रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीका सम्बन्धमा जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले प्रारम्भिक प्राविधिक प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदन अनुसार चीनको तिब्बततर्फ नदी थुनिएर बनेको ताल अझै पूर्ण रूपमा नखुलेकाले माथिल्लो भोटेकोशी-त्रिशूली नदी प्रणालीमा जुनसुकै बेला थप बाढी आउन सक्ने जोखिम कायम छ।
महाशाखाले भोटेकोशी, त्रिशूली र नारायणी नदी क्षेत्रमा निरन्तर अनुगमन भइरहेको जनाउँदै तटीय क्षेत्रका बासिन्दालाई अर्को सूचना नआएसम्म सुरक्षित स्थानमै रहन र उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
घटनाक्रम र बाढीको गति
प्रतिवेदनमा उल्लिखित समय क्रम अनुसार:
- बिहान ८:३७ बजे: प्रभावित क्षेत्र आसपास ४.४ रेक्टर स्केलको भूकम्प मापन गरिएको थियो।
- बिहान ८:५० बजे: भोटेकोशीको स्याफ्रुबेँसी जलमापन केन्द्रबाट तथ्याङ्क प्राप्त हुन बन्द भयो।
- बिहान ९:०५ बजे: तिब्बततर्फबाट ठुलो बाढी प्रवेश गरेको सूचना प्राप्त हुनासाथ तटीय क्षेत्रमा पूर्व सूचना र सतर्कता सन्देश प्रवाह गरिएको थियो।
- बाढीको बहाव: बिहान १०:२८ बजे धादिङको गल्छी, ११:५० बजे मलेखु बजार, दिउँसो १:०० बजे मुग्लिङ र ३:२० बजे चितवनको देवघाट क्षेत्रमा बाढी पुगेको थियो।
मापन केन्द्रहरूमा क्षति
भीषण बाढी र तीव्र बहावका कारण रसुवाका भोटेकोशी र स्याफ्रुबेँसी, नुवाकोटको बेत्रावती तथा धादिङको मलेखुमा रहेका जलमापन केन्द्रका उपकरणहरू बाढीले बगाएको छ। यसले गर्दा ती स्थानको यकिन तथ्याङ्क प्राप्त हुन सकेको छैन।
यद्यपि, धादिङको कालीखोला जलमापन केन्द्रमा दिउँसो २:१४ बजे जलसतहले १२.१ मिटरको खतराको तह पार गर्दै अधिकतम १२.३ मिटरसम्म पुगेको रेकर्ड गरिएको महाशाखाले जनाएको छ। माथिल्लो क्षेत्रमा बनेको तालको अवस्था सामान्य भई नसकेकाले सम्पूर्ण तटीय क्षेत्रलाई सतर्क रहन पुनः सचेत गराइएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- वीपी राजमार्ग पुनःनिर्माणले तीव्रता: जाइकाले सुरु गर्यो बर्खेखोला–पिप्ले खण्डको काम
- काग तिहार पर्व आज: यमराजका दूत कागको पूजा
- एनपीएल आज: अपराजित लुम्बिनी लायन्स र काठमान्डु गोर्खाजबिच खेल
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- आजको मौसम: पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली, बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहने
- बाढीले मध्यकालीगण्डकी जलविद्युत् आयोजनामा ठूलो क्षति, तिहारलगत्तै पुनर्निर्माण सुरु गरिने
- हिन्दु र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल पार्वतीकुण्ड
- एनपीएल २०२६: लुम्बिनी र काठमाडौँको जित, आज सुदूरपश्चिम र कर्णाली भिड्दै
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- आजको मौसम पूर्वानुमान: हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा