धरतीको स्वर्ग अर्थात् स्वर्गद्वारी !

विश्वशान्तिका निम्ति महाप्रभुले सुरु गर्नुभएको अखण्ड महायज्ञको आवश्यकता र महत्व आज पनि उत्तिकै

समुन्द्र सतहबाट लगभग २१०० मिटरको उचाइँमा रहेको प्युठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नम्बर २ मा अवस्थित स्वर्गद्वारी साँच्चिकै सुन्दर, शान्त,रमणीय र अलौकिक स्वर्गतुल्य छ। महाभारत कालमा पाँच पाण्डव स्वर्ग जाने क्रममा यज्ञ गरेको स्थान भएकोले स्वर्गद्वारी नाम रहन गएको भन्ने लोकमान्यता छ। विसं १९१६ साल श्रावण शुक्ल एकादशीका दिन साविकको सखी गाविस वडा ९ रून्टी रोल्पाको गौतम (खत्री) परिवारमा जन्मनु भएका महाप्रभु ( बाल्यकालको नाम नारायण) जन्मको छैठौं दिनमा आमाले मासु खाएको थाहा पाएर आमाको दूध खान छाड्नुभएछ। तत्पश्चात गाईको दूध खाएर महाप्रभुको भौतिक देह हुर्किए छ। महाप्रभु सानैदेखि विलक्षण प्रतिभा भएको र अपत्यारिला (सामान्य रुपमा बालकले गरेको हो भनेर पत्यार लाग्न नसक्ने) क्रियाकलाप गर्नुभएको कुरा अहिले पनि सुन्न पाइन्छ। महाप्रभु सानै उमेरमा गाउँ नजिकैको ओडारमा ध्यान/तपस्या गर्न थाल्नुभएछ। महाप्रभुको यस्तो गतिविधिले बुवाआमालगायत आफन्तजन चिन्तित हुनुहुन्थ्यो रे। आफ्नो सानै उमेरको छोराको विलक्षण गतिविधि देखेर बुवाआमालाई चिन्ता लाग्नु स्वाभाविक नै थियो। साक्षात् नारायणको जन्म आफ्नै घर गाउँमा भएको बुवाआमा र आफन्तजनलाई कसरी थाहा हुन्थ्यो र?

भनिन्छ घरपरिवार र आफन्तहरूको दबाबबाट टाढा हुन महाप्रभुले आफूलाई कुष्ठरोग लागेको लीला पनि गर्न परेको थियो। गाउँमा कहिले आफन्त परिवारहरूको संसारिक मोहजालको दबाब त कहिले कुटी बनाएको गोठै जलाइदिने जस्ता घटनाले महाप्रभु विसं १९५१ सालमा स्वर्गद्वारी क्षेत्रमा आइपुग्नुभयो। स्वयं नारायणको अंशका रूपमा जन्मनुभएका महाप्रभु सम्पूर्ण ज्ञानले भरपूर हुनुहुन्थ्यो नै, साथै त्यो समय सम्ममा महप्रभुका चेलाहरू पनि बनिसकेका थिए। तत्कालीन समयमा हालको स्वर्गद्वारी ठूलै जंगलक्षेत्र भएकाले गोठालाहरूको गाईगोठ चरिचरण क्षेत्र थियो । महाप्रभुले गोठालालाई महाभारत कालमा पाँच पाण्डवले यज्ञ गरेको पवित्रस्थल हो यो, म यहाँ यज्ञ सुरू गर्छु। तपाईंहरूले गोठ सार्नुहोस भनेर अनुरोध गर्नुभएछ। तर गोठालाले नपत्याए पश्चात उक्त स्थानमा खनेर हेर्दा पुरानो यज्ञस्थल र यज्ञ सामग्रीहरू भेटिएछन्। उक्त घटनापश्चात् गोठाला गोठसार्न मन्जुर भएछन्। अनि उक्त स्थानमा महाप्रभुले वैदिकविधि मन्त्रोच्चारणका साथ विसं १९५२ साल वैशाख पूर्णिमाका दिनबाट विश्वशान्तिका निम्ति अखण्ड महायज्ञ सुरू गराउनुभयो।

वैदिक मन्त्रोच्चारणबाट यज्ञ गरिरहेकै समयमा ब्राह्मण टीकाराम गौतम मुखबाट अग्नि उत्पन्न भयाे। सोही पवित्र यज्ञस्थलमा सोही पवित्र अग्निलाई अखण्डित राख्दै हालसम्म वैदिक विधिपूर्वक अखण्ड महायज्ञ सञ्चालित हुँदै आएको छ। यसबाहेक स्वर्गद्वारीका अन्य धेरै महत्वपूर्ण कुरा उजागर हुन् बाँकी छन्। स्वर्गद्वारी पुगेर सिक्न बुझ्न र हेर्नलायक अन्य धेरै पक्ष र पाटा पनि छन्। तथापि यहाँ मुख्य-मुख्य कुरा बुँदागत रूपमा राखिएको छ ।

अखण्ड महायज्ञ

महाप्रभुको तपोभूमि पवित्र तीर्थस्थलको निकै महत्वपूर्ण पक्षमध्ये अखण्डमहायज्ञ स्थल/कुण्ड पनि हो। विश्व शान्तिको कामनासहित यो यज्ञकुण्ड महाप्रभुले विसं १९५२ साल वैशाख पूर्णिमाको दिनदेखि सञ्चालन गर्नुभएको हो। यो अखण्ड यज्ञ कुण्डमा प्रज्वलित भइरहेको अग्नि कृतिमतवरले उत्पन्न गरेको नभई वैदिक मन्त्रोच्चारण गर्दागर्दै ब्राह्मण टीकाराम गौतमज्यूको मुखबाट उत्पन्न भएको भन्ने भनाइ छ। वर्तमानको यज्ञ कुण्डमा पाँच पाण्डवहरूले स्वर्ग जाने क्रममा यज्ञ गरेका थिए। उक्त कुराको पुष्ट्याइँ यज्ञ सुरु गर्नुअगाडि महाप्रभुले यज्ञस्थलको उत्खनन गराई पुराना कोइला, चरूका अवशेष तथा घण्टी आदि भेटाएर गर्नुभएको थियो।

उक्त पवित्र अखण्ड महायज्ञ कुण्डमा दैनिक नित्य पूजा हुन्छन्।मुख्य यज्ञकुण्डसहित पाँच वटा यज्ञ कुण्ड छन्।सबै यज्ञ कुण्ड महाप्रभुले सुरु गर्नु भएदेखि अखण्डित रूपमा प्रज्वलित हुँदै आएका छन्। व्यासाननजिकै अखण्डित दीप प्रज्वलित हुँदै आएको छ। पूजा गर्दा मुख्य कर्ता स्वयं महाप्रभुलाई नै स्थापित गरेर गरिन्छ। उक्त पूजाआजा पूर्ण वैदिक विधिविधानअनुसार गरिन्छ। पूजाआजामा २४ ब्राह्मणहरू संलग्न हुन्छन्। नित्य पूजाआजापश्चात् आरती, अभिषेक, तिलकप्रसादी तथा पञ्चामृत वितरण गरिन्छ। स्वर्गद्वारी जाने हरेक श्रद्धालुले यी पूजाहरू नछुटाएर महाप्रभुले सुरु गर्नु भएको अखण्ड महायज्ञको द्रष्टा बन्दै आशिर्वाद लिँदा राम्रो हुनेछ।

मुख्य मन्दिर

मुख्य मन्दिर स्वर्गद्वारी पवित्र तीर्थस्थलको अर्को महत्वपूर्ण पक्ष हो।अखण्ड यज्ञ कुण्डदेखि नजिकै रहेको मुख्य मन्दिर महाप्रभुको समाधिस्थल पनि हो।महाप्रभु भगवान शिवको अंश (नारायणको अंशको रूपमा धर्तीमा जन्मनुभए पनि सन्यासपश्चात शैवमार्गी बन्नु भयो) हुनु भएकोले उहाँको समाधिको माथि शिवलिङ्ग स्थापना गरिएको छ। उक्त मुख्य मन्दिरमा दैनिक नित्य पूजाआजा गरिन्छ।नित्य पूजाआजापश्चात्भ क्तजनहरूलाई तिलकपाती,अभिषेक, प्रसादी तथा पञ्चामृत प्रदान गरिन्छ। मन्दिर दर्शन पूजाआजापश्चात् हरेक भक्तजनलाई प्रसादी वितरण कक्षबाट निःशुल्क प्रसादी वितरण गरिन्छ।  ग्रह शान्ति, रूद्री, लघुरूद्री, पुराण आदि लगाउन चाहने भक्तजनहरूलाई न्यूनतम शुल्क लिएर सेवा प्रदान पनि गरिन्छ।

गुप्ति सागर (गुफा)

स्वर्गद्वारी मुख्य मन्दिर परिसरबाट दक्षिण पश्चिमतर्फ १५ मिनेटको पैदल दुरीमा यो पवित्र गुफा छ। महाप्रभु उक्त गुफाको माध्यामबाट स्वर्गद्वारीबाट लगभग ४ देखि ५ किलोमिटर टाढा रहेको माडी (माण्डवी) नदीमा स्नान गर्न जाने आउने गर्नुभएको कुरा जानकार बताउँछन्। उक्त गुफाको मार्गबाट केही भक्तजन प्रवेश गर्दै माडी (माण्डवी) नदी तर्फ जाने प्रयत्न गरेकाले सुरक्षाको दृष्टिले केही समयअगाडि नेपाली सेनाले उक्त गुफाको मार्ग बन्द गरेको बुझिन आएको छ। तर गुफाको मुख्य द्वारसहित छोटो खण्ड भक्तजनका निम्ति खुल्ला राखिएको छ। स्वर्गद्वारी पुग्ने धेरै भक्तजनहरू उक्त गुप्ति सागर (गुफा) को दर्शन गर्न पुग्छन्।

जल कुण्ड

स्वर्गद्वारी मन्दिर परिसरबाट पूर्व दक्षिण तर्फ पैदल १० मिनेटको दुरीमाउक्त जलकुण्ड अबस्थित छ। विसं १९५१ सालमा महाप्रभु स्वर्गद्वारी आउँदा हालको मन्दिर परिसर जंगलले भरिभराउ गोठालाहरूको गोठ रहेछ। महाप्रभुले यो स्थानमा विश्वशान्तिका निम्ति महायज्ञ गर्नुपर्यो, तपाईंहरूले यी गाईगोठ यहाँदेखि अलिक तलतिर सार्नुहोस् भन्नुभएछ। गोठालाले तल त्यो ठाउँमा पानी छैन, त्यहाँ गाईलाई कसरी लालनपालन गर्ने भनेर भनेछन्।तत्पश्चात् महाप्रभुले त्यो ठाउँमा जाउ पानी पाउने छौ भनेर पठाउनुभएछ। ग्वालाहरू उक्त स्थानमा पुग्दा पानी पाएछन्। यसप्रकार महाप्रभुको प्रतापले उक्त स्थानमा पानी उत्पन्न हुन पुगेछ र अहिलेसम्म पनि निरन्तर जलप्रवाह भइरहेको छ। उक्त जल पिउनमा सफा र मीठो छ। मन्दिरको नित्य पूजामा उक्त जलनै प्रयोग गरिँदो रहेछ।

श्री बालतपस्वी वेद विद्यालय गुरूकुलम्

स्वर्गद्वारी आश्रम परिसरमा आश्रमकै रेखदेख र खर्चमा कक्षा १२ सम्मको विद्यालय सञ्चालित छ। उक्त विद्यालयमा हाल १२० जना विद्यार्थीहरू अध्ययनरत छन्। विद्यार्थीहरूलाई सरकारी पाठ्यक्रम अनुसार नै पठनपाठन गराईन्छ।साथसाथै संस्कृत भाषा,वेद तथा कर्मकाण्ड सम्बन्धि पठनपाठन गराईन्छ।विद्यार्थीहरूको पठनपाठन,खानपिन तथा सम्पूर्ण खर्च आश्रमलेनै व्यहाेर्दै आएको छ। आधुनिक शिक्षा प्रदान गर्नुका साथसाथै वैदिक आध्यात्मिक रूपले दीक्षित पनि गरिन्छ। यहाँबाट पढेका सयौं विद्यार्थीहरूले सांस्कृतिक दूतको काम गर्दै समाजमा आध्यात्मिक धार्मिक ज्ञानको प्रकाश पुञ्जित गरिरहेका छन्।

गौशाला

महाप्रभुले अखण्ड महायज्ञको सुरुवात गरेपश्चात् गौशालाको स्थापना गरी गौसेवाको सुरुवात गर्नुभएको रहेछ। अहिले पनि स्वर्गद्वारी आश्रमले उक्त गौशालालाई अखण्ड रूपमा सञ्चालन गर्दै आएको छ।  हाल मन्दिर परिसरनजिकै व्यवस्थित गौशाला सञ्चालित छ। उक्त गौशालामा लगभग ३५० गाईहरू छन्। मुख्य गौशालादेखि तल रूमाले भन्ने ठाउँमा १५० जति गाईहरू छन्। यसरी ५०० जति गाई हाल स्वर्गद्वारी आश्रमले लालनपालन गर्दै आएको छ। निकै तल बेसीबाट पानी ३ खण्डमा लिफ्ट गरेर भक्तजन तथा गाईलाई पुर्याउनुपर्ने जिम्मेवारी र आर्थिक दायित्व आश्रमलाई छ।

विश्वशान्तिका निम्ति महाप्रभुले सुरु गर्नुभएको अखण्ड महायज्ञको आवश्यकता र महत्व आज झनै बढी छ। एकातिर विश्व राजनैतिक एवं आर्थिक रस्साकस्सीले तनावग्रस्त बन्दै अशान्तिउन्मुख बनिरहेको छ। अर्कोतर्फ सनातन संस्कृति उपरको अतिक्रमण र आर्थिक परनिर्भरताले नेपाल अशान्ति एवं अस्थिरता तर्फ जाला भन्ने ठूलो आशंका छ। यस्तो अवस्थामा सनातन संस्कृति एवंशान्ति प्रेमीहरू तन,मन र धनले स्वर्गद्वारी आश्रमसंग जोडिदै महाप्रभुले सुरु गर्नुभएको विश्व शान्ति महायज्ञलाई अखण्डित रूपमा अगाडि बढाउने  कार्यमा लामबद्ध हुन आवश्यक छ।

स्वर्गद्वारी आश्रम आफैँमा धेरै हदसम्म सक्षम छ। महाप्रभुले महायज्ञ सञ्चालन गरेर आर्जित रकमबाट दाङ्गमा १८०० बिगाहाभन्दा बढी जग्गाजमिन खरिद गर्नुभएको रहेछ। त्याे जग्गाजमिनमध्ये विद्यालय, पाटीपौवा,  मोही, सार्वजनिकस्थल आदिलाई छुट्टाएर पनि हाल स्वर्गद्वारी आश्रम निजी गुठीको नाममा दाङ्ग जिल्लाको विभिन्न स्थानमा १०५० बिगाहा जग्गा जमिन छ।

हाल धेरै जसो जग्गा जमिन चलाउनेहरूले आम्दानी दिँदै आएको पाइयो। तर बाहिरका जानकारबाट बुझ्दा दशकौंदेखि भूमाफियाहरू स्वर्गद्वारी आश्रमको जग्गा जमिन हडप्न लागेको देखिन्छ। विगतमा सर्वाेच्चमा परेको रिटउपर पनि स्वर्गद्वारी निजी गुठी मात्र नभएर विशेष प्रकारको निजी गुठी हो र यसको संरक्षण गर्नु राज्यको/सरकारको दायित्व हो भनेर आदेश गरेको थियो । केही समयअगाडि काठमाडाैंवासी एवं न्यायप्रेमी नेपालीको आन्दोलनले असफल भएको गुठी विधेयक स्वर्गद्वारी आश्रमकै १०५० बिगाहा जग्गा जमिनलाई पनि लक्षित गरी ल्याइएको थियो भनेर पनि भनिन्छ।

सनातन धर्म संस्कृतिको रक्षार्थ,भूमाफिया एवं भ्रष्टाचारीहरूको गिद्धे दृष्टिबाट बचाउदै विश्व शान्तिका निम्ति महाप्रभुले सुरु गर्नु भएको अखण्ड महायज्ञलाई चीर कालसम्म निरन्तरता दिने पवित्र कार्यमा ऐक्यबद्धता जानाउनु हरेक सनातन संस्कृति प्रेमीको दायित्व बनेको देखिन्छ। उक्त  कार्यमा जो जहाँ छौं, त्यहीँबाट जोडिँदै सक्दो सहयोग गरौं। स्वर्गद्वारी लगायत धार्मिक एवं सांस्कृतिक धरोहरहरूलाई सिध्याउने भ्रष्टाचारीहरू र भूमाफियाहरूको कपटी जालझेल चालबाजीलाई खबरदारी गर्दै असफल बनाऔं।सकेसम्म एक पटक स्वर्गद्वारी पुगेर महाप्रभुको आशिर्वाद लिऔं।स्वर्द्वारी पुग्न पूर्व पश्चिम राजमार्गको दाङ्ग भालुवाङ स्थित राप्ती नदीको किनारै किनार प्युठानको भिङरी हुदै पक्की मार्गबाट स्वर्गद्वारी पुग्न सकिन्छ।

अर्को तर्फ दाङ हुदै रोल्पाको होलेरीबाट पनि पुग्न सकिन्छ। आश्रममा सुलभ दरमा खाने बस्नेको व्यवस्था रहेको छ। तर शुक्रबार, शनिबार साँझ र ठूला चाडवाड पर्वमा धेरै भक्तजनको उपस्थिति रहन्छ। निजी क्षेत्रले आश्रमदेखि तल निजी जमिनमा लज,होटेल तथा कटेजहरू सञ्चालन गर्न सक्ने प्रशस्त सम्भावना देखिन्छ।

भूपनारायण घर्तिमगर, जिएनबी

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
धरतीको स्वर्ग अर्थात् स्वर्गद्वारी !
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link