नेपाल राष्ट्र बैँकले चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै बैँकदर घटाएको छ । यसअघि साढे ८ प्रतिशत रहेको बैँकदरमा १ प्रतिशत घटाएर ७ प्रतिशत कायम गरेको हो । यस्तै, ७ प्रतिशतको नीतिगत दरलाई भने यथावत् राखेको राष्ट्र बैँकले जनाएको छ ।
राष्ट्र बैँकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत आर्थिक गतिविधि चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाएको छ । ‘मौद्रिक नीतिको कार्यदिशालाई मुद्रास्फीति र विदेशी विनिमय सञ्चितिको वर्तमान अवस्था र सम्भावित परिदृश्यको आधारमा समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आन्तरिक आर्थिक गतिविधिहरु चलायमान बनाउन सहयोग पुर्याउने गरी सजगतापूर्वक केही लचिलो बनाइएको छ,’ मौद्रिक नीतिको समीक्षामा राष्ट्र बैँकले भनेको छ ।
यस्तै, समीक्षामार्फत बैंकले ८.५ प्रतिशतको बैंकदरमा उपलव्ध गराउँदै आएको दैनिक तरलता सुविधालाई अद्र्धवार्षिक समीक्षादेखि नीतिगत दर ७ प्रतिशतमा उपलव्ध गराउने व्यवस्थासमेत गरेको छ । फलस्वरुप, अन्तरबैंक ब्याजदरमा १.५ प्रतिशत बिन्दुले कमीे आएको राष्ट्र बैँकले जनाएको छ । यसैगरी दैनिक तरलता सुविधालाई नीतिगत दरमा प्रदान गरिने व्यवस्थालाई निरन्तरता दिइएको बताइएको छ ।
आर्थिक वर्ष २०७९/८० मा कम्तिमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने लक्ष्य रहेकोमा २०७९ चैत मसान्तमा ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति रहेको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षामा उल्लेख छ । यसका साथै आर्थिक वर्ष २०७९÷८० मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ७.० प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य रहेकोमा पहिलो नौ महिनामा औसत उपभोक्ता मुद्रास्फीति ७.९१ प्रतिशत रहेको जनाइएको छ ।
ब्याजदरको स्थिति
मौद्रिक नीतिको संचालन लक्ष्यको रुपमा लिइएको बैंक तथा वित्तीय संस्थाबीचको भारित औसत अन्तर–बैंक दर २०७८ चैतमा ६.९९ प्रतिशत रहेकोमा २०७९ चैतमा ७.०१ प्रतिशत कायम भएको छ । यस्तै, २०७९ चैतमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर ९.७४ प्रतिशत कायम भएको छ । २०७८ चैतमा यस्तो ब्याजदर ७.५८ प्रतिशत रहेको थियो ।
वाणिज्य बैंकहरुको औसत आधार दर २०७९ चैतमा १०.४८ प्रतिशत रहेको छ । २०७८ चैतमा यस्तो दर ९.१७ प्रतिशत रहेको थियो । २०७९ चैतमा निक्षेपको भारित औसत ब्याजदर ८.२६ प्रतिशत रहेको छ । २०७८ चैतमा यस्तो ब्याजदर ७.११ प्रतिशत रहेको थियो । त्यसैगरी, २०७९ चैतमा कर्जाको भारित औसत ब्याजदर १२.८४ प्रतिशत रहेको छ । २०७८ पुसमा यस्तो ब्याजदर १०.७८ प्रतिशत रहेको थियो । २०७९ माघदेखि निक्षेपको भारित औसत ब्याजदर र भारित औसत आधार दर घट्न शुरु गरेको राष्ट्र बैँकले जनाएको छ ।
निक्षेप र कर्जाको भारित औसत वास्तविक ब्याजदर २०७८ चैतको तुलनामा २०७९ चैतमा बढेको छ । २०७९ चैतमा निक्षेपको भारित औसत वास्तविक ब्याजदर ०.५० प्रतिशत र कर्जाको भारित औसत वास्तविक ब्याजदर ५.०८ प्रतिशत रहेको छ । २०७८ चैतमा निक्षेपको भारित औसत वास्तविक ब्याजदर ०.१७ प्रतिशतले ऋणात्मक रहेको थियो भने कर्जाको भारित औसत वास्तविक ब्याजदर ३.५० प्रतिशत रहेको थियो ।
वैदेशिक व्यापारमा गिरावट
मौद्रिक नीतिको समिक्षामार्फत राष्ट्र बैँकले वैदेशिक व्यापारमा गिरावट आएको बताएको छ । आर्थिक वर्ष २०७९÷८० को नौ महिनासम्ममा वस्तु निर्यात २६.३ प्रतिशत, वस्तु आयात १८.१ प्रतिशत र व्यापार घाटा १७.१ प्रतिशतले घटेका हो । चालु आर्थिक वर्षको नौ महिनाको मासिक औसत आयात रु.१३३ अर्ब ५० करोड छ । आयात प्रतिबन्ध र प्रतीतपत्र खोल्दा नगद मार्जिन राख्नु पर्नेसम्वन्धी व्यवस्था हटाइएसँगै आयात र व्यापार घाटाको घट्दो क्रम भने कम हुँदै गएको राष्ट्र बैँकको भनाइ छ । यस्तै, चालू वर्ष वस्तु आयात करीब रु.१६५० अर्ब हुने अनुमान पनि गरेको छ ।
५१ अर्बले चालू खाता घाटामा
राष्ट्र बैँकले चालू आर्थिक वर्ष चालु खाता सुधार भए पनि अझै घाटामा रहेको बताएको छ । चालु आर्थिक वर्षको नौ महिनासम्ममा चालु खाता रु.५१ अर्ब ८२ करोडले घाटामा रहेको छ । तथापि, पुँजी आप्रवाह, उधारो आयात र बाह्य ऋण परिचालनका कारण शोधनान्तर स्थिति भने रु.१८० अर्ब १७ करोडले बचतमा रहेको छ । गत आर्थिक वर्षको यसै अवधिमा चालु खाता रु.५१० अर्ब ५८ करोड र शोधनान्तर स्थिति रु.२६८ अर्ब २६ करोडले घाटामा रहेको थियो ।
रेमिट्यान्स आप्रवाह १४ प्रतिशतले वृद्धि
रेमिट्यान्स (विप्रेषण) आप्रवाह सुधारोन्मुख रहेको पाइएको छ । आर्थिक वर्ष २०७९÷८० को नौ महिनासम्ममा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २४.२ प्रतिशत र अमेरिकी डलरमा १३.९ प्रतिशतले बढेको हो । वैदेशिक रोजगारीमा गएका नेपालीको संख्यालाई दृष्टिगत गर्दा विप्रेषण आप्रवाह आगामी महिनाहरुमा पनि सन्तोषजनक रहने राष्ट्र बैँकले जनाएको छ ।
विदेशी विनिमय सञ्चिति पर्याप्त
‘विदेशी विनिमय सञ्चिति लक्ष्यभन्दा माथि न्यूनतम लक्षित स्तरभन्दा माथि रहेको छ । २०७९ असार मसान्तको तुलनामा कुल विदेशी विनिमय सञ्चिति १७.९ प्रतिशतले वृद्धि भई २०७९ चैत मसान्तमा रु.१४३३ अर्ब ७३ करोड पुगेको छ,’ मौद्रिक नीति समीक्षामा भनिएको छ, ‘अमेरिकी डलरमा यस्तो सञ्चिति १४.८ प्रतिशतले वृद्धि भई १० अर्ब ९४ करोड पुगेको छ । चालु आर्थिक वर्षको नौ महिनासम्मको आयातलाई आधार मान्दा विदेशी विनिमय सञ्चितिले वस्तु आयात धान्न सक्ने क्षमता ११ महिना र वस्तु तथा सेवा आयात धान्न सक्ने क्षमता ९.४ महिना बराबर रहेको छ ।’
आर्थिक वृद्धि कम हुने संकेत
चालू आर्थिक वर्ष आर्थिक वृद्धि दर कम रहने राष्ट्र बैँकले जनाएको छ । मौद्रिक नीतिको तेस्रो त्रैमासको समिक्षा गर्दै राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०७९÷८० मा आर्थिक वृद्धि आधारभूत मूल्यमा २.१६ प्रतिशत र उत्पादकको मूल्यमा १.८६ प्रतिशत रहने अनुमान गरेको बताएको छ । तरलता सहज हुँदै गएको, ब्याजदर घट्दो क्रममा रहेको र चौथो त्रयमासमा पुँजीगत खर्च बढी हुने प्रवृत्ति रहेकोले निजी क्षेत्रमा हुने आर्थिक गतिविधि क्रमशः सहज बन्दै जाने बैँकको भनाइ छ ।
पर्यटन क्षेत्र सन्तोषजनक
तेस्रो त्रैमाससम्म कृषि र सेवा क्षेत्र अन्तर्गतका पर्यटन, शिक्षा, स्वास्थ्य, वित्तीय सेवा, प्रशासनिक सेवा जस्ता केही गतिविधिहरु सन्तोषप्रद रहेको राष्ट्र बैँकले जनाएको छ । मौसमी अनुकूलता र रासायनिक मलको उपलब्धताका कारण समग्रमा कृषि उत्पादनमा सकारात्मक प्रभाव परेको, विद्युत जडित क्षमता बढेको र विप्रेषण आप्रवाह सन्तोषप्रद रहेको समीक्षामा उल्लेख छ । यस्तै, विदेशी पर्यटकको आगमन संख्यामा सुधार भई पर्यटन क्षेत्रको पुनरुत्थानमा सहयोग पुगेको पनि राष्ट्र बैँकले समीक्षा गरेको छ ।
मुद्रास्फीति लक्ष्यभन्दा माथि
मौद्रिक नीतिको समीक्षा गर्दै नेपाल राष्ट्र बैँकले मुद्रास्फीति लक्ष्यभन्दा केही माथि रहेको जनाएको छ । २०७९ चैत मसान्तमा वार्षिक बिन्दुगत मुद्रास्फीति ७.७६ प्रतिशत रहँदा गत आवको सोही अवधिमा मुद्रास्फीति ७.२८ प्रतिशत रहेको थियो । गत वर्षको नौ महिनामा औसत मुद्रास्फीति ५.७३ प्रतिशत रहेकोमा चालु वर्षको नौ महिनामा औसत मुद्रास्फीति ७.९१ प्रतिशत छ । खाद्यान्न, दुग्धपदार्थ, घरायसी उपभोग्य वस्तुहरु, आयातीत वस्तुहरु र ईन्धनको मूल्य वृद्धिका साथै नेपाली रुपैयाँ अवमूल्यनका कारण उपभोक्ता मूल्यमा चाप परिरहेको छ । चालु आर्थिक वर्षको औसत मुद्रास्फीति लक्ष्यभन्दा केही माथि रहने राष्ट्र बैँकको आकलन छ ।
‘नेपालमा उपभोग्य वस्तुको मूल्य खासगरी आन्तरिक उत्पादन, आयातीत वस्तुहरुको मूल्य र थोक तथा खुद्रा बिक्रेताले लिने मार्जिनमा निर्भर रहने गर्दछ । आयाततर्फ, करीब दुई–तिहाई आयात भारतबाट हुने गरेको छ, भारतमा थोक मूल्य घट्दै गइरहेको छ,’ समीक्षामा भनिएको छ, ‘सन् २०२२ मार्च महिनामा भारतमा थोक मूल्य वृद्धि १४.६३ प्रतिशत रहेकोमा सन् २०२३ मार्च महिनामा १.३४ प्रतिशतमा झरेको छ । यसर्थ, बाह्य तथा आन्तरिक आर्थिक परिदृश्य र आयातीत वस्तुहरुको घट्दो मूल्य वृद्धिदरलाई दृष्टिगत गर्दा मूल्यमा रहेको चाप क्रमशःकम हुँदै जाने देखिन्छ । साथै, बिक्रेतालाई अस्वभाविक मार्जिन लिन नदिने गरी बजार अनुगमन प्रभावकारी बनाउन सकेमा र अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेअनुरुप नेपालमा पनि इन्धनको मूल्य समायोजन गरी सवारी साधनको भाडा दर घटेमा उपभोक्ता मुद्रास्फीति घट्न थप सहयोग पुग्नेछ ।’
२०७९ चैत महिनामा गरिएको मूल्य अपेक्षासम्बन्धी सर्वेक्षणमा सर्वसाधारणको मूल्य वृद्धिप्रतिको अपेक्षा २०७९ पुसकै स्तरमा रहेको बताइएको छ ।
मौद्रिक तथा वित्तीय क्षेत्र
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैँकले वार्षिक बिन्दुगत आधारमा २०७९ चैत मसान्तमा विस्तृत मुद्राप्रदाय ९.९ प्रतिशतले विस्तार भएको र समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले परिचालन गरेको कुल निक्षेप ११ प्रतिशत र निजी क्षेत्रतर्फ प्रवाह गरेको कर्जा ३.२ प्रतिशतले वृद्धि भएको जनाएको छ ।
यसैगरी, आर्थिक वर्ष २०७९÷८० मा विस्तृत मुद्राप्रदाय १२ प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा ८ प्रतिशतसम्मले वृद्धि हुने अनुमान राष्ट्र बैँकको छ । बैंकिङ्ग क्षेत्रको कर्जा प्रवाह क्षमतामा केही सुधार भए पनि आर्थिक एवम् गैरआर्थिक कारणले कर्जा माग प्रभावित भएको हुँदा मौद्रिक विस्तारको तुलनामा कर्जा प्रवाह भने न्यून भएको समीक्षामा उल्लेख छ ।
तरलता व्यवस्थापन सहज
बाह्य क्षेत्रमा आएको सुधारका कारण वित्तीय प्रणालीमा तरलताको स्थिति सहज हुँदै जाँदा ब्याजदर क्रमशः घट्न थालेको र फलस्वरुप, कर्जा र आन्तरिक माग पनि क्रमशः बढ्दै जाने राष्ट्र बैँकले जनाएको छ । समग्र माग व्यवस्थापनका साथै आन्तरिक उत्पादन विस्तार गर्न सकेमा मात्र बाह्य क्षेत्र र ब्याजदरमा आएको सुधार दिगो रहन सक्ने अनुमान पनि राष्ट्र बैँकको छ ।
निष्क्रिय कर्जा बढ्यो
मौद्रिक नीतिको तेस्रो बैंक तथा वित्तीय संस्थामा निष्व्रिmय कर्जा अनुपात बढेको समीक्षामा उल्लेख छ । आर्थिक शिथिलताका अतिरिक्त ऋणीको क्षमताभन्दा बढी कर्जा प्रदान गर्ने प्रवृत्ति, विगतमा कर्जा प्रवाहमा भएको तीव्र विस्तार र बैंकिङ क्षेत्रलक्षित गैरव्यावसायिक गतिविधिका कारण निष्व्रिmय कर्जा बढ्न गएको राष्ट्र बैँकको ठहर छ । यस्ता गैरव्यावसायिक गतिविधिले व्यावसायिक वातावरणमा समेत अनिश्चितता र जोखिम बढाएको बताइएको छ ।
‘बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जाको विद्यमान आकार, पुँजी पर्याप्तताको अवस्था, बाह्य क्षेत्र सुधार र वित्तीय स्रोत परिचालनको परिदृश्यलाई दृष्टिगत गर्दा आगामी दिनहरुमा तरलता र ब्याजदरमा सुधार आउन गई आर्थिक गतिविधि चलायमान हुन थप सहयोग पुग्ने देखिन्छ,’ राष्ट्र बैँकले भनेको छ, ‘तथापि, यसलाई दिगो बनाउन उत्पादन र उत्पादकत्व बढाउने गरी संरचनात्मक सुधार कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्नु आवश्यक रहेको छ ।’
बैंकले ८.५ प्रतिशतको बैंकदरमा उपलव्ध गराउँदै आएको दैनिक तरलता सुविधालाई अद्र्धवार्षिक समीक्षादेखि नीतिगत दर ७ प्रतिशतमा उपलव्ध गराउने व्यवस्था गरेको छ । फलस्वरुप, अन्तरबैंक ब्याजदरमा १.५ प्रतिशत बिन्दुले कमीे आएको छ । दैनिक तरलता सुविधालाई नीतिगत दरमा प्रदान गरिने व्यवस्थालाई निरन्तरता दिइएको छ । बैंक तथा वित्तीय संस्थाहरुबाट जारी भएका ऋणपत्रहरुलाई कर्जा–निक्षेप अनुपात गणना गर्ने प्रयोजनको लागि स्रोत (निक्षेप) को रुपमा समेत गणना गर्न पाउने विद्यमान व्यवस्थालाई २०८० पुस मसान्तसम्मको लागि निरन्तरता समेत दिने मौद्रिक नीति समिक्षामा भनिएको छ ।
पुनर्कजाको सुविधा
राष्ट्र बैँकले मौद्रिक नीति समीक्षामार्फत राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशन गर्ने तथ्याङ्कको आधारमा पछिल्ला दुई त्रयमाससम्म लगातार ऋणात्मक वृद्धि हुन गएका आर्थिक क्षेत्रहरुसँग सम्वद्ध ऋणीहरुले सुविधा पाउने गरी कोषमा उपलव्ध स्रोतको सीमाभित्र रही पुनर्कर्जा सुविधा उपलव्ध गराउने व्यवस्था मिलाउने भएको छ । यसैगरी, होटल तथा रेष्टुरेन्ट, पशुपंक्षी पालन, निर्माण क्षेत्रसँग सम्वन्धित कर्जा र ५ करोड रुपैयाँसम्मकोे अन्य क्षेत्रमा प्रवाह भएको कर्जालाई २०८० असार मसान्तभित्र पुनर्संरचना÷पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गर्ने जनाएको छ । अर्थतन्त्रको वास्तविक क्षेत्रमा देखिएको शिथिलतालाई दृष्टिगत गरी बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाहको विश्लेषण गरी आवश्यकता र औचित्यताको आधारमा पुनर्संरचना÷पुनर्तालिकीकरण गर्न सक्ने मौद्रिक नीतिमा उल्लेख छ ।
यस्तै, चालू आवको तेस्रो त्रैमासको मौद्रिक नीति समीक्षामार्फत वास्तविक क्षेत्रमा देखापरेको शिथिलताका कारणले कर्जा चुक्ता गर्न परेको कठिनाइलाई दृष्टिगत गरी अल्पकालीन तथा चालू पुँजी प्रकृतिका कर्जा लाई ब्याज नियमित भएको खण्डमा हर्जाना÷शुल्क नलिने गरी ०८० असार मसान्तभित्र म्याद थप गर्न सक्ने व्यवस्था गरिने राष्ट्र बैँकले जनाएको छ ।
लघुवित्तका ऋणीलाई कर्जा पुनर्तालिकीकरण
वास्तविक क्षेत्रमा देखापरेको शिथिलताका कारणले लघुवित्त वित्तीय संस्थाका सदस्य ऋणीहरुलाई कर्जा चुक्ता गर्न परेको कठिनाईलाई दृष्टिगत गरी सम्वन्धित संस्थाले आवश्यकता र औचित्यको आधारमा २०८० असार मसान्तभित्र कर्जाको पुनर्संरचना÷पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था मिलाएको राष्ट्र बैँकको भनाइ छ ।
मौद्रिक नीतिमा लिइएका उपायहरूको कार्यान्वयन स्थिति तथा विद्यमान राष्ट्रिय एवं अन्तर्राष्ट्रिय आर्थिक स्थिति र परिदृश्यलाई दृष्टिगत गरी मौद्रिक नीतिको कार्यदिशालाई सजगता पूर्वक केही लचिलो बनाइएको भन्दै यसको कार्यान्वयनबाट आन्तरिक तथा बाह्य क्षेत्र स्थायित्व सुदृढ भई आर्थिक गतिविधि सहज हुन सहयोग पुग्ने अपेक्षा राष्ट्र बैँकले गरेको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- पूर्वीचितवनका सिमसारमा ५५ प्रजातिका चरा भेटिए
- आठ करोडको लगानीमा पर्वतमा चुत्रो प्रशोधन उद्योग सञ्चालन
- मस्क र पूर्व ईयू प्रविधि प्रमुख ब्रेटनबीच जर्मनीको विषयमा विवाद
- लस एन्जलस आगलागीः भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
- सूर्योदय
- जलक्रिडा गर्दै मरुल
- भुवनेश्वरी मन्दिर
- चन्द्रमा
- चोभार सुक्खा बन्दरगाह
- मुसे चिल