‘ट्रान्जिट प्वाइन्ट’ कञ्चनपुर: चरेसबाट ब्राउन सुगरमा फड्को

राजेन्द्र भट्ट /महेन्द्रनगर

केही वर्षअघिसम्म चरेस तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ का रुपमा चिनिएको कञ्चनपुर जिल्ला अचेल ब्राउन सुगर (खैरो हेरोइन) कारोबारको अखडा बन्दै गएको छ। ब्राउन सुगरका तस्कर, कारोबारी र प्रयोगकर्ताको जालो नै सीमान्त जिल्लाभरी फैलिएको पछिल्ला घटनाक्रम र तथ्याङ्कले उजागर गरेको छ। तस्कर, कारोबारी र सेवनकर्ता दिनैपिच्छे प्रहरीले समात्नुले लागूऔषधको जालोमा युवापिढी फस्दै गएका र यसले विकराल रूप लिँदै गएको समेत पुष्टि गरेको छ।

साउन ५ गते कञ्चनपुरको दक्षिणपूर्वी पुर्नबास नगरपालिका–११ अमरबस्तीमा तीनजना भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ परे। भारतबाट नेपाल आउँदै गरेका उनीबाट ७८ दशमलव ३७ ग्राम खैरो हेरोइन बरामद गर्‍यो। उक्त परिणाम अहिलेसम्मकै धेरै भएको प्रहरीको दाबी छ। तीन वर्षअघि एक वर्षको अवधीमा प्रहरीले ६३ ग्राममात्रै खैरो हेरोइन बरामद गरेको तथ्याङ्क छ। पुर्नबास भारतसँग सीमावर्ती नगरपालिका हो।

त्यस्तै साउन १२ गते शुक्लाफाँटा नगरपालिका– ११ का राकेश रावललाई नौ दशमलव ३१ ग्राम खैरो हेरोइनसहित बेलौरी नगरपालिका – ६ मसान घाटमा इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लियो। रावल पक्राउ परे लगत्तै थप दुई जना प्रयोगकर्तालाई रावलले दिएको सूचनाका आधारमा लालझाडी गाउँपालिका–६ चान्देवबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

लागूऔषधको कारोबार र सेवनमात्रै नभई त्यसको ‘ओभरडोज’ ले ज्यानै गुमाएका घटनाहरूले अभिभावकलाई भयभीत बनाएको छ। गत वैशाखयता भीमदत्त नगरपालिकामा दुई जना २०/२२ बर्ष उमेरका युवकले लागूऔषधको ‘ओभरडोज’ का कारण ज्यान गुमाइसकेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा भनिएको छ। दुबै जनाको भिसेरा रिर्पोट आउन बाँकी छ। यिमध्ये एकको जापानको भिसा लागिसकेको थियो।

माथि उल्लेखित लागूऔषधका कारण भएका उदाहरण घटनामात्रै हुन्। केही बर्षयता लागूपदार्थ प्रयोगकर्तामा पनि ब्राउन सुगरले युवापिढीलाई गाँजेको प्रहरी तथ्याङ्कले देखाउँछ। विश्वव्यापी कोरोनाको महामारी यता प्रहरीको सक्रियतामा यस्ता क्रियाकलापका घटना बढी सार्वजनिक भएका छन्।

यस्तो छ तथ्याङ्कगत वस्तुस्थिति :

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याकं हेर्दा पछिल्ला दुई आर्थिक वर्षमा लागूऔषधका मुद्दा अकासिएका छन्। चार वर्ष यताको लागूऔषधका मुद्दा हेर्दा आर्थिक वर्ष ०७५/०७६ मा ४६ र आव ०७६/०७७ मा ५५ मुद्दा मात्रै दर्ता भएका थिए। जिप्रकाको तथ्याङ्क अनुसार यी दुई आवको तुलनामा यसपछिका दुई आवमा भने लागूऔषधका मुद्दा करिब तेब्बर बढी भएका छन्।

आव ०७७/०७८ मसान्तसम्म एक सय ४१ र ०७८/०७८ मा एक सय ४३ मुद्दा लागूऔषधका दर्ता भएको जिप्रकाको तथ्याङ्कमा उल्लेख गरिएको छ।

मुद्दा दर्तासँगै लागूऔषधमा पक्राउ पर्ने व्यक्तिको संख्या पनि पछिल्ला दुई बर्षमा बढी छ। आव ०७७/०७८ मा दुईसय ३० जना पक्राउ परेका छन्। अघिल्लो आर्थिक वर्ष भन्दा पक्राउ पर्नेको संख्या पनि करिब तीन गुना बढी छ। आव ०७६/०७७ मा ८७ जना पक्राउ परेका थिए। यस्तै त्यसको एक वर्ष अघि आव ०७५/०७६ मा ७२ जना पक्राउ परेको जिप्रकाको तथ्याङ्कमा उल्लेख छ। पक्राउ पर्नेमा महिला पनि छन्। प्रहरीले लागूऔषधसहित पक्राउ गरेका व्यक्तिको सङ्ख्यालाई हेर्दा लुकिछिपी सेवन र कारोबार गर्नेको संख्या अनुमान गर्न सहज छैन्।

मुद्दा दर्ता र पक्राउ पर्नेको संख्यामात्रै बढी नभएर प्रहरीले बरामद गरेको लागूऔषध ब्राउन सुगरको मात्रा पनि अत्यधिक रहेको छ। आव ०७७/०७८ मा प्रहरीले आठ सय ३९ ग्राम ब्राउन सुगर नियन्त्रणमा लिएको थियो। प्रहरीले समातेको ब्राउन सुगरको मात्रा त्यसअघिका दुई बर्षको तुलनामा कयौं गुणा बढी हो। आव ०७५/०७६ मा २३ ग्राम र आव ०७६/०७७ मा ६३ ग्राममात्रै रहेको थियो। गत आवमा भने बरामद गरिएको ब्राउन सुगरको मात्रा केही कम देखिएको छ। आव ०७८/०७९ मा प्रहरीले पाँचसय ८० ग्राम भन्दा बढी ब्राउन सुगर बरामद गरिएको छ।

बढ्दैछ प्रहरीको सक्रियता:

प्रहरीले बरामद गरेको तथ्याङ्क वर्षेनी तलमाथि भएपनि ब्राउन सुगर व्यापार र प्रयोगकर्ता दिनानुदिन बढ्दै गएको प्रहरी अधिकारीहरूको भनाई छ।

जिप्रका कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायब निरीक्षक चक्रबहादुर शाह पछिल्लो समयमा धमाधम ब्राउन सुगरसहित व्यक्ति पक्राउ पर्नुले यसका प्रयोगकर्ताको संख्या जिल्लामा धेरै रहेको बताउँनु हुन्छ। ‘यहाँ ड्रग्स युजर धेरै फेला पर्न थालेका छन्। त्यसका आधारमा लागूऔषध सेवनकर्ताको वास्तविक संख्या धेरै रहेको अनुमान गर्न सकिन्छ।’ कञ्चनपुर प्रहरी प्रवक्ता शाहले भन्नुभयो, ‘प्रहरीको सक्रियता पनि अहिले लागूऔषध मै बढी केन्द्रित रहेको छ। जसको प्रतिफल यति धेरै सङ्ख्यामा लागूऔषध र प्रयोगकर्ता पक्राउ पर्नु हो।’

प्रहरीका अनुसार खुला सीमानाका भएका कारण भारतबाट ब्राउन सुगर नेपाल भित्रिने गरेको छ। यसका प्रयोगकर्ता र कारोबारी सीमा पारीका तस्करको सम्पर्कमा रहने गरेका हुन्छन्। बेलामौका हेरेर सीमामै लेनदेन हुने गरेको पाइएको छ। भारतीय तस्करले सीमामै लेनदेन गरी फर्कने गरेका कारण मुख्य तस्कर समात्न गाह्रो भएको प्रहरीको भनाई छ।

प्रहरी प्रवक्ता शाहले ब्राउन सुगर जिल्लामा भित्रिँदै गरेको जानकारीका आधारमा प्रहरी सक्रिय भई लाग्ने गरेको बताउँनु हुन्छ। ‘हामीले सूचना र शङ्काको आधारमा केही व्यक्ति मात्रै समात्न सकेका छौं। यसको जालो नै छ। प्रहरीमात्र नभई अभिभावकका लागि पनि यो ठुलो चुनौतीका रुपमा रहेको छ।’

लागूऔषध सेवन र यसको बेचबिखनमा युवा पिढी नै बढी रहेका छन्। प्रहरी प्रवक्ता शाहले भन्नुभयो ‘किशोरावस्थादेखि ३५/४० वर्षसम्मका युवा बढी सक्रिय छन्।’ प्रयोगकर्ता मध्येकै कहिले यसको व्यापार पनि गर्ने गरेको प्रहरीको भनाई छ।

प्रहरीका अनुसार भारतीय तस्करबाट ल्याएको ब्राउन सुगर केहि मात्रा आफूले प्रयोग गर्ने र केही बिक्री गर्ने गरेको पाइएको छ। क्रेताबाट आएको मुनाफालाई उनीहरूले फेरि ब्राउन सुगर खरिदमै लगाउने गरेका छन्। लागूऔषध सेवन गर्नेमा धनि गरिब सबै वर्गका रहेको प्रहरीले जनाएको छ।

प्रहरी प्रवक्ता शाहले लागूऔषध नियन्त्रणमा प्रहरी सक्रिय भई लागेको जानकारी गराउँदै भन्नुभयो, ‘यो प्रहरीले मात्रै पक्राउ गरेर, मुद्दा चलाएर, अदालतले जेल सजाए गरेर समाधान हुन सम्भव छैन। त्यसका लागि मुख्यतया अभिभावकले आफ्ना बालबालिकाप्रति बढी ध्यान र चासो राख्नुपर्ने देखिन्छ। अभिभावकको निगरानी आवश्यक छ। किन भने यसमा फसे भविष्यमै बरबाद हुने अवस्था छ।’

पछिल्लो समयमा एकल परिवारको अवधारणासँगै युवामा पीढीमा एक्लोपना र स्वतन्त्रता पनि लागूऔषध सेवन तर्फ लाग्नुका कारणहरूमध्ये एक भएको प्रहरी प्रवक्ता शाहले औँल्याउनु हुन्छ। ‘अहिले संयुक्त परिवार बिरलै भेटिन्छन्। आमाबुबा जागिरमा हुन्छन् वा वैदेशिक रोजगारीमा गएको अवस्था छ। घरमा एक्लोपनाले बाहिर बढी निस्कन थाल्छन्। घरबाहिर साथीभाइसँग देखासिकी रमाइलोको नाममा लागूऔषधको लतमा फसिसकेपछि मात्रै परिवारले थाहा पाउने गरेको छन्।’ अभिभावहरूले त्यसो हुन नदिन आफ्ना बालबालिकाका गतिविधि र साथी सङ्गतकै निगरानी गर्नु आवश्यक भएको उहाँको सुझाव छ।

महेन्द्रनगरका धुमपान अभियन्ता तथा समाजसेवी मदन चन्द लागूऔषधले युवापिढीको भविष्य र परिवारलाई भताभुंग गरेको बताउँदै  भन्नुहुन्छ, ‘यस्ता कुलतमा फसेका युवालाई सुध्रिने अवसर दिनुपर्छ। त्यसका लागि ‘रिह्याभ सेन्टर’ आवश्यक छन्। यसका लागि स्थानीय र प्रदेश सरकारले आवश्यक पहल थाल्नु पर्ने देखिन्छ।’ लागूऔषध सेवन गर्नु अपराध नभएर एक रोगजस्तै भएको बताउँनु हुँदै कार्वाहि सँगसँगै उनीहरूको पुर्नस्थापनाको पनि अहम् भएको जिकिर गर्नुहुन्छ।

कानुनी प्रावधान

लागूऔषधमा  फसेका बढी युवापिढी नै छन्। पक्राउपछि कैद सजाय भएमा उनीहरूको गरिखाने उमेर जेलमै बित्ने देखिन्छ। लागूऔषधमा २५ ग्रामसम्म पाँचदेखि १० वर्ष कैद र पाँच हजारदेखि २५ हजारसम्म जरिवाना तोकिएको छ। यस्तै, २५ ग्रामदेखि सय ग्रामसम्म १० देखि १५ वर्ष कैद र ७५ हजारदेखि दुई लाखसम्म जरिवाना र सय ग्रामभन्दा माथि १५ वर्षदेखि आजीवन कैद र पाँचलाखदेखि २५ लाख जरिवाना हुने कानुनी व्यवस्था छ। यसैगरी सेवनकर्ताको हकमा एक ग्रामसम्म फेलापरेमा एक बर्ष कैद वा दश हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ।

चरेसको अवैध कारोबार पनि उस्तै:

ब्राउन सुगरसँगै चरेस अघिल्लो आवको तुलनामा गत आवमा बढी मात्रामा बरामद भएको छ। प्रहरीले ०७७/०७८ मा एक किलो पाँचसय ५१ ग्राम चरेस बरामद गरेको थियो भने त्यसको एक वर्षपछि गत आव अर्थात ०७८/०७९ को अवधीमा कञ्चनपुर प्रहरी ठुलो मात्रामा चरेस समात्न सफल भएको थियो। प्रहरीले ३३ किलो नौसय ८५ ग्राम बढी चरेस नियन्त्रणमा लिएको छ। तीन वर्षअघि आव ०७६/०७७ मा पनि २१ किलो चरेस बरामद गरेको जिप्रकाको तथ्याङ्कमा उल्लेख छ।

लागू औषधका मुद्दामा प्रहरीले आव ०७६/०७७ मा ५५ मुद्दामा ८७ जना,  आव ०७७/०७८ मा एक सय ४१ मुद्दामा दुई सय ३० जना र आव ०७८/०७९ मा एक सय ४३ दुई सय ३९ जना पक्राउ गरेको जिप्रकाले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ। जिप्रकाको तथ्याङ्कमा उल्लेख भए अनुसार ब्राउन सुगर, चरेस, अफिमसँग नसा गर्न प्रयोग गरिने औषधीजन्य पदार्थ पनि प्रहरीले ठुलो मात्रामा बेलाबखत बरामद गर्दै आएको छ। जसमा नाइट्राभेट, फेनारगन, स्पामो, नाईट्राजेपाम बढी रहेका छन्।

आवरण चित्रः अमेरिकी कलाकार रायन स्लोजको पेन्टिङ

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

राजेन्द्र भट्ट/ महेन्द्रनगर का अन्य पोस्टहरु:
‘ट्रान्जिट प्वाइन्ट’ कञ्चनपुर: चरेसबाट ब्राउन सुगरमा फड्को
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link