अमेरिकी मध्यावधि चुनाव र नीतिगत अन्योलका बिच बजारमा तीव्र उतारचढाव

कृत्रिम बुद्धिमत्ता (एआई) तथा प्रविधि कम्पनीहरूको शेयर मूल्यमा आएको ठुलो गिरावटपछि शेयर बजारमा सामान्य सुधार देखिएको छ।

बिहीबार अमेरिकी बजारबाट सुरु भएको भारी बिक्रीको चाप एसियाली र युरोपेली बजारहरूसम्म फैलिँदा लगानीकर्ताले खर्बौँ डलर गुमाएका थिए। तर, शुक्रबार प्रविधि-प्रधान नास्डाक सूचक पुनः धनात्मक क्षेत्रमा फर्किँदै हरियो सङ्केतका साथ बन्द भएको छ।

अमेरिकी मध्यावधि चुनावमा डेमोक्र्याट पार्टीले जित हासिल गरेपछि कृत्रिम बुद्धिमत्ताको विकास र डाटा सेन्टरहरूमा थप कडाइ वा ढिलाइ हुन सक्ने आशङ्काका कारण लगानीकर्ताहरूले प्रविधि शेयर बिक्री गर्न थालेका थिए। विशेष गरी बिहीबार सेमीकन्डक्टर र चिप निर्माता कम्पनीहरू बजारको तीव्र गिरावटबाट बढी प्रभावित भए।

यद्यपि, शुक्रबार नास्डाक कम्पोजिट १.१ प्रतिशतले उकालो लाग्दै अघिल्लो दिनको ५.५ प्रतिशतको ठुलो गिरावटलाई केही हदसम्म भरपाई गरेको छ। एस एन्ड पी पाँच सय शून्य दशमलव तीन प्रतिशतले बढेको छ भने डाउ जोन्स शून्य दशमलव चार प्रतिशतले प्रतिशतको सामान्य गिरावटमा सीमित रह्यो। भारी नोक्सानी व्यहोरेका इन्भिडिया, स्पेसएक्स र टेस्ला जस्ता ठुला कम्पनीका शेयरहरूमा पनि केही सुधार देखिएको छ।

अमेरिकी बजारमा केही सुधार देखिए पनि एसियाली र युरोपेली शेयर बजारमा भने त्यसको नकारात्मक असर कायम नै रह्यो। दक्षिण कोरियाको कोस्पी छ प्रतिशतले घट्यो, जहाँ चिप निर्माता एसके हाइनिंक्सको शेयर दस प्रतिशतभन्दा बढीले गिरावट भयो। यस्तै जर्मनी, फ्रान्स, स्पेन र बेलायतका प्रमुख सूचकहरू पनि ओरालो लागे। बेलायतमा बैङ्क अफ इङ्गल्यान्डले ब्याजदर बढाएको र मुद्रास्फीति नियन्त्रण गर्न थप वृद्धि हुन सक्ने सङ्केत दिएकाले बजार झन् प्रभावित बन्यो।

यसैबिच अमेरिकी श्रम बजारको बलियो तथ्याङ्कले लगानीकर्ताहरूलाई केही राहत दिएको छ। अक्टोबर महिनामा अमेरिकी रोजगारदाताहरूले एक लाख पैसठ्ठी हजार नयाँ रोजगारी सिर्जना गरेका छन्, जुन विश्लेषकहरूको अपेक्षाभन्दा दोब्बर हो।

यद्यपि, एआई क्षेत्रमा भइरहेको विशाल लगानीको वास्तविक प्रतिफल र नयाँ संसदले ल्याउन सक्ने नियमनकारी नीतिहरूलाई लिएर बजार विश्लेषकहरू अझै पर्ख र हेरको अवस्थामा छन्। विश्लेषकहरूका अनुसार आगामी हप्ताको कारोबारले प्रविधि क्षेत्रको यो पुनरागमन टिकाउ हुन्छ वा हुँदैन भन्ने स्पष्ट चित्र दिनेछ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

एजेन्सी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link