देवानगञ्ज गाउँपालिका–३ का अजय मण्डलले तीन कठ्ठामा बन्दागोभी लगाउनुभएको छ । मजदुरको अभाव, समयमा मलखाद नपाउनु, वर्षासँगै आएको बाढीको समस्याका बाबजुद उहाँले रु ५० हजारको लागतमा तरकारीखेती गर्नुभयो । तर मण्डललाई उचित मूल्य पाउन भने समस्या भएको छ ।
भारतमा उत्पादित तरकारी नेपाली बजारमा सस्तोमा बिक्री हुने गरेका कारण स्थानीय किसानले तरकारीको उचित मूल्य पाउन सकेका छैनन् । नेपालमा उत्पादन लागत बढी लाग्ने गरेका कारण तरकारीको मूल्य भारतीय तरकारीभन्दा महँगो पर्छ । भारतमा सस्तोमा बीउ तथा मलखाद पाउने भएकाले उत्पादन लागत कम हुँदा त्यहाँबाट आउने तरकारी सस्तोमा बिक्री हुने गरेको स्थानीय किसान गुलाबचन मेहताले बताउनुभयो ।
“नेपालमा मलखाद, बीउबिजनदेखि सिँचाइसम्म महँगो पर्ने भएकाले भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्न सकिएको छैन”, उहाँले भन्नुभयो ।
इनरुवा–४ का रामदेव मेहताले दैनिकरूपमा भारतबाट आउने तरकारीका कारण स्थानीय उत्पादन बिक्री गर्न समस्या हुने गरेको बताउनुहुन्छ । तरकारी खेती गर्न भारतमा भन्दा नेपालमा महँगो पर्ने भएकाले भारतीय किसानसँग प्रतिस्पर्धा गर्न समस्या भएको स्थानीय किसान बताउँछन् ।
अहिले भारतबाट आउने बन्दागोभी प्रतिकिलो रु २० देखि रु ३० सम्ममा बिक्री हुने गरेको छ । नेपाली किसानलाई सोही मूल्यमा बिक्री गर्नुपर्दा लगानी असुल नहुने स्थानीय किसान चन्दन मेहताले बताउनुभयो । देवानगञ्ज बजारमा भारतबाट भित्रिने तरकारीको मात्रा बढेसँगै यहाँका किसानले उत्पादन गरेको तरकारीको मूल्यमा गिरावट आएको छ ।
भारतबाट सस्तो मूल्यमा आलु, प्याज, गोलभेँडा, काउली, बोडी, भण्टा र सागपात बजारमा भित्रिएपछि स्थानीय उत्पादन बिक्री गर्न समस्या भएको किसानले बताएका छन् । उत्पादन गरेको तरकारीले मूल्य नपाउँदा किसानको लगानी डुब्नुका साथै तरकारीखेतीलाई निरन्तरता दिन समस्या भएको किसान बताउँछन् । भारतबाट आउने तरकारीमा कडाइ गर्न तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न स्थानीय तहसँग किसानले माग गरेका छन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- घुम्टोमा घण्टाघर: मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग
- के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?
- बेलायतमा नेपाली भजन महोत्सव
- उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
- रेसुंगा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- गौतमबद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न राष्ट्रपतिद्वारा आग्रह
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
