राराको मुर्माटपमा सोमबारदेखि कर्णाली प्रदेशको पहिलो चारतारे रिसोर्ट निर्माण सुरु भएको छ । एनआरएन अस्ट्रेलियाको लगानीमा प्रदेशकै पहिलो चारतारे सुविधा सम्पन्न रिसोर्ट निर्माण गर्न सोमबार हिन्दू धर्मअनुसार भूमि पूजा गरिएको हो ।
प्रदेशमा तीनतारेसम्मका होटल यसअघि सञ्चालनमा आए पनि चारतारे पहिलोपटक निर्माण गर्न लागिएको रारा होल्डिङ रिसोर्ट प्रालीका परियोजन प्रबन्धक अरुण चन्दले बताउनुभयो ।
गत वर्ष काठमाडौँमा सरकारले आयोजना गरेको तेर्सो लगानी सम्मेलनमा अष्ट्रेलियामा रहेका नेपाली एनआरएन अभिषेक विक्रम शाहसहितको टोलीले ‘ड्रिम प्रोजेक्ट’का रूपमा रारामा चारतारे रिसोर्ट निर्माण गर्ने प्रतिबद्धता जनाएको थियो । सोही प्रतिबद्धचा अनुसार सङ्घीय सरकारसँग रारा होल्डिङ रिसोर्ट प्रालीले १८ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको उहाँले जानकारी दिनुभयो ।
कूल ७३ रोपनी क्षेत्रफलमा निर्माण हुने उक्त रिसोर्टको पहिलो चरणमा रु एक अर्बको लागतमा निर्माण हुने चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा ३६ र दोस्रो चरणमा १९ वटा सुविधा सम्पन्न कोठाका ९८ श्यया निर्माण हुनेछन् ।
दैनिक एक सय आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा दिनेगरी यो रिसोर्टको भूमि पूजा गरी निर्माण सुरु गरिएको हो । रिसोर्टको औपचारिक रूपमा यही माघ ३० गते पर्यटन वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले शिलान्यास गर्ने कार्यक्रम रहेको रारा होल्डिङ रिसोर्ट प्रालीले जनाएको छ ।
यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकहरूले रारा क्षेत्रमा सुविधा सम्पन्न होटल नभएका कारण दुखेसो पोख्दै आएका बेला सिञ्जा भ्याली, रारा, छायाँनाथ र खप्तडलाई जोड्दै कर्णालीका धार्मिक क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रिसोर्ट निर्माण गर्न लागिएको परियोजन प्रबन्धक चन्दले जानकारी दिनुभयो ।
समुन्द्री सतहबाट तीन हजार पाँच सय मिटर उचाइमा निर्माण हुने उक्त रिसोर्टको आगामी चैतदेखि पूर्वाधार निर्माण सुरु गरिनेछ । निर्माणपश्चात् रिसोर्ट सञ्चालनमा आएपछि प्रत्यक्ष एक सय २० जनाले रोजगारी पाउनुका साथै एक हजार बढीलाई अप्रत्यक्ष रूपमा रोजगारीका अवसर सृजना हुने रिसोर्टका प्रतिनिधि प्रेम शाहीले बताउनुभयो । उहाँका अनुसार यो परियोजनाले विशेषगरी भारतीय नागरिकलाई धार्मिक पर्यटकका रूपमा भित्र्याउने लक्ष्य राखेको छ ।
स्थानीय समुदायका पुराना घरशैलीका ५५ कोठामा ९८ श्यया निर्माण हुने यो रिसोर्टमा एक सयको क्षमता भएको सेमिनार हल, प्रत्येक कोठाका झ्यालबाट रारा र हिमाली शृङ्खलाको दृयावलोकन गर्न सकिने र रिसोर्टबाट आधा घण्टामाथि रहेको मुर्माटप पुगेपछि सात जिल्लाको भूभाग अवलोकन गर्न सकिने प्रबन्धक चन्दले उल्लेख गर्नुभयो । यहाँ आउने पर्यटक सबैले रारामा गाँस र बासका लागि राम्रो व्यवस्था नभएको भन्दै गुनासो राखेर जाने गरेकाले रिसोर्ट निर्माण थालिएको उहाँको भनाइ छ ।
केही वर्षयता रारा क्षेत्रकामाझ घट्ट, सल्लेरीमा एक दर्जनभन्दा बढी होटल सञ्चालनमा छन् तर सिजनमा यी होटलले पर्यटकलाई सेवा दिन समस्या हुँदै आएको छ । कर्णाली प्रदेशमा पहिलो पटक चारतारे रिसोर्ट मुर्माटपमा निर्माण हुने भएपछि रारामा आउने पर्यटकलाई बस्न र खान कुनै समस्या नहुने छाँयानाथ रारा नगरपालिका–८ का होटल व्यवसायी बिर्ख रोकायाले बताउनुभयो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो
- आगामी तीन दिन काठमाडौँ उपत्यकामा वर्षा नहुने
- त्रिशूली नदीमा पुल नबन्दा सास्ती
- अफ्रिकाका करिब दुई करोड ७५ लाख मानिस विस्थापित
- क्यान्सर रोकथामका लागि दक्षिण–पूर्वी एशिया क्षेत्रीय रणनीति सुरु
- पाथीभरामा केवलकार निर्माण विवाद समाधान गर्न वार्ता टोली गठन
- मुलुकको कूल व्यापार घाटा रु सात खर्ब २३ अर्ब
- माघ शुक्ल पञ्चमी : वसन्त श्रवण, सरस्वती पूजा
- ट्रम्पको महसुल वृद्धिले अमेरिकामा पनि सामान महँगिँदै
- किन हराउँदै छ ढिकीजाँतोको प्रचलन ?