ब्रसेल्समा आयोजना हुने अन्तर्राष्ट्रिय सहायता सम्मेलन अघि टर्कीले आइतबार युरोपेली सङ्घ (इयु) लाई सिरियामाथिको प्रतिबन्ध बिना कुनै शर्त हटाउन आह्वान गरेको छ । सम्मेलनमा युद्धग्रस्त देश सिरियाका नयाँ अधिकारीहरूलाई निमन्त्रणा गरिएको छ ।
टर्कीको विदेश मन्त्रालयले एक विज्ञप्तिमा राष्ट्रपति बशर अल–असदलाई अपदस्थ गरी डिसेम्बरमा सत्ता सम्हालेका सिरियाका नयाँ शासकहरूसँग गठबन्धन गरेर अङ्काराले देशमा ‘शान्तिपूर्ण सङ्क्रमण’ का लागि यस्तो कदम आवश्यक ठानेको बताएको छ ।
इयुले सोमबार सिरियाको समर्थनमा नवौँ अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्नेछ । पहिलो पटक सिरियाको सरकारका प्रतिनिधिहरू–नयाँ अन्तरिम अधिकारीहरूलाई–उपस्थित हुन आमन्त्रित गरिएको छ ।
यस कार्यक्रमको उद्देश्य १३ वर्षभन्दा बढी गृहयुद्धपछि सिरियाको सङ्क्रमण र पुनरुत्थानका लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउनु हो ।
सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–सारालाई केही चुनौतीबाट राहत दिन इयुले फेब्रुअरी २४ मा नै सिरियाको ऊर्जा, यातायात र बैंकिङ क्षेत्रमा प्रतिबन्धहरू खुकुलो पारेको थियो ।
तर युरोप र अन्य शक्तिहरू डिसेम्बर ८ मा असदलाई अपदस्थ गर्ने अप्रत्याशित आक्रमणको नेतृत्व गर्ने साराको इस्लामवादी समूह हयात ताहरिर अल–शाम (एचटिएस) ले सिरियालाई कुन दिशामा लिन सक्छ भन्ने कुरामा सावधान छन् ।
साराका अधिकारीहरूले देशलाई स्थिर बनाउन र समावेशी भविष्यको सुरुआत गर्न सक्ने आशा भए पनि असद सम्बन्धित अलावी अल्पसङ्ख्यकलाई लक्षित गरेको हालैको घातक हिंसाले शङ्का कायम राखेको छ ।
इयुका विदेशमन्त्रीहरूले सिरियाका नयाँ नेताहरूले अल्पसङ्ख्यकहरूको अधिकारको सम्मान गर्ने र लोकतन्त्रतर्फ अघि बढ्ने वाचा भङ्ग गरेमा उनीहरूले कम गरेका प्रतिबन्धहरू पुनः लागु गर्नसक्ने चेतावनी दिएका छन् ।
“सिरियाको आर्थिक सुरक्षा देशको स्थिरता र सुरक्षाका लागि आवश्यक छ”, टर्कीको मन्त्रालयले भन्यो, “आर्थिक अवसर र रोजगारी सिर्जना गर्न आवश्यक छ, प्रतिबन्धहरू बिना शर्त र अनिश्चित अवधिका लागि हटाउनुपर्छ ।”
करिब ३० लाख सिरियाली शरणार्थीलाई आश्रय दिने टर्कीले पनि ‘फिर्तीलाई प्रोत्साहित गर्न’ सिरियाको पुनर्निर्माण गर्न आग्रह गरेको छ ।
टर्कीका उपविदेशमन्त्री नुह यिलमाजले ब्रसेल्स सम्मेलनमा भाग लिनुहनेछ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी
- आज ज्येष्ठ शुक्ल एकादशी: तुलसीको दल राखिँदै
- अमेरिकाले नेपालीका लागि अस्थायी संरक्षण खारेज गर्दै
- प्रतिक्रिया स्वरूप रुसको युक्रेनमाथि आक्रमण
- नयाँ स्वरूपमा फिफा क्लब विश्वकप २०२५
- ट्रम्पद्वारा १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध
- इजरायल -प्यालेस्टाइन गाजा युद्धमा २०० पत्रकार तथा संचारकर्मीको मृत्यु
- बेंगलोरमा ट्रफी परेडका क्रममा भएको भगदौडमा ११ को मृत्यु र ३३ घाइते
- आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड : नेपाल बंगलादेश व्यापार
- सुडानमा चलिरहेको युद्धले चार लाखभन्दा बढी नागरिक विस्थापित
