प्रधानमन्त्रीको भारत भ्रमण : लक्ष्मणपुर बाँध र सडकबारे उठाउलान् कुरा?

शुक्रऋषि चौलागाईँ

‘काग कराउँदै गर्छ पिना सुक्दै गर्छ’ भन्ने उक्ति अहिले नेपाल सरकारको सोच र गतिविधिसँग मिल्दोजुल्दो छ । बाँकेको लक्ष्मणपुर बाँध र यसले पारेको प्रभावका विषयमा वर्षौंदेखि आवाज उठाइँदै आइएको छ तथापि त्यसको सुनुवाइ कहीँ कतैबाट हुन सकेको छैन । यो सबाल सरकारलाई थाहा नभएको पनि हैन तर जसका सामु जुन तरिकाले सबाल उठान र सम्बाेधनकाे पहल गर्नुपर्ने हो त्यो हुन सकिरहेको छैन । ३ दशकदेखिको समस्या एकातिर छँदै थियो, पछिल्लो चरण अर्को समस्या पनि थपिएको छ, भारतद्धारा सीमानजिकै बनाइएको ’बाँधजस्तो सडक’ । तटवन्ध जस्तो देखिने सडक बारे मीडियामार्फत सार्वजनिक भए पनि कराउने फेरि हराउने जस्तै भयो । यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा रहनुभएका बेला यी सवाललाई सार्वजनिक गर्ने प्रयास गरिएको छ ।

लक्ष्मणपुर बाँध र प्रभाव

एक देशले अर्को छिमेकी देशलाई असर पर्ने गरि सीमा क्षेत्रको ८ किमिभित्र कुनै संरचना बनाउन नपाइने दुई देशीय कानुनी प्रावधान भए पनि भारत सरकारले सन् १९८५ मा सीमाको ८ किमिभित्रै लक्ष्मणपुर ब्यारेज बनायो । खोल्न र बन्द गर्न मिल्ने १४ ढोका भएको ब्यारेज २ सय ८४ मिटर लामो छ । यस्तै सन् २००० मा सीमा भन्दा ३ देखि ५ सय मिटर दुरीमै २२.५ की मी कलकलवा एफलक्स बन्ड निर्माण गर्यो । यो बाँध नेपाल भारत सीमा (दशगजा) मा पर्ने पिलर नं १९ बाट भारतीय भूमिमा ३ सय मि. टाढा र पिलर न २० बाट ६ सय ५० मिटर मात्र टाढा रहेको छ । साढे २२ किलो मिटर लम्बाइ, ५ मिटर चौडाइ र ५ मिटर उचाइ रहेको सोही तटवन्धका कारण गन्धैली, सुतैया र डुडुवा नालाको बहाव रोकिन्छ । जसका कारण राप्ती वारिपारिको हजारौं बिघाः खेतीयोग्य जमिन बर्सेनि डुबान, पटान र कटानको चपेटामा पर्छ । कलकलवा तटबन्ध बनाउनुअघि नेपालका कुनै पनि भूभाग डुबान, कटान र पटान नभएको लक्ष्मणपुर बाँध पीडित संघर्ष समितिका अध्यक्ष एवं स्थानीय बासिन्दा जगदीश बहादुर सिंहको दावी छ ।
घरबासै उठान गर्ने गरी आउने बाढीका कारण बर्सेनि अन्नपात, उब्जाउ जमिन नोक्सान भइरहेको छ । तर त्यसको आधिकारिक लेखाजोखा पनि सरकारसँग पनि छैन । सरकारी एक तथ्यांकअनुसार बाढी, डुबान, कटानबाट ३१ गाउँ प्रभावित हुन्छन् । बाढीका कारण २ हजार ५० घरधुरीका १५ हजार बढी नागरिक प्रत्यक्ष प्रभावित हुन्छन् भने ३ हजार हेक्टर क्षेत्रफल डुवानमा पर्दछ । स्थानीयको भनाइअनुसार बाढीका कारण ५ हजार घरघुरीका ४० हजार प्रभावित भइरहेका छन् । हालसम्म ४० हजार बिघाभन्दा बढी खेतियोग्य जमिन बगरमा परिणत भइसकेको छ । हजारौको संख्यामा विस्थापित भइसकेका छन् ।

बाँधरुपी सडक

सीमा क्षेत्रबाट ८ किलोमिटर परसम्म कुनै समानान्तर संरचना निर्माण गर्न नपाइने अन्तर्राष्ट्रिय नियम छ । तर पछिल्लो समय नेपाल–भारत सीमा क्षेत्रमा एक हजार ६ सय किमि सडक निर्माण भइसकेको बताइएको छ । ’इन्डो नेपाल समानान्तर सीमा सुरक्षा सडक’का नाममा भारतले सडक भने पनि ‘तटबन्ध’ निर्माण गरेको नेपालीको बुझाइ छ । नाम जे दिइए पनि त्यसले (यही अवस्थामा) नेपालतिरको अधिकांश भूभाग डुबानमा पार्दै आएको छ । आफ्नो भूमिमा जे पनि गर्न पाइन्छ भन्ने मनशाय र दम्भका साथ भारतले सडक निर्माण गरिरह्यो । आन्तरिक सुरक्षाका लागि सडक निर्माण गरेको भारतले दाबी गर्दै आएको छ । बाँकेको करिब १ सय ५० किलोमिटर क्षेत्र भारतको उत्तर प्रदेशसँग जोडिएको छ । बाँकेसँग जोडिएका अधिकांस क्षेत्रमा बाँध जस्तो सडक निर्माण भइसकेको छ । सडक निर्माण भइरहँदा समाचार सार्वजनिक पनि भए, निर्माण प्र्रक्रिया तत्काल रोक्न नेपालका तर्फबाट औपचारिक आग्रहबाहेक थप सार्थक पहल गरिएन ।

२ देखि ७ मिटर अग्लो र ३० मिटर चौडा सडकले बाढी, डुबान, कटानलगायत अन्य जोखिम पनि बढाउने सम्भावना छ । नेपाली भूमि भई बग्ने नाला र सोतालाई समेत भारतले बन्द गरेको छ । यसले राप्ती नदी आसपासका गाउँमात्र नभई नेपालगन्ज उपमहानगरपालिका, हिरमिनिया, पिप्रहवा, साइगाउँ, सीतापुर, राधापुर, नरैनापुरलगायतका दर्जनौं गाउँहरू डुवानमा पार्ने छ । कहिल्यै डुबान नभएको नरैनापुरका धेरै ठाउँ भारतीय बाँध र अग्लो सडककै कारण बाढी आउने र डुबान हुन थालेको नरैनापुर गाउँपालिकाका अध्यक्ष मोहम्मद इस्तियाक अहमद शाह बताउँछन् ।

अहिले सीमामा करिब ३÷३ किमी दूरीमा एसएबीका पोस्ट छन् । निर्माण भइरहेको सडक विशेषतः सैन्य (एसएसबी) आवागमन, गस्ती गतिविधिका लागि मात्र हो । तर एसएसबीले दुवै देशका जनताको आवागमनमा सहजतासँगै सुविधाका लागि पनि हो भनेको छ । तथापि पानीको स्वाभाविक बहावलाई थुन्नेचाहिँ पक्कै हो । यो सडकले नेपाली बस्ती डुब्ने खतरा छ । भारतको कोणबाट ठीक पनि हुन सक्ला । तर त्यसले नेपाली भूमि र जनतालाई प्रत्यक्ष प्रभाव पार्छ भने त्यो कसरी जायज हुनसक्छ? आफ्नो भूमिमा सडक निर्माण गर्नै पाइँदैन भन्ने पनि होइन, तर पानी भने थुन्न पाइँदैन । आफ्नो स्वार्थपूर्तिका लागि अरुलाई डुबाउने भारतीय कार्यलाई नेपालीले किन र कसरी सहने? पानीको बहाव सहज रूपमा हुन पाउनुप¥यो भन्ने हो । सो सडक खण्डमा पर्याप्त पुल, कल्भर्ट, ह्युमपाइप राखिनुपर्छ भन्ने बाँकेबासीको माग छ । यसो नगरिँदा नेपालीलाई मात्र हैन, भारतीयलाई समेत दीर्घकालीन प्रभाव पर्ने निश्चित छ ।

भारतले असल छिमेकीका नाताले नेपाली जनताको सुरक्षालाई ख्याल गर्नुपर्छ । असल छिमेकीले कहिल्यैै पनि अर्को छिमेकीको कुभलो चाहनु हँुदैन । भारतले सीमानजिकै कहीँ पुल, कहीँ बाँध बाँधेर नेपाली भूमी डुबानमा पार्दै आएको छ । सीमा दुई मुलुकको साझा विषय हो। यसैले सीमानजिकै निर्माण गरिने कुनै पनि संरचना साझा दृष्टिकोण र सहमतिमै बनाइनुपर्छ ।

प्रधानमन्त्रीले गरिनुपर्ने पहल

राप्तीको समस्या प्राकृतिक या विपद् होइन, भारतद्धारा सिर्जित कृत्रिम समस्या हो । हामै्र कमजोरीको फाइदा भारतले लिइरहेको छ । भारतको हरेक कदमप्रति नेपाल सरकारलाई जानकारी नभएको होइन । बाँध, तटवन्ध र सडक निर्माण गरेर भारतले के सिद्ध गर्न खोज्दैछ भन्ने कुरा सरकारले बेलैमा हेक्का राखेर आवश्वक पहलकदमी गरेको भए सायदै यति धेरै विपत्ति व्यहोर्नुपर्ने थिएन । नदी, जलस्रोत, सीमा र नागरिकको बाँच्न पाउने अधिकारसँग जोडिएका यस्ता विषयलाई महत्वका साथ राजनैतिक, कूटनैतिक पहलमार्फत स्थायी समाधान खोजिनुपथ्र्यो । तर सरकार त्यसतर्फ केन्द्रित नै भएको देखिँदैन । यो बाँकेवासीको मात्र समस्या र विषय हुँदै होइन । अन्तर्राष्ट्रिय कानुन, सन्धि, सम्झौताका आधारमा हेरिनुपर्ने र सम्वोधन गरिनुपर्ने हो ।

सरकारले लक्ष्मणपुर बाँध र बाँध जस्तो सडकबारे तत्कालै अल्पकालीन, दीर्घकालीन उपाय अवलम्बन गर्न जरुरी छ । यति बेला हाम्रा प्रधानमन्त्री दाहाल भारत भ्रमणमा हुनुहुन्छ । उहाँले भारतसमक्ष उठान गर्नुपर्ने विषय धेरै होलान् । तथापि यो विषय पनि राष्ट्रिय महत्वका साथै भारतसँग सम्वन्धित भएकाले पनि उठान गर्नुपर्ने जानकारहरू बताउँछन् । बाँकेको डुबान, कटान र बाढीको समस्या समाधानको विषयलाई प्राथमिकताका साथ भारतसमक्ष कुरा राख्न सुझाउँछन् लक्ष्मणपुर बाँध पीडित संघर्र्ष समितिका अध्यक्ष जगदीशबहादुर सिंह । भारतले यसरी स्थायी बाँध, सडकलगायतका स्थायी संरचना बनाउँदा अन्तर्राष्ट्रिय सीमा मापदण्डको पालना गर्दै नेपाल र नेपालीलाई कुनै असर नपर्ने गरी मात्र बनाउन पाउँछ । सीमा समस्या बारे प्रधानमन्त्री प्रचण्डले यती बेला कूटनीतिक र राजनैतिक पहल गर्नुपर्छ । भारतीय कदमप्रति बेलैमा सार्थक बार्ता र प्राविधिक प्रक्रिया नबढाए पछि पछुताउनु बाहेक केही विकल्प हुनेछैन ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

शुक्रऋषि चौलागाईँ का अन्य पोस्टहरु:
प्रधानमन्त्रीको भारत भ्रमण : लक्ष्मणपुर बाँध र सडकबारे उठाउलान् कुरा?
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link