मेयर पदका उमेदवारको पहिलो प्राथमिकता विराटनगरको डुबान हटाउने

विराटनगर महानगरपालिकाको प्रमुख समस्या भनेको डुबान हो। वर्षायाममा विराटनगरका मुख्य सडकसहित घर, बस्ती डुब्ने गरेका छन्। पछिल्लो समय महानगरले ढल निकास व्यवस्थापन गर्न ठुलै लगानी गरेको भए पनि दक्षिणी क्षेत्रमा बनेको रेल–वेले पानीको निकासमा अवरोध पुर्‍याएको हुँदा डुबान समस्या यथावत हुने गरेको छ।
आगामी ३० गते हुने निर्वाचनका लागि मेयरको उमेदवार बनेका महानगरका नेताहरूले विराटनगरको प्रमुख समस्या डुबान भएकाले त्यसको सही समाधान गर्ने बाचा गर्दै भोट माग्ने गरेका छन्। उनीहरूका अरु योजना भनेका देशभरका जनप्रतिनिधिले गर्ने शिक्षा, स्वास्थ्य, रोजगार, पानी, कृषि जस्ता साझा छन्।
नेकपा एमालेबाट मेयरको उमेदवार रहेका सागर थापा भन्नुहुन्छ –‘वर्षा याममा महानगर डुब्छ। खोलाबाट नगरमा बाढी पस्ने समस्या बढ्दो छ। बाइपास सडक नभएकाले प्रदेशको राजधानीमा जाम हुने गरेको छ।’ डुबानरहित सहर बनाउने योजना सुनाएर भोट माग्न हिँड्नुभएका थापाले फोहर र सुकुम्बासीमुक्त, स्वच्छ, सफा,  व्यवस्थित पार्किङसहितको डिजिटल प्रविधियुक्त सहर बनाउने बताउनुभयो।
त्यसका लागि केन्द्र सरकार, प्रदेश सरकार र दातृ निकायसँग समन्वय गर्ने थापाको योजना छ। ‘सीमित स्रोत साधनको अधिकतम प्रयोग गरी अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको महानगर, ढाटदेखि रानीसम्म हरित सडक, विमानस्थलको स्तर उन्नति गरी अन्तर्राष्ट्रिय उडान गर्न सक्ने, जेष्ठ नागरिक, युवा, बालबालिका, महिलामैत्री आधुनिक पार्क निर्माण गर्ने’ मेयर भएपछिका योजना थापाले बताउनुभयो।
महेन्द्र मोरङ क्याम्पस विराटनगरमा दुई पटक स्वतन्त्र विद्यार्थी युनियनका सभापति भएका विद्यार्थी माझ चर्चित युवा नेता थापा हाल एमाले महानगर कमिटीका अध्यक्ष पनि हुनुहुन्छ। प्रदेशको अस्थायी राजधानी विराटनगरलाई स्थायी र भौतिक पूर्वाधारसहितको समृद्ध सहर बनाउने बताउँदै उहाँले विराट राजाको प्राचीन दरबारलाई धार्मिक पर्यटकीय क्षेत्र बनाएर शिक्षा र स्वास्थ्यको हवको रूपमा विराटनगरको विकास गर्ने बताउनुभयो।
“हुँदा खाने र हुने खानेका बीच शिक्षामा देखिएको खाडल पुरेर सबैका लागि सहज र समान बनाउने। खोला किनारमा बस्ने २० हजार सुकुम्बासीलाई ५ वर्ष भित्र घर बनाइ दिने। यदि उनीहरूलाई घर दिन नसके आफू पनि घर नबनाउने” लगायतका आफ्ना योजना बताउने थापाले आफ्नो घर सडक विस्तारका क्रममा भत्किएपछि बनाउनुभएको छैन।
‘म गरिब परिवारबाट आएको भुईं मान्छे हुँ। त्यसैले वर्षै पिच्छेको बाढीमा घर डुब्ने सुकुम्बासीले घर पाएपछि मात्रै आफ्नो घर बनाउने सोचमा छु’ थापा भन्नुहुन्छ।
नेपाली कांग्रेसका तर्फबाट विराटनगर महानगरपालिकाको मेयरमा उमेदवार नागेश कोइराला नगर पूर्वको सिंघिया र पश्चिमको केशलिया खोलालाई नियन्त्रण गरेर डुबानमुक्त महानगर बनाउने योजना रहेको बताउनुहुन्छ। ठूला बिल्डिङ र संरचना बनाउने आफ्नो योजना नभएकाले डुबानमुक्त विराटनगरलाई उच्च प्राथमिकतामा राखेको उहाँले बताउनभयो।
‘म जत्तिको मान्छे मयेरका रूपमा भेट्दा सबैले राम्रै हुन्छ भन्ने भावना व्यक्त गरेर  स्थानीय समस्या उठाउने गरेका छन्, सबै समाधान गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दै आएको छु’– कोइराला भन्नुहुन्छ। नेपाली कांग्रेसका मोरङ जिल्ला उपसभापति रहेका कोइराला विराटनगरका सम्पन्न परिवारका सदस्य हुनुहुन्छ। शून्य सहनशीलता र भ्रष्टाचाररहित महानगरका बनाउने प्रतिबद्धतासहित चुनावी मैदानमा अगाडि बढेको उहाँले वताउनुभयो।
इच्छा हुँदाहुँदै पनि पढ्न नपाएका गरिबका छोराछोरीलाई निजी सरहको सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा दिन महानगरले सक्नुपर्ने उहाँको भनाइ छ। राजतन्त्र, पञ्चायती व्यवस्था फालेर प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र ल्याउने, विराटनगरबाटै निस्किएका नेताहरूले देश बनाएकाले आफूहरू विराटनगर बनाउने योजना लिएर चुनावमा गएको कोइराला बताउनुहुन्छ। विराटनगरवासीले कल्पना गरे जस्तो,  मानिसको दिनचर्यामा असर हुने गरी जनतालाई अनुभूति दिने गरी आफू काम गर्न तयार रहेको उहाँले बताउनुभयो।
विराटनगर महानगरमा  मेयरका उमेदवार रहेका विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य अमलेश कर्ण विकासका कारण विराटनगर थप डुब्न थालेको बताउनुहुन्छ। ‘वर्षामा पानी जम्ने यहाँको प्रमुख समस्या हो, रेल–वे बनेपछि दक्षिणतिर पानीको निकास बन्द भएजस्तै छ। महानगरको मापदण्ड अनुसार कुनै पनि काम भएको छैन,  शिक्षा, स्वास्थ्य, बजार अस्तव्यस्त छ’– उहाँले बताउनुभयो।
डुबान, सुकुम्बासी र गरिबको समस्या समाधान गरेर व्यवस्थित विराटनगर बनाउने योजनाका साथ चुनावमा लागेको उहाँको भनाइ छ। कर्णले २०७४ मा मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाको निर्वाचनमा उमेदवारी दिनुभएको थियो। पछि मोडलिङ र बडीबिल्डिङ लागेका अमलेश यहाँका चर्चित व्यक्ति हुनुहुन्छ। भ्रष्टाचार विरोधी र उपभोक्ता अधिकारको अभियानमा सक्रिय रहने उहाँ मयेर भएपछि विराटनगर महानगरपालिकाका सबै कर्मचारीको सम्पत्ति सार्वजनिक गर्ने बताउनुहुन्छ। उहाँले विद्यार्थीका लागि सञ्चयकोषको व्यवस्था गर्ने योजना ल्याएउनुभएको छ।
‘सही कुरा स्थापित र गलत विस्थापित मेरो नारा हो, भ्रष्टाचार विरुद्ध र उपभोक्ताको हितमा सामाजिक अभिन्ताका रूपमा चिनिन्छु, व्यवस्थित विराटनगर बनाउने मसँग क्लियर भिजन छ’– कर्णले भन्नुभयो। विराटनगरका नाममा राजनीति गर्नेले आफ्नो र नेता कार्यकर्ताको भरणपोषण मात्रै गरेकाले विराटनगर अन्य सहरको तुलनामा पछि पर्दै गएको उहाँको तर्क छ। भारतका पर्यटक आकर्षित गरी  विराटनगरलाई केन्द्र बनाएर यहाँ बास बसाउने उहाँको योजना छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

कमल कौशिक/ विराटनगर का अन्य पोस्टहरु:
मेयर पदका उमेदवारको पहिलो प्राथमिकता विराटनगरको डुबान हटाउने
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link