भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को भ्रमणको दोस्रो तथा अन्तिम दिन आज सोमबार उच्चस्तरीय राजनीतिक भेटवार्ता, समझदारीपत्र आदानप्रदान तथा औपचारिक राजकीय समारोहहरूले भरिपूर्ण रहेको छ। गत चैतमा नेपालको प्रधानमन्त्री पद सम्हालेयता शाहको यो पहिलो औपचारिक विदेश तथा भारत भ्रमण हो। भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार नयाँ दिल्ली प्रस्थान गरेका प्रधानमन्त्री शाह आज दिनभरका महत्त्वपूर्ण कूटनीतिक कार्यक्रमहरू सम्पन्न गरी साँझ स्वदेश फर्किने कार्यक्रम छ।
सोमबारको विस्तृत कार्यतालिका: स्वागतदेखि बिदाइसम्म
भारतीय विदेश मन्त्रालय र परराष्ट्र मन्त्रालयद्वारा सार्वजनिक कार्यतालिका अनुसार प्रधानमन्त्री शाहको आजको औपचारिक कार्यक्रम बिहान ठिक १०:०० बजेबाट सुरु हुनेछ।
राष्ट्रपति भवनमा राजकीय स्वागत (बिहान १०:०० बजे): प्रधानमन्त्री शाहलाई नयाँ दिल्लीस्थित भारतीय राष्ट्रपति भवनको प्राङ्गणमा विशेष राजकीय सम्मान (गार्ड अफ अनर) का साथ औपचारिक स्वागत गरिनेछ। उक्त समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत भारत सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहनेछ।
राजघाटमा श्रद्धाञ्जली (बिहान १०:४० बजे): राष्ट्रपति भवनको औपचारिक स्वागत लगत्तै प्रधानमन्त्री शाह नयाँ दिल्लीस्थित राजघाट प्रस्थान गर्नेछन्। त्यहाँ उनले भारतीय स्वतन्त्रता सङ्ग्रामका नेता महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरी भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नेछन्।
मोदीसँग द्विपक्षीय वार्ता (बिहान ११:०० बजे): भ्रमणको सबैभन्दा महत्त्वपूर्ण राजनीतिक तथा कूटनीतिक कार्यक्रमका रूपमा बिहान ११:०० बजे ‘हैदराबाद हाउस’ मा प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबिच एक्ला एक्लै (वान-टु-वान) र प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ता हुनेछ। वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षहरूका साथै व्यापार, पारवहन, ऊर्जा सहकार्य, भौतिक तथा डिजिटल सम्पर्क सञ्जाल (कनेक्टिभिटी), लगानी र पूर्वाधार विकासका विषयमा गहन छलफल हुने तय भएको छ।
समझदारीपत्र आदानप्रदान र संयुक्त पत्रकार सम्मेलन (दिउँसो १२:२५ बजे): द्विपक्षीय वार्तापछि दिउँसो १२:२५ बजे हैदराबाद हाउसमा दुई देशबिच शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकास लगायतका विविध क्षेत्रमा विभिन्न समझदारीपत्र (एमओयू) हरूमा हस्ताक्षर तथा आदानप्रदान गरिनेछ। सोही अवसरमा दुवै प्रधानमन्त्रीले संयुक्त प्रेस वक्तव्य जारी गर्नेछन् भने सम्पन्न भइसकेका केही ऊर्जा तथा कनेक्टिभिटी परियोजनाहरूको भर्चुअल उद्घाटन र नयाँ परियोजनाको शिलान्यास समेत गर्ने कार्यक्रम छ। विशेष गरी भगवान् रामको जन्मभूमि अयोध्या र माता सीताको जन्मभूमि जनकपुरधाम जोड्ने रेल सेवाको शुभारम्भ गर्ने तयारी पनि रहेको छ। त्यसपछि प्रधानमन्त्री शाह भारतीय समकक्षी मोदीले उनको सम्मानमा आयोजना गर्ने औपचारिक मध्याह्न भोजमा सहभागी हुनेछन्।
भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेट (दिउँसो ३:१५ बजे): दिउँसो ३:१५ बजे प्रधानमन्त्री शाह पुनः राष्ट्रपति भवन पुगेर भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गर्नेछन्।
स्वदेश फिर्ता (अपराह्न ४:५० बजे): दिनभरका उच्चस्तरीय भेटवार्ता र कार्यक्रमहरू पूरा गरी प्रधानमन्त्री शाह अपराह्न ४:५० बजे नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत काठमाडौँ प्रस्थान गर्ने कार्यसूची छ।
आइतबार- विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
यसअघि आइतबार दिउँसो १:४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँ दिल्ली प्रस्थान गरेका प्रधानमन्त्री शाहलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले स्वागत गरेका थिए।
विमानस्थलबाट सिधै होटेल ताज महल पुगेका प्रधानमन्त्री शाहसँग आइतबार साँझ ६:०० बजे भारतीय विदेशमन्त्री डा. एस जयशंकरले शिष्टाचार भेटवार्ता गरेका थिए। करिब २५ मिनेट चलेको उक्त भेटवार्तामा द्विपक्षीय सहकार्य, व्यापार, पारवहन, ऊर्जा, शिक्षा, जनस्तरको सम्बन्ध तथा विशेष गरी क्रिकेट र फुटबलजस्ता खेलकुद क्षेत्रको विकासका विषयमा सकारात्मक छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटपछि विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमार्फत भारतले नेपालसँगको विशेष मित्रतालाई सधैँ उच्च महत्त्व दिने बताउँदै आज प्रधानमन्त्री मोदीसँग हुने वार्ता निकै फलदायी हुने विश्वास व्यक्त गरेका थिए। आइतबार साँझ नै नयाँ दिल्लीमा आयोजित ‘नेपाल–भारत बिजनेस फोरम’ को कार्यक्रममार्फत नेपाली प्रतिनिधिमण्डलले भारतीय व्यवसायीहरूलाई नेपालमा लगानीका लागि आह्वान समेत गरेको छ।
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, मुख्य सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असीम शाह लगायत ३५ सदस्यीय सरकारी प्रतिनिधिमण्डलका साथै निजी क्षेत्रका ५२ जना व्यवसायी तथा सञ्चारकर्मीहरू सहभागी छन्। नयाँ नेतृत्वको आगमनसँगै भएको यस उच्चस्तरीय भ्रमणले नेपाल–भारतबिचको ऐतिहासिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आफ्नै लगानीमा च्याउ उद्योग: बर्दिबासदेखि इटहरीसम्म बजार जोड्दै महोत्तरीका युवा
- पोचेटिनोको खराब सुरुवात, युनाइटेड ४-० ले पराजित
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- सोमबारको मौसम: उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बदली
- प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै: आर्थिक सहकार्य, हवाई मार्ग र पूर्वाधार विकास मुख्य एजेन्डा
- सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल सिजन–३ को च्याम्पियन: लुम्बिनी १० विकेटले पराजित
- मङ्सिर १६ देखि सुरु हुने दसौँ राष्ट्रिय खेलकुदको तोकियो खेलस्थल
- देशभर अधिकांश भूभागमा मौसम सफा, केही ठाउँमा वर्षा र हिमपात हुन सक्ने
- आइतबारका लागि डलर, युरो, पाउन्ड र कुवेती दिनारको विनिमयदर सार्वजनिक
- उत्पादन बढे पनि घट्यो चिराइतोको भाउ, किसान निराश
