विवादास्पद निर्वाचअघि बढ्दो उग्रवादसँग लडिरहेको पाकिस्तानले आगामी महिना निर्वाचनअघि आफ्ना उत्तरपश्चिमी क्षेत्रमा हजारौँ सुरक्षा बल तैनाथ गर्ने अधिकारीहरूले बताएका छन् ।
कारागारमा रहेका लोकप्रिय विपक्षी नेता इमरान खानलाई उम्मेदवार हुनबाट रोक लगाइएको र पहिलादेखि नै निर्वाचनपूर्व धाँधलीको आरोपमा ढिलाइ भएको निर्वाचनमा फेब्रुअरी ८ मा २४ करोडले मतदान गर्नेछन् ।
पाकिस्तानमा अघिल्ला निर्वाचन अभियानहरूमा हिंसाका घटनाहरू भएका छन् जसमा धेरै उम्मेदवार र मतदातालाई इस्लामी बम विस्फोट तथा बन्दुक हमलाको निशाना बनाइएको छ ।
फेब्रुअरीको पहिलो सातामा करिब पाँच हजार अर्धसैनिक फ्रन्टियर कन्स्टेबुलरी (एफसी) बल अफगानिस्तानको सीमा जोडिएको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा तैनाथ हुने कमान्डर मोअज्जम जाह अन्सारीले जानकारी दिनुभयो ।
गत साता प्रान्तीय विधानसभाका लागि निर्वाचन लडिरहेका एक स्वतन्त्र उम्मेदवार र उनका दुई सहयोगीको प्रान्तमा निर्वाचन प्रचार गर्ने क्रममा कारमा गोली प्रहारबाट मृत्यु भएको प्रहरीले बताएको छ ।
“सुरक्षा स्थिति बिग्रँदै गइरहेको छ र मतदानको दिन मतदान केन्द्रहरूमा अतिरिक्त प्रहरी टिम तैनाथ गरिने छ”, एक वरिष्ठ क्षेत्रीय सरकारी अधिकारीले भन्नुभयो । उहाँका अनुसार अतिरिक्त एक हजार सात सय एफसी बल राजधानी इस्लामाबाद र चार सय दक्षिणी तथा सबैभन्दा धेरै जनसङ्ख्या भएको सहर कराँचीमा तैनाथ गरिने छ । एफसी बललाई आतङ्कवादी हमलाको चपेटामा परेका प्रहरीलाई सहयोग गर्ने जिम्मा दिइने छ ।
यसैबीच मङ्गलबार आफ्नो कार्यालयद्वारा जारी आदेशमा दक्षिणी सिन्ध प्रान्तका मुख्यमन्त्री मकबुल बकरले महिनौँदेखि विलम्ब भएको निर्वाचनका लागि उम्मेदवारहरूमाथि हमलाका धेरै रिपोर्ट प्राप्त भएको चेतावनी दिनुभएको छ । उक्त हमलालाई ‘अपराधको बढ्दो लहर’ भन्दै केही मानिसलाई ‘दिनदहाडै’ अपहरण गरिएको उहाँले बताउनुभयो ।
इस्लामाबादस्थित सेन्टर फर रिसर्च एन्ड सेक्युरिटी स्टडिजका अनुसार गत वर्ष एक हजार पाँच सयभन्दा धेरै सर्वसाधारण, सुरक्षा बल र आतङ्कवादी मारिएका थिए । यो पछिल्लो छ वर्षमा सबैभन्दा धेरै मृत्युको आँकडा हो ।
पाकिस्तानका लागि सबैभन्दा ठूलो आतङ्कवादी खतरा तहिरक–ए–तालिबान पाकिस्तान (टिटिपी) को नामले चिनिने तालिबान आन्दोलनको घरेलु अध्याय हो । इस्लामाबादले काबुलको तालिबान सरकारमाथि टिटिपी लडाकूहरूलाई शरण दिएको र उनीहरूलाई पाकिस्तानी भूमिमा दण्डहीनताका साथ आक्रमण गर्न अनुमति दिएको आरोप लगाएको छ । काबुलले बारम्बार ती आरोपलाई अस्वीकार गर्दै आएको छ ।
गत वर्षको जनवरीमा टिटिपी खैबर पख्तुनख्वाको राजधानी पेशावर सहरको एउटा मुख्यालयमा भएको मस्जिद बम विस्फोटमा ८० भन्दा धेरै प्रहरी अधिकारी मारिएका थिए । डिसेम्बरमा टिटिपीका एक सहयोगीले सोही प्रान्तमा एउटा सैन्य अड्डामा विस्फोटक पदार्थले भरिएको सवारीमा ठोक्काएर २३ सैनिकको हत्या गरेका थिए ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- न सडक न बत्ती सधैँ अँध्यारो नार्पाभूमिका बस्ती
- नेपाल-भारत सीमास्तम्भको मर्मत सुरु
- दक्षिण सुडानमा भएको झडपमा कम्तीमा १६ जनाको मृत्यु
- ‘मुन्दुम ट्रेल’को प्रवर्द्धन गर्न महोत्सव
- कन्कार्ई पुल : पाँच पटक ठेक्काको म्याद थप , १३ वर्षमा आधा काम
- इजरायली सेनाद्वारा सिरियाबाट तीन हजार हतियार बरामद
- सामाजिक सञ्जालको सदुपयोग गर्दा …
- ब्लू ओरिजिनको पहिलो कक्षीय रकेट प्रक्षेपण स्थगित
- ‘बेलायतसँग भएको सन्धीले नेपाललाई सार्वभौम राष्ट्रका रूपमा चिनायो’
- देवघाटमा आजदेखि माघे सङ्क्रान्ति मेला