इरानले अत्यधिक समृद्ध युरेनियमको भण्डारण उल्लेखनीय रूपमा बढायो : आइएइए

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) को गोप्य प्रतिवेदनअनुसार हालैका महिनाहरूमा इरानले अत्यधिक समृद्ध युरेनियमको भण्डारमा उल्लेखनीय वृद्धि गरेको छ ।

प्रतिबन्ध राहतको बदलामा तेहरानको आणविक कार्यक्रमलाई रोक्ने सन् २०१५ को सम्झौता भङ्ग भएपछि इरान र संयुक्त राष्ट्र आणविक वाचडग आइएइएबीच तनावहरू पटक–पटक बढेका छन् ।

आइएइएले आफ्नो त्रैमासिक प्रतिवेदनमा यो ‘गम्भीर चिन्ताको विषय’ हो भन्दै इरानसँग ८ फेब्रुअरीसम्म ६० प्रतिशतसम्म समृद्ध २७४.८ किलोग्राम अनुमानित मात्रा रहेको र यो नोभेम्बरको अघिल्लो प्रतिवेदन पछि ९२.५ किलोग्रामले बढेको बताएको छ ।

यो तेहरानले डिसेम्बरमा ६० प्रतिशतसम्म अत्यधिक समृद्ध युरेनियमको उत्पादन बढाउने योजना घोषणा गरेपछि आएको हो । यो आणविक हतियारहरूका लागि आवश्यक ९० प्रतिशत स्तरबाट छोटो कदम हो ।

आइएइएका अनुसार तेहरान ६० प्रतिशत युरेनियम संवर्धन गर्ने एक मात्र गैर–आणविक हतियार भएको देश हो । इरानले सधैँ आणविक हतियार खोज्ने कुरा अस्वीकार गर्दै आएको छ ।

“यस्तो आणविक सामग्री उत्पादन गर्ने एक मात्र गैर–आणविक हतियार राष्ट्र इरानले उच्च समृद्ध युरेनियमको उत्पादन र सञ्चयमा उल्लेखनीय वृद्धि गर्नु गम्भीर चिन्ताको विषय हो”, प्रतिवेदनमा भनिएको छ ।

यो आइएइए बोर्ड अफ गभर्नरको बैठकको पूर्वसन्ध्यामा आएको छ ।

डोनाल्ड ट्रम्पले राष्ट्रपतिका रूपमा आफ्नो पहिलो कार्यकालमा संयुक्त राज्य अमेरिकालाई तेहरानसँगको सन् २०१५ को ऐतिहासिक सम्झौताबाट एकतर्फी रूपमा हटाउनुभएको थियो । सम्झौताले इरानको आणविक कार्यक्रममाथि सीमाहरूको बदलामा प्रतिबन्ध राहत प्रदान गरेको थियो ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link