फेरि उड्न थाल्यो प्रकृतिको कुचिकार

सन्दर्भ : १४ औं विश्व गिद्ध सचेतना दिवस

राजेन्द्र भट्ट /महेन्द्रनगर

एक दशकअघिसम्म बिरलै देखिने गिद्ध यतिबेला झुण्डमै देखिन थालेका छन्। सानो हुँदा गाउँको गौचरमा सिनो खान लुछाचुँडी गर्ने गिद्ध एक्कासि देखिन छाडेको स्मरण गर्दै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दा तथा नेचर गाइड एशोसिएसनका संस्थापक अध्यक्ष ईश्वरराज पन्त भन्नुहुन्छ, ‘लामो अन्तरालपछि गिद्ध देखिन थालेका छन्।’

विश्वमै लोप हुन लागेको गिद्ध फेरी आकाशमा उडेका र सिनो लुछाचुँडी गरेको दृश्य देखिनु गिद्ध संरक्षणका लागि राम्रो संकेत भएको पूर्व अध्यक्ष पन्तको भनाई छ। ‘सुदूरपश्चिमलाई डाइक्लोफेनेक मुक्त घोषणा गरिएपछि यस्तो सम्भव भएको हो। त्यसयता गिद्धको संख्या पनि वृद्धि हुँदै आएको छ।’ पूर्व अध्यक्ष पन्तले प्रकृतिको कुचिकार मानिएको गिद्ध जोगाउन गरिएको निर्णयको सकारात्मक प्रतिफल औँल्याउँदै भन्नुभयो। सन् २०११ मा गिद्ध संरक्षित क्षेत्रहरूलाई सरकारले डाइक्लोफेनेक मुक्त घोषणा गरेको हो।

विश्वमा पाइने २३ प्रजाति मध्ये नेपालमा नौ प्रजातिका गिद्ध पाइने गरेका छन्। यसमध्ये सुदूरपश्चिममा आठ प्रजातिका गिद्ध पाइन्छ। जसमा सानो खैरो गिद्ध, डङ्गर गिद्ध, सुन गिद्ध, सेतो गिद्ध, राज गिद्ध, हिमाली गिद्ध, खैरो गिद्ध, हाडखोर, लामो ठुडे गिद्ध रहेका छन्। यसमध्ये डङ्गर, सुन र सानो खैरो गिद्ध अति संकटापन्न सुचीमा पर्छ। सुदूरपश्चिममा लामो ठुडे गिद्ध बाहेक आठ प्रजातिका गिद्ध रहेको नेपाल पन्छी संरक्षण संघका चरा विज्ञ हिरुलाल डङ्गौराले जानकारी गराउनु भयो।

विश्वमै दुर्लभ गिद्धको पछिल्लो तथ्याङ्क अनुसार कञ्चनपुर र कैलालीमा एक सय २६ गुँड फेला परेका छन्। नेपाल पन्छी संरक्षण संघले केही बर्षयता गिद्धका गुँडको खोजीगरी अभिलेख राख्दै आएको छ। संघका चरा विज्ञ डङ्गौराका अनुसार सन् २०२२ मा कञ्चनपुरमा एक सय १० र कैलालीमा  १६ गुँड फेला परेका हुन। कञ्चनपुरमा गुँडको संख्या अघिल्लो वर्षको भन्दा दोब्बर बढेको छ। सन् २०२१ मा यहाँ ५६ गुँड फेला परेका थिए। तर, कैलालीमा भने अघिल्लो वर्षभन्दा गुँड घटेका छन्। कैलालीमा सन् २०२१ मा २८ गुँड थिए।  सन २०१० देखि नेपालमा पन्छी संरक्षण संघले गिद्धको अध्ययन अनुसन्धान थालेको हो। सुरुवातको वर्ष कञ्चनपुरमा एक र कैलालीमा ३५ गुँड फेला परेका थिए।

‘जोडिएका जिल्ला भएकाले गिद्धले गुँड सारेको हुनसक्छ। समग्रमा दुवै जिल्लाको गुँडको तथ्यांक हेर्दा गिद्धको अवस्था राम्रो नै छ।’ संघका चरा विज्ञ डङ्गौराले भन्नुभयो। संख्यात्मक रुपमा कञ्चनपुरमा तीन सयको हाराहारी र कैलालीमा डेढ सय गिद्ध रहेको संघले जनाएको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै राष्ट्रिय र सामुदायिक वन क्षेत्रमा गिद्धहरूको बासस्थान रहेको छ। शुक्लाफाँटाको बन्नीखेडा, तारापुर, हिरापुर, बेल्डाँडी लगायतका ठाउँमा गिद्ध देखिने गरेको नेचर गाइड एशोसिएसनका पूर्व अध्यक्ष डुठ्ठा राना बताउनु हुन्छ। ‘पर्सिया र महाकाली नदीपारि दोधारा र चाँदनीमा पनि गिद्ध गुँड बनाएर बस्न थालेका छन्।’ पूर्व अध्यक्ष रानाले थप्नु भयो।

सन्दर्भ : १४ औं अन्तर्राष्ट्रिय गिद्ध सचेतना

प्रत्येक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस विश्वभरि मनाइन्छ। तर, नेपालमा भने विगत एक दशकदेखि साताव्यापी रुपमा यो दिवस मनाउने गरिन्छ छ। तसर्थ यही भदौ १६ देखि २२ गते यो दिवस मनाइदैछ।

विश्वका करिब ३० भन्दा बढी देशमा यो हप्तैभरि गिद्धको महत्व, लोप हुनुको कारण र संरक्षण प्रयासबारे जनचेतना जगाउने उद्देश्यले गिद्ध दिवस मनाइदै छ। दक्षिण अफ्रिकामा सन् २००५ देखि नै मनाइदै आएको ‘राष्ट्रिय सचेतना दिवस’ बाट बिकसित भई यो दिवस सन् २००९ बाट अन्तराष्ट्रिय दिवसको रुपमा मनाउन थालिएको हो।

प्रकृतीको कुचिकारका रुपमा चिनिने गिद्धले कहिल्यै सिकार गर्दैन । यो केवल मरेका जनावरको मासु अर्थात सिनो खाएर वातावरण स्वच्छ, सफा र सन्तुलित राख्छ । यस हिसाबले गिद्ध प्रकृतिको कुचीकार हो । सिनो खाई वातावरण प्रदूषित, दुर्गन्धित र रोगमुक्त बनाउने गिद्ध पर्यावरणीय चक्र सनातन, खाद्य श्रखंलाको सन्तुलन र गतिशीलताको संवाहक हुन्।  यस्तै पारिस्थितिकीय स्वस्थताको सूचक पनि हो। धार्मिक र सांस्कृतिक आस्थासँग पनि जोडिने गिद्धलाई शनि देवताको वाहनको रुपमा पुजिन्छ। रामायणमा रावणले सीतालाई हरण गरी लंका लैजाँदा सीतालाई जोगाउँन गिद्ध अन्तिम श्वास रहुन्जेल लडेको उल्लेख छ।

 गिद्ध संरक्षण किन ?

गिद्ध बाहेक अरु सिनो खाने जनावरले सिनोको करिब ३६ प्रतिशत भागमात्र खान सक्छन्। गिद्धले भने सिनोको करिब ८० प्रतिशत खपत गर्छ । जिप्स प्रजातिले मूलत: मासु लुछेर खान्छन्।

करिब दुई दशक अघिसम्म गिद्ध संसारमै सबैभन्दा सहजै देख्न सकिने र ठूलो सङ्ख्यामा भेटिने चराका प्रजातिमा पर्थे । विडम्बना सन् १९८०/९० को दशकमा आएर खासगरी भारतीय उपमहाद्वीपमा पाइने गिद्धहरु संसारमै तीव्र गतिले घटेर लोप हुने अवस्थामा पुगे । नेपालमा पनि सन् १९८० को दशकमा १० देखि १६ लाखको सङ्ख्यामा रहेका गिद्ध ९० प्रतिशतभन्दा बढीले घटी २० हजारभन्दा कममा सीमित भएका छन ।। सन् २००२ देखि गरिएको वैज्ञानिक अध्ययनले नेपालमा डङ्गर गिद्धको संख्यामात्रै ९१ प्रतिशतले घटेको देखाएको छ।

गिद्ध संरक्षणका प्रयास

गिद्धको सङ्ख्यामा यसरी अप्राकृतिक र नाटकीय ढंगले ह्रास आउनुको प्रमुख कारण घरपालुवा पशु उपचारमा प्रयोग गरिने औषधि डाइक्लोफेनेक हो । सुन्निएको र दुखेको निको पार्न प्रयोग गरिने डाइक्लोफेनेकले उपचार गरिएका पशुको मृत्युपश्चात् सिनो खाँदा गिद्धको मृगौलामा असर गर्छ । गिद्धलाई शुद्ध आहार उपलब्ध गराई संरक्षण गर्ने उद्देश्यले २०६३ मै स्थानीय समुदायको सक्रियतामा नवलपरासीको पिठौलीमा विश्वकै पहिलो समुदाय स्तरको जटायु (गिद्ध) रेष्टुरेन्ट खोलियो । जटायु रेष्टुरेन्टमा किसानहरूबाट वृद्ध, अशक्त र बेकामी गाईवस्तुहरू संकलन गरी पालनपोषण गरिन्छ ।

तिनीहरूको प्राकृतिक मृत्युपश्चात् निश्चित स्थानमा गिद्धको आहाराका लागि राखिन्छ । नजिकैको अवलोकन घरबाट अति संकटापन्न गिद्धका प्रजाति, आनीबानी र क्रियाकलापको अध्ययन अवलोकन गर्न सकिन्छ । रूपन्देहीको गैँडहवा ताल, दाङको लालमटिया र बिजौरी, कैलालीको खुटिया, कास्कीको घाँचोक र सुनसरीको कोशीटप्पुमा पनि विस्तारित भएका जटायु रेष्टुरेन्टले वृद्ध र छाडा चौपायाहरूको रेखदेख गरी पशु कल्याणकारी र लोपोन्मुख गिद्ध बचाउने काम गर्नुका साथै पर्यापर्यटन प्रर्वद्धन, स्थानीयवासीको जीविकोपार्जन र अनुसन्धानका केन्द्र पनि हुन् ।

स्थापनाको दस वर्षपछि चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गिद्ध संरक्षण तथा प्रजनन केन्द्रमा हुर्काइएका र कोरलिएका गिद्धलाई सुरक्षित प्राकृतिक वातावरणमा पुनःस्थापना गराउने र स्याटलाइट जडान गरी अध्ययन गर्ने कार्यको थालनी भएको छ। जसले प्रकृतिमा गिद्धको संख्या बढाउन र गिद्धको जैविक विज्ञानको जानकारीमा थप टेवा पुर्‍याउनेछ ।

आवरण तस्बिर : हिरुलाल डङ्गौरा (नेपाल पन्छी संरक्षण संघ)

 

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

राजेन्द्र भट्ट/ महेन्द्रनगर का अन्य पोस्टहरु:
फेरि उड्न थाल्यो प्रकृतिको कुचिकार
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link