल पनि रोप्नु भएको थियो । एउटै जग्गाबाट अहिले उहाँले दोहोरो लाभ लिनुभएको छ । उहाँले सयपत्री बाहेक विभिन्न प्रजातिका विरुवाहरु उत्पादन गर्न नर्सरीको समेत व्यवस्था गरेको सुनाउनुभयो ।
उहाले भन्नुभयो, “लामो समयदेखि काठमाडौँमा फूलको नर्सरी सञ्चालन गरेको थिए, त्यही अनुभवका आधारमा यहाँ पनि फूल र विभिन्न विरुवाको नर्सरी सुरु गरेको हुँ ।” आफ्नै गाउँमा केही गरौँ र स्थानीय किसानलाई सहयोग गर्नुपर्छ भन्ने सोचले आफूले यहाँ खेती सुरु गरेको उहाँको भनाइ छ ।
शाहीलाई नगरपालिकाबाट पनि सहयोग प्राप्त भइसकेको छ । फूल खेतीका लागि नगरपालिकाले रु एक लाख अनुदान उपलब्ध गराएको नगर कार्यपालिकाका सदस्य एवं वडा नं ५ का अध्यक्ष रबिन कार्कीले जानकारी दिनुभयो ।
साथै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाद्वारा मन्थलीमा सञ्चालित जुनार जोन कार्यक्रममार्फत कागतीका विरुवा उत्पादनका लागि रु पाँच लाख अनुदान लिनुभएको परियोजनाका कार्यालय प्रमुख थिरलाल गैरेले बताउनुभयो ।
आफ्नो कम्पनी भदौरे कालिका कृषि तथा पशु पंक्षी फार्मले परियोजनामार्फत अनुदान प्राप्त गरेको र यसले काम गर्न हौसला मिलेको शाहीको भनाइ छ । उहाँले भन्नुभयो, “मेहनत गर्ने हो भने स्वदेशमै केही गर्न सकिन्छ, सरकारले पनि सहयोग गर्छ, यसबाट कृषि क्षेत्रमै धेरै काम गर्न सकिन्छ भन्ने विश्वास जागेको छ ।”
उहाँले उत्पादन गर्नुभएको सयपत्री फूल सदरमुकाम मन्थलीदेखि दोलाखा, सिन्धुलीदेखि काठमाडौँसम्म जाने गरेको छ । उहाँले ड्रागन फ्रुट प्रतिकिलो रु तीन सय ५० र सयपत्री फूल प्रतिकेजी रु दुई सय ५० मा बिक्री सुरु गर्नुभएको छ । यस वर्षको तिहारमा उहाँले सयपत्री बिक्रीबाट रु तीनदेखि पाँच लाखसम्म आम्दानी गर्ने योजना बनाउनुभएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- चीनको सिमानामा पर्ने मनाङको फू गाउँमा सशस्त्रको ‘बिओपी’
- न्युयोर्कमा हेलिकप्टर दुर्घटना हुँदा ६ जना मृत्यु
- ट्रम्पको कडा करप्रति चीनको प्रतिक्रिया- ‘हामी चुप लागेर बस्दैनौं’
- मुक्तिनाथ गुठीको १७ हजार रोपनी जग्गा भोगचलन गर्नेको पोल्टामा
- पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग
- महाकालीमा बाँध निर्माण नहुँदा जोखिममा बस्ती
- आजबाट च्याम्पियन्स लिगको क्वार्टरफाइनल चरण, रोचक भिडन्त
- ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै
- विद्युतीय धरापमा परेर बालिकाको मृत्यु, आरोपीले बोरामा हालेर गाडेका थिए शव
- ‘खानेपानीको सुविधा भयो, गाउँ छाडेर जान मन लाएको छैन’
