लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा, प्रदेशमै २५ प्रतिशत नयाँ बिरामी

लुम्बिनी प्रदेशका १० जिल्ला कुष्ठरोगको जोखिममा रहेको पाइएको छ। मधेस प्रदेशपछि लुम्बिनी कुष्ठरोगको दोस्रो उच्च जोखिममा रहेको प्रदेशमा भएको आइएनएफ नेपालका मेडिकल सर्भिसेज निर्देशक डा. अरुणकुमार बुढाले बताए।

निर्देशक बुढाका अनुसार रूपन्देही, कपिलवस्तु, पश्चिम नवलपरासीलगायत जिल्ला कुष्ठरोगको जोखिममा छन्। नेपालमा कुष्ठरोग देखिएका १८ जिल्लामध्ये १० जिल्ला बाँकेको साइनिङ अस्पतालको सेवाक्षेत्रभित्र पर्छन्। लुम्बिनी प्रदेशमा बालबालिकामा समेत कुष्ठरोगको सङ्क्रमण देखिएको र त्यसको सङ्ख्या उच्च रहेको उनले बताए।

कुष्ठरोगको पहिचानमा ढिलाइ हुनुमा गरिबी, स्वास्थ्य सेवामा पहुँचको अभाव, सामाजिक भेदभाव र लाञ्छना प्रमुख कारण रहेको डा. बुढाको भनाइ छ।

बाँकेको जानकी गाउँपालिका–मानपुरस्थित साइनिङ अस्पताललाई लुम्बिनी प्रदेशसहित पश्चिम नेपालकै कुष्ठरोग तथा उष्ण उपेक्षित रोगसम्बन्धी सेवाको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्ने योजना अघि बढाइएको छ। हाल क्षेत्रीय प्रेषण केन्द्रका रूपमा सञ्चालन भइरहेको अस्पताललाई कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका बिरामीको उपचार केन्द्र बनाउने लक्ष्य रहेको उनले बताए। यो योजना नेपाल सरकारको शून्य कुष्ठरोग रणनीतिसँग सम्बन्धित रहेको उनको भनाइ छ।

नेपाल सरकारको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा करिब दुई हजार ५०० नयाँ कुष्ठरोगी पहिचान भएका छन्। तीमध्ये करिब २५ प्रतिशत लुम्बिनी प्रदेशका रहेको आइएनएफ नेपाल, साइनिङ अस्पताल बाँकेले जनाएको छ।

कुष्ठरोगको जोखिममा रहेका बिरामीलाई लक्षित गरी अस्पतालको सेवा विस्तार गर्न लागिएको हो। करिब दुई करोड ३५ लाख रुपैयाँको लागतमा अस्पतालको अन्तरङ्ग सेवाका लागि भवन निर्माण भइरहेको छ। पाँचवटा वार्डमा २५ जना बिरामी राख्न सकिने भवनमा ह्विलचेयरमैत्री शौचालय, नर्सिङ स्टेसन, उपचार कक्ष र औषधि भण्डारण कक्षलगायत सुविधा रहनेछन्।

हालसम्म आइएनएफका पोखरास्थित हरियोखर्क अस्पताल, सुर्खेतस्थित साइनिङ अस्पताल र बाँकेको साइनिङ अस्पतालबाट छ हजार ७९ जनाले निःशुल्क उपचार सेवा लिएका छन्।

अस्पताललाई निरन्तर सञ्चालन गर्न छाला रोग विशेषज्ञ, थेरापिस्ट, कृत्रिम अङ्ग तथा जुत्ता प्रविधिसम्बन्धी जनशक्ति र दक्ष कर्मचारी आवश्यक रहेको डा. बुढाले बताए। अपाङ्गता पुनःस्थापना पनि चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले नसर्ने रोगका कारण हुने अपाङ्गताको व्यवस्थापनसमेत चुनौतीका रूपमा रहेको बताए। अस्पतालको सेवा विस्तार र सञ्चालनका लागि लुम्बिनी प्रदेश सरकारको सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

आइएनएफका अन्तरराष्ट्रिय कार्यकारी प्रमुख रिचर्ड रिभले नेपालमा कुष्ठरोग नियन्त्रणका लागि ठूलो धनराशि खर्च भइरहेको र त्यसबाट आशातीत उपलब्धि हासिल भएको बताए।

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्रकुमार पुनले प्रदेश सरकार अस्पतालसँग सहकार्य गर्न तत्पर रहेको बताए। नेपाल सरकारले सन् २०३० सम्म कुष्ठरोग शून्यमा झार्ने रणनीति लिएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link