स्मार्टफोन बजारमा कालो बादलले बुझाएको अर्थतन्त्र

एप्पलले भारतलाई आगामी विशाल विकास क्षेत्र रहेको बताउँदै आए पनि त्यहाँ स्मार्टफोन बजारमा कालो बादल मडारिइरहेको देखिएको छ । स्मार्टफोन उद्योगको तथ्यांकले भारतमा मोबाइल फोनको बिक्री सन् २०१९ पछिकै कम छ । गत महिना भारतमा दुई आधिकारिक स्टोर खोलेको एप्पल कम्पनीले आफ्नो बजारको हिस्सा बढाएको छ । सस्तो मूल्यमा फोन बेच्ने अन्य प्रतिस्पर्धी मोबाइल कम्पनीले भने आफ्नो फोन बेच्न संघर्ष गर्नुपरेको बिबिसीले उल्लेख गरेको छ ।

रिसर्च फर्म इन्टरनेसनल डेटा कर्पोरेसन (आइडिसी) ले जनाए अनुसार यो वर्षको पहिलो तीन महिनामा भारतमा तीन करोडभन्दा बढी स्मार्टफोन भित्रिए, जुन गत वर्षको सोही अवधिको तुलनामा १६ प्रतिशत कम थियो । आइडिसीका अनुसार अनिश्चित आर्थिक संकटबीच कम माग आउँदा मोबाइलको भन्डारण धेरै भएको हो । लगातार पहिलो त्रैमासमा घट्दो बिक्रीका बीच यो वर्ष भारतको स्मार्टफोन बजार सपाट रहने पनि आइडिसीको रिपोर्टमा उल्लेख छ । तर, केही विश्लेषकहरूले ‘प्रिमियमीकरण’ बढ्दा धनी उपभोक्ता झनै महँगा उत्पादनतिर बढ्ने बताएका छन् ।

टेक्नोलोजी मार्केट रिसर्च फर्म काउन्टर प्वाइन्टका प्राचीर सिंहले यो वर्ष (सन् २०२३) को पहिलो तीन महिनामा प्रिमियम सेगमेन्टको हिस्सा गत वर्षको तुलनामा दोब्बर भएको बताउँछन् । तर एप्पल र सामसङजस्ता ब्रान्डले यसको भरपूर फाइदा उठाएका छन् । चीनको मोबाइल निर्माता कम्पनी साओमी र रियलमीजस्ता कम्पनीद्वारा बनाइएका सस्ता फोनको माग कठिन आर्थिक अवस्थाले प्रभावित बनेको छ । विशेषज्ञहरू भन्छन्, ‘प्रयोगकर्ताले आफ्नो फोन अपग्रेड गर्नमा धेरै समय लगाउँदा बजार प्रभावित हुन्छ ।’

एप्पलको भाग्य र सस्ता उपकरणका लागि खुम्चिँदै गएको बजारबीचको भिन्नताले एसियाको तेस्रो ठूलो अर्थतन्त्रमा महामारीपछिको असमान रिकभरीलाई झल्काउँछ । इन्डिया रेटिंग्स एन्ड रिसर्च भन्छ, ‘अंग्रेजीको के आकारको रिकभरीले उपभोगको मागलाई फराकिलो बन्न दिएको छैन । न आयको तल्लो जनसंख्याको तलब वृद्धि नै गरेको छ । परिणामतः अटोमोबाइल, मोबाइल फोन र अन्य विलासी वस्तुको माग बढिरहेको छ । तैपनि उपभोग्य वस्तुको माग कम छ ।’

फेडेरेसन अफ अटोमोबाइल डिलर्स एसोसिएनका अध्यक्ष मनिषराज सिंघानियाका अनुसार कोभिड महामारीको चपेटामा आउनुअघि सन् २०१९ को तुलनामा यो वर्ष एन्ट्री–लेभल स्कुटरको बिक्रीमा २० प्रतिशतले गिरावट आएको थियो । यसले कम आय हुने उपभोगकर्ता अझै पनि अपग्रेड गर्न संकोच मानिरहेको र भारतीय ग्रामीण अर्थतन्त्रमा जारी समस्यालाई पनि दर्शाउँछ ।

भारतमा ग्रामीण क्षेत्रको मागको कमी पनि स्न्याक्स र फिजी पेयपदार्थजस्ता उपभोग्य वस्तुहरूमा गिरावट आउनुका साथै डेढ वर्षको दोहोरो अंकको वृद्धि पनि एकल अंकमा झरेको छ । गत वर्ष मार्चमा वार्षिक २० प्रतिशतका दरले बढेको वस्तु तथा सेवामा हुने घरेलु खर्च यो वर्ष पनि तीव्र रूपमा घटेको छ । यो सब भारतीय उपभोक्ता उच्च ब्याजदर र चर्को मुद्रास्फीतिका कारणले मारमा परेका बेला भएको हो । समग्रमा भन्नुपर्दा भारतको आर्थिक वृद्धि यो वर्षको पहिलो तीन महिनाका लागि सुस्त भई ४.१ प्रतिशत पुग्यो । जबकि एक वर्षका लागि यो वृद्धि अत्यन्तै न्यून रहेको तथ्यांकहरूले बताउँछन् ।
बिबिसीबाट

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

प्रबन्ध सम्पादक: राजेश घिमिरे

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link
Powered by Social Snap