शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संकटापन्न कृष्णसार स्थानान्तरण गरेको ठिक एक दशक पुग्यो। निकुञ्जको हिरापुर फाँटामा ४२ वटा कृष्णसार स्थानान्तरण गरिएका थिए। अहिले तिनको संख्या झण्डै पाँच गुणा बढेको छ। त्यतिबेला नेपालबाट लोप हुनसक्ने ‘खतरा’ लाई मनन गरी यहाँ कृष्णसार स्थानान्तरण गरिएका हुन। निश्चित घेरबारभित्र राखिएका कृष्णसारको संख्या ह्वात्तै वृद्धि हुन थालेपछि अहिले निकुञ्जका अगाडि एक प्रश्न उभिएको छ, अब के गर्ने?
उपयुक्त बासस्थान र संरक्षणको उचित व्यवस्थापनले गर्दा कृष्णसार बढ्ने क्रम जारी नै छ। ‘४२ कृष्णसार स्थानान्तरण गरिएका हुन्। अहिले बढेर दुई सय दुई पुगिसके।’ राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटाका कार्यालय प्रमुख लक्ष्मीराज जोशीले भन्नुभयो। स्थानान्तरणदेखि नै कृष्णसार व्यवस्थापनको जिम्मेवारी वहन गर्दै आएको कोषले उपलब्ध गराएको तथ्याङ्क अनुसार भालेभन्दा पोथी कृष्णसारको संख्या धेरै छ।
अहिले ८७ वटा पोथी र ६७ वटा भाले कृष्णसार छन्। जसमा ७३ वयस्क तथा १४ अर्ध वयस्क पोथी र ५१ वयस्क तथा १६ अर्ध वयस्क पोथी छन्। ४८ बच्चा हुर्कंदै छन्। कृष्णसारले छ/छ महिनामा बच्चा जन्माउँछ। बयस्क पोथीको संख्या हेर्ने हो र प्राकृतिक बाहेकका मृत्युदर स्थिर रहे कृष्णसार राखिएको बासस्थान चाँडै अपुग हुने देखिन्छ। कृष्णसारको आयु सरदर १५ देखि १७ वर्ष रहने कोषका कार्यालय प्रमुख जोशीले जानकारी गराउनु भयो।
संख्या वृद्धिले व्यवस्थापनमा चुनौति :
शुक्लाफाँटामा २०६९ साल भदौमा नेपालगञ्ज तथा ललितपुरको सदर चिडियाखाना र त्यसको तीन वर्षभित्रै २०७२ साल बैशाखमा बर्दियाको खैरापुरबाट कृष्णसार स्थानान्तरण गरिएका हुन। पहिलो चरणमा २८ र दोस्रो चरणमा १४ गरि ४२ कृष्णसार हिरापुर फाँटा ल्याइएका थिए।
कृष्णसार स्थानान्तरणको मूल उद्देश्य सुरक्षित बासस्थान, संरक्षण र संख्या वृद्धि नै थियो। लामो अध्ययन अनुसन्धानपछि कृष्णसार स्थानान्तरणको निर्णय फलदायी भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहता बताउनु हुन्छ। ‘स्थानान्तरण गर्ने बेलाको लक्ष्य सयको हाराहारी पुर्याउने थियो। त्यसपछि घेरबारबाट विस्तारै प्राकृतिक बासस्थानमा छाड्ने भनिएको थियो। अहिले एकै ठाउँमा धेरै भैसके। व्यवस्थापनमा चुनौति देखिएको छ।’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत मेहताले कृष्णसार राखिएको क्षेत्रफल र व्यवस्थापनमा देखिन थालेका समस्या औँल्याउँदै भन्नुभयो, ‘एकै ठाउँमा धेरै भए। घाँसे मैदान नै अपुग हुन थाल्यो। क्षेत्रफल बढाउनु पर्छ वा अन्यत्र सार्नु पर्छ। यो केन्द्रबाट मात्रै सम्भव हुने कुरा हो।’
शुक्लाफाँटाका अन्य ठाउँमा पनि कृष्णसारका निम्ति हिरापुर फाँटा जस्तै बासस्थानका सम्भावना भन्दै निकुञ्जका प्रमुख संरक्षण अधिकृत मेहता भन्नुहुन्छ, ‘अन्यत्र सार्न वा प्राकृतिक रुपमा खुला छाडन विभागबाटै निर्णय हुनुपर्छ। निकुञ्जले यसबारे विभागमा जानकारी गराइसकेको छ।’ उहाँले चितवनको टिकौलीमा कृष्णसारको बासस्थानका लागि अध्ययन भएको जानकारी गराउनु भयो।
संख्या वृद्धिको हर्षसँगै आगामी दिनमा व्यवस्थापनका चुनौति निकुञ्ज सामु देखिएका छन्। ‘स्थानान्तरणको एक चरण सफल भयो। अब दोस्रो चरण सुरु भएको छ।’ कोषका कार्यालय प्रमुख जोशीले भन्नुभयो। कृष्णसार स्थानान्तरणपछि सुरुवातमा यसको मृत्युदर उच्च थियो। यतिबेला प्राकृतिक मृत्युबाहेक अन्य कारणले मृत्यु हुने क्रम घटेको छ। ‘सुरुमा सिकाइका दौरमा मृत्युदर बढी थियो। अहिले प्राकृतिक बाहेक भाले आपसमा जुधेर र नवजात बच्चाको अन्य वन्यजन्तुको आक्रमणका कारणले गर्दा केहीको मृत्यु हुने गरेको छ। रोगब्याधीबाट मर्ने क्रम भने न्यून भएको छ।’ कोष शुक्लाफाँटाका कार्यालय प्रमुख जोशीले प्रत्यक्ष निगरानी र औषधोपचारले कृष्णसार जोगाउन गरिएका कार्यबारे जानकारी गराउँदै भन्नुभयो।
किन सारिए शुक्लाफाँटामा कृष्णसार :
विश्वमै निकै थोरै सङ्ख्यामा रहेका संकटापन्न कृष्णसार लोप हुनसक्ने सम्भावनालाई दृष्टिगत यहाँको बासस्थान उपयुक्त देखिएपछि स्थानान्तरण गरिएका हुन।
कृष्णसारको संख्या निकै कम भएकाले भविष्यमा खैरापुरका कृष्णसार रोगब्याधी वा अन्य कुनै कारणले सङ्कटमा परे पनि यहाँका सुरक्षित रहने अभिप्रायले स्थानान्तरण गरिएको। निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहता बताउँनु भयो। राष्ट्रिय प्रकृति संरक्षण कोषको आर्थिक र प्राविधिक सहयोगमा कृष्णसार स्थानान्तरण गरिएको हो।
नेपालमा सबै भन्दा बढी कृष्णसार खैरापुरमा छन्। करिब चार वर्षको अध्ययन अनुसन्धानपछि शुक्लाफाँटामा कृष्णसार स्थानान्तरण गरिएका हुन्। शुक्लाफाँटा उपयुक्त बासस्थान देखिएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले स्थानान्तरणको निर्णय गरेको हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तरगत संरक्षित वन्यजन्तुमा सूचिकृत कृष्णसार नेपालमा सबै भन्दा बढी खैरापुरमा छन्। अहिले हिरापुर फाँटाकै हाराहारीमा त्यहाँको संख्या रहेको छ। कृष्णसार यसअघि नेपालगञ्ज, ललितपुरको सदर चिडियाखान र खैरापुरसँगै काठमाडौँको मृगस्थलीमा मात्रै पाइन्थे।
कृष्णसार कहाँ र कसरी राखिएका छन् :
राजमार्गको दैजि–झलारी सडकखण्डको करिब मध्यदेखि चार किलोमिटर उत्तरतर्फ हिरापुर फाँटा छ। जहाँ ५८ दशमलव आठ हेक्टर फाँटा जाली (ग्याभेन) तारबारले घेरिएको छ। जसभित्र कृष्णसारको बासस्थान छ। कृष्णसारका लागि त्यहीभित्र कृत्रिम ताल र ‘सेड हाउस’ (छहारी) निर्माण गरिएका छन्। कृष्णसारको रेखदेखका लागि निकुञ्जले फाँटामा पोष्ट स्थापना गरेको छ। पोस्टमा रेञ्जर सहित गेमस्काउट खटिएका छन्। यसअघि १७ हेक्टरमा स्थानान्तरण थालिएको हो।
निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेनाको अर्जुनी पोस्टदेखि पश्चिम उत्तरमा रहेको कृष्णसार बासस्थानमा विद्युतकालागि सोलार जडान गरिएको छ। बासस्थानसम्म पर्यटकको सहज आवागमनका निम्ति सडक ग्राभेल गरिएको छ। कृष्णसार अवलोकनका लागि मचान समेत निर्माण गरिएको छ।
कृष्णसार राखिएको स्थानमा चार ‘ब्लक’ छन्। जसमा बासस्थानसँगै आहाराको व्यवस्था गरिएको छ। कृत्रिम घाँसपात पर्याप्त नहुने भएकाले समयसमयमा घाँस, मकै लगायतका बिउ छर्ने गरिन्छ। ब्लकमा ट्रयाक्टरले जोतेर घाँस मकै छर्ने गरिन्छ।
कोषका प्राविधिक देवराज जोशीका अनुसार कृष्णसारलाई दैनिक रुपमा पशु आहार (चोकर), चना, भटमासलगायतका गेडागुडी, जुकाको औषधी र भिटामिन समयसमयमा खुवाउने गरिन्छ।
कस्तो हुन्छ कृष्णसार :
कृष्णसारलाई अंग्रेजी भाषामा ब्ल्याकबक भनिन्छ। यो एन्टिलोप प्रजातिमा पर्दछ। यो दुर्लभ र सुन्दर शरीरको भएको वन्यजन्तु हो। यसको आहारा घाँस, दुबो, सिरु, काँस आदि हुन। आकर्षक लामो घुमेको सिङ्ग, कालो र सेतो रङ्गको भुत्लाले तेजिलो सुन्दर देखिन्छ। हिन्दु धर्ममा यसलाई यसलाई ‘भगवान श्रीकृष्ण’ को साथीका रुपमा पनि लिइन्छ। आवादी छेउमा घरपालुवा जनावर गाई, भैंसी, भेडा बाख्राहरू सँगसँगै चर्ने र बस्ने समेत गर्दछ। जसका कारण यसको चोरीशिकारी सहज देखिन्छ। वयस्क कृष्णसारको भाले कालो र पोथी खैरो रङ्गको हुन्छ। वयस्क नभएसम्म भाले र पोथीको रङ्ग खैरो नै हुन्छ।
सरकारले लोप अवस्थामा पुगेपछि राष्ट्रिय निकायअन्तर्गत तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ सालदेखि कृष्णसारलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ। २०३२ सालमा २ वटा संरक्षणक्षेत्र सुरु गरेपछि कृष्णसारको सङ्ख्या २०४७ सालमा १ सय ७७ वटा पुगेको थियो।
बाँके, बर्दिया र कैलालीमा २००८ सालतिर कृष्णसार प्रशस्त पाइन्थे। तर २०३१ सालमा आइपुग्दा नेपालमा कृष्णसारको लोप भइसकेको अडकल काटिएको थियो। एक विदेशी विशेषज्ञले अनुसन्धानका क्रममा नेपालमा २ सयवटा कृष्णसार भेटेर जानकारी दिएपछि सरकारले सुरक्षाका लागि पाइला चालेको थियो।
कृष्णसार संरक्षणका मुख्य चुनौती :
कृष्णसार संरक्षणका प्रमुख चुनौति वासस्थान अतिक्रमण, चोरी शिकार, रोगव्याधी र बाढीलगायत हुन। बाढीका कारण २०७० सालमा बर्दियाको खैरापुर संरक्षण क्षेत्रमा ४० वटा कृष्णसार डुबेर मरेका थिए।
खुला जमिन र चौरमा बस्न रुचाउने जमिन अतिक्रमण हुँदा कृष्णसारको वासस्थान जोगाउन चुनौती छ। विगतमा औलो उन्मूलन भएपछि पहाडबाट मानिसको तराईमा बसाइँसराइ शुरु भयो। खुला घाँसे मैदानमा बासस्थान भएका भएका कृष्णसार चोरीशिकारको चपेटामा पर्यो। त्यसकारण यसको संख्या घट्दै गएको संरक्षणकर्मीको भनाई छ।
अब के गर्ने
अहिलेकै अवस्थामा कृष्णसार वृद्धि हुने हो भने वर्तमान बासस्थानको क्षेत्रफल साँघुरो हुँदैछ। यस्ता वन्यजन्तुको ‘भायबल पपुलेसन’ (निश्चित संरक्षित क्षेत्रबाट प्रकृतिमा बाँच्न सक्ने सङ्ख्या) सयको हाराहारी मानिने विज्ञहरूको भनाई छ। अहिले कृष्णसार संरक्षण कार्ययोजना निर्माणाधीन अवस्थामा छ। ‘निकुञ्जमै छाड्ने वा अन्यत्र सार्ने कार्य योजनाबनेपछि तय हुन्छ। विभागले निर्णय गरेपछि त्यहि कार्यान्वयन गर्ने हो।’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत मेहताले भन्नुभयो, ‘निकुञ्जले आफै खुला छोडन मिल्दैन। संरक्षणसँगै संख्या वृद्धिले व्यवस्थापन गाह्रो हुँदै गएको छ।’
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
राजेन्द्र भट्ट/ महेन्द्रनगर का अन्य पोस्टहरु:
- पुस्तान्तरणसँगै पाश्चात्य घेराबन्दीमा देउडाको मौलिकता
- फेरि उड्न थाल्यो प्रकृतिको कुचिकार
- हात्तीले मर्छकाई लैग्यो लालझारीका केला
- शुक्लाफाँटाका पुतली पहिलो पटक पुस्तकमा
- ‘ट्रान्जिट प्वाइन्ट’ कञ्चनपुर: चरेसबाट ब्राउन सुगरमा फड्को
- किन सम्झने भीमदत्तलाई?
- लोप हुन लाग्यो रानाथारूको साउने डोला
- बाघ दिवसः विश्वसामु नेपालको इज्जत जोगाउने शुक्लाफाँटा
- भाँचियो ठाडी भाखाको मेरुदण्ड
- विजयसाल नै सकिए कसरी जोगिएला सुदूरपश्चिमको ‘ब्राण्ड’ अम्खोरा?