बाँकेको कोहलपुरमा अति विपन्न समुदायका लागि रु ४० लाखको लागतमा नमूना बस्ती निर्माण सुरु भएको छ ।
नगरपालिका–१४ हवल्दारपुरमा रहेका चिडिमार तथा खटिक परिवारका लागि बस्ती निर्माण थालिएको हो । नगरपालिकाको पहलमा छिमेक सेवा समाजले अति विपन्न चिडिमार तथा खटिक समुदायलाई घर बनाइदिने भएपछि वर्षौंदेखि छाप्रोमा सकसपूर्ण जीवन बिताइरहेका उनीहरु पक्की घरमा बस्न पाउने छन् ।
नमूना बस्ती निर्माण कार्यक्रमअन्तर्गत पहिलो चरणमा आठ घर निर्माण थालिएको कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले बताउनुभयो । विपन्न परिवारको जीवनस्तर माथि उठाउने स्थानीय सरकारको कर्तव्य भएकाले नमूना बस्ती निर्माण सुरु गरिएको उहाँले बताउनुभयो ।
समाजले अन्य ठाउँमा पनि विपन्न समुदायका लागि नमूना बस्ती निर्माण कार्यक्रमअन्तर्गत आवास बनाउने भएको छ । हवल्दारपुरमा करिब ३० परिवार चिडिमार र खटिक समुदायको बसोबास रहेको कोहलपुर–१४ का वडाध्यक्ष नमबहादुर आलेले बताउनुभयो । उहाँले आठ वटा घरका लागि रु ४० लाख लागत रहेको र शौचालय, पानी र बाटोका लागि स्थानीय सरकारले सहयोग गर्ने जानकारी दिनुभयो ।
सामाजिक अभियन्ता एलबी कार्कीले आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्नेगरी निर्माण सुरु गरिएको बताउनुभयो । संस्थाले दुईकोठे पक्की घर बनाइदिनेछ । वर्षौंदेखि झुप्रोमा बस्दै आएका उनीहरु पक्की घर पाउने भएपछि खुसी छन् । गर्मीयाममा जसोतसो दिनरात कटे पनि वर्षायाम र चिसोयाममा सकसपूर्ण अवस्था व्यहोर्नु परेको मोलहे खटिकले दुखेसो सुनाउनुभयो ।
पहिलो चरणमा मोलहे खटिक, जोखन खटिक, मनोहर चिडिमार, राधे चिडिमार, ओम प्रकाश चिडिमार, माताप्रसाद कुर्मीलगायत विपन्नका घर निर्माण हुनेछन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
- महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
- भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड
- कञ्चनपुर-कमला सडक विस्तार: लहानमा ‘ओभरपास’ निर्माण थालियो
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु, तनाव चुलियो
- राष्ट्रिय सूचना आयोगको १८औँ स्थापना दिवसमा प्रधान सम्पादक दाहाल सम्मानित
- बालीनालीमा छरेको विषादीले मौरी सखाप
