नेपालगञ्जमा दादुराः कहाँ चुक्यो सरकार ?

शुक्रऋषि चौलागाईँ

सलाईका काँटी जस्तै हुँदो रहेछ रोग । बेलैमा नियन्त्रण गर्न सकिएन भने आगो झैँ फैलिन बेर लाग्ने रहेनछ । बाँकेमा अहिले दादुरा त्यस्तै देखिएको छ । बाँके पूर्ण खोप घोषित जिल्ला हो ।  राष्ट्रिय खोप अभियान अन्तर्गत बाँकेलाई २०७७ चैत ६ गते  पूर्ण खोपयुक्त घोषणा गरिएको हो । तर, दुई वर्ष नपुग्दै दादुराको संक्रमण मात्र देखिएन, यसले महामारीको झैँ रूप लियो । नियमित खोप अन्तर्गत पर्ने दादुरा खोप नलगाएकै कारण बाँकेमा १२ पुष देखि दादुरा फैलिइरहेको छ । नेपालगञ्जबाट देखिएको दादुरा अहिले कोहलपुर, खजुरा, डुडुवा र नैरनापुर गाउँपालिकासम्म फैलिसकेको छ । सरकारले सन् २०२३ सम्म नेपालबाट दादुरा रोग निवारण गर्ने लक्ष्य राखेको छ । तर, यसपालि नेपालगञ्जमा दादुराको प्रकोप देखिएकाले यो लक्ष्य प्राप्तिमा थप चुनौती छ ।

 कस्तो छ अवस्था ?

बाँके जिल्ला पूर्ण खोप घोषणा भइसकेपनि दादुराको प्रकोप फैलिएको छ । नेपालगञ्ज, खजुरा, कोहलपुर, नरैनापुर र डुडुवा गरि ५ पालिकाका २७ वडा दादुरा सङ्क्रमणको प्रभावमा छन् । दादुराको अवस्था डर लाग्दो र भयावह नभैसकेता पनि अहिलेसम्म पूर्ण रुपमा रोकिएको अवस्था पनि छैन । दादुराबाट यस अघि नेपालगञ्जमा एक जनाको मृत्यु भइसकेको छ  । बाँकेमा अहिलेसम्म दुई सय ६५ जना बालबालिका दादुराबाट संक्रमित भएका छन् । सबैभन्दा धेरै नेपालगन्जमा २०३ जना बालबालिका दादुराबाट प्रभावित भएका छन् ।

स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठ अनुसार– दादुरा संक्रमित मध्य दुई सय ८ जना निको भइसकेका छन् ।  दादुरा संक्रमित ५६ जना अहिले पनि उपचाररत छन् । अधिकांश घरमै आइसोलेसनमा रहेका छन् । श्रेष्ठका अनुसार, अधिकांश बालबालिकाको स्वास्थ्य अवस्थामा सुधार भइसकेको छ ।

कसरी फैलियो दादुरा ?

दुई वर्ष अघि नै बाँकेलाई पूर्ण खोप जिल्ला भनियो । तथापि त्यसपछि नियमित खोप लगाउने कार्यलाई प्राथामिकता दिइएन । जबकि शिशु जन्मिएको नौ महिनादेखि १५ महिनासम्ममा दादुराविरुद्धको खोप दुई मात्रा लगाउनु पर्ने हुन्छ । खास के कारणले गर्दा नेपालगञ्जमा दादुरा फैलियो भनेर पूर्ण रिपोर्ट आउन बाँकी नै छ तर दादुरा खोपको मात्रा नलगाएकै कारण पुनः बल्झिएको हो भन्ने स्वास्थ्य कार्यालयको प्रारम्भिक अनुमान छ ।

गत पुषमा दादुराकै कारण नेपालगञ्ज– ५ स्थित ३१ महिनाको बालकको मृत्यु भएपछि दादुराको डरलाग्दो चित्र सतहमा आएको हो । सोही वडामा एउटै परिवारका चार बालबालिकामा दादुरा फेला परेको थियो । पाँच जनाको नमूना परीक्षणका लागि काठमाडौं पठाइएकोमा चार जनामा दादुरा पुष्टि भएको थियो ।

बाँकेमा दादुरा देखिएका ९० प्रतिशतले पूर्ण मात्रा खोप नलगाएको पाइएको स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनीता पौडेलले जानकारी दिइन् । ‘खोपप्रतिको नकारात्मक धारणा र बालबालिकामा कुपोषणले गर्दा करिब ९० प्रतिशतले पूर्ण मात्रा खोप नै नलगाएको पाइयो’ प्रमुख पौडेलले थप स्पष्ट पारिन् । बालबालिकाहरूले १३ प्रकारका खोप मध्ये सबै खोप लगाएको तर दादुरा–रुबेलाविरुद्धको दोस्रो मात्रा भने नलगाएको पाइएको हो । धेरैजसो संक्रमण मुस्लिम र मधेशी समुदायमा देखिएको छ ।

खोप लगाउँदा बालबालिकामा ज्वरो आउने, दुखेर उनीहरु रुने जस्ता सामान्य असरका कारण अभिभावकले खोप नै नलगाउने गरेको स्वास्थ्यकर्मीले बताउँदै आएका छन् तथापि अभिभावकलाई स्वास्थ्य चेतना दिन नसक्नु र  खोपको महत्व  बुझाउन नसक्नु गम्भिर लापरबाही भएको अधिकारकर्मीको भनाई छ । यस्तै खोप वितरणको जिम्मा स्थानीय तहलाई दिइएको छ । तर, यहाँ संक्रमण देखिएका अधिकांश बालबालिकाले नियमित वितरण गरिने खोप नलगाएको पाइनु स्थानीय सरकारका लागि पनि लाजमर्दो विषय बनको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा बाबुराम मरासिनीले बाँकेलाई पूर्ण खोप जिल्ला घोषित गर्नु नै सरकारको सबैभन्दा ठूलो गल्ती भएको स्वीकारेका छन् ।

‘पूर्ण खोप जिल्ला घोषणा भइसकेपछि खोप लगाउन को आउँछ? त्यति घोषणा गरेर सरकारलाई कतैबाट पैसा आयो भन्दैमा खोप नलगाउने? खोप लगाउन कति छुटे,  अवस्था के छ, केही नबुझी हचुवाको भरमा घोषणा गरेको परिणाम अहिले देखिएको हो’ उनले सार्वजनिक रूपमै व्यक्त गरेका छन् । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख पौडेलका अनुसार, सरकारले निशुल्क खोप दिइरहेको छ । तर, नेपालगञ्ज उपमहानगरपालिकाकै वडामा खोप छुटेर दादुरा फैलिनु चिन्ताको विषय बनेको छ ।

खोप कार्यक्रमलाई प्रभावकारी नबनाए महामारीकै रूप पनि लिन सक्ने स्वास्थ्य विज्ञले बताएका छन् । दादुराको प्रकोप फैलिएपछि हामी माझ नयाँ र थप चुनौतीहरु बढेका छन् भने हाम्रो कार्यशैलीप्रति पनि प्रश्न उठेका छन् । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएसएस) २०२२ को अध्ययनले नेपालमा चार प्रतिशत बालबालिका खोप लगाउन छुटेको देखाएको छ । सरकारले वर्षेनी एक वर्ष मुनिका करिब ५ लाख ३८ हजार बालबालिकालाई नियमित खोप लगाउने गरेको छ । जसमध्ये करिब २१ हजार ५२० बालबालिका छुटेको एनडीएचएसको रिपोर्टले देखाएको छ । नेपालमा दादुराविरुद्धको पछिल्लो खोप अभियान सन २००४ देखि सुरु भएको हो ।

के पहल भइरहेको छ ?

बाँकेमा दादुरा नियन्त्रणमै छ भनिएपनि यसको फैलिने क्रम नरोकिनु चिन्ताको विषय हो । नियन्त्रणका लागि के गरिदैछ त ?  स्वास्थ्य कार्यालय बाँकेको सहयोगमा बाँकेका पाँचवटै पालिकामा खोप अभियान सञ्चालन गरिएको छ । खोप लगाउन छुटेका बालबालिकालाई घरघरमा खोज्ने अभियानसमेत सञ्चालन गरेको स्वास्थ्य कार्यालय बाँके प्रमुख पौडेलले जानकारी दिइन । नेपालगञ्ज उपमहानगरपालिकाले दादुरा फैलिएको वडामा दादुराविरुद्धको खोप अभियान सञ्चालन गरेर नियन्त्रणको प्रयास गरेको थियो । दादुरा फैलिनुको कारण पत्ता लगाउन स्वयंसेविका घरघरमा पठाएर खोप कार्ड नै हेर्न लगाइएको र अहिले सबैलाई खोप लगाइसकिएको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिए ।

नेपालगञ्ज, खजुरा, डुडुवा र नरैनापुरमा गरि ८९ हजार चार सय ५८ जनालाई खोप लगाउनु पर्ने लक्ष्य रहेकोमा हालसम्म ७८ हजार सात सय ६८ जनाले दादुरा विरुद्धको खोप लगाइसकेको स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर श्रेष्ठले जानकारी दिए । यस्तै कोहलपुरमा पनि दादुराको महामारी फैलिन थालेको कोहलपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनीलसिंह ठकुरीले जानकारी दिए । दादुरा नियन्त्रणको प्रयास समेत सुरु भइसकेको शाखा प्रमुख ठकुरीले बताए ।  यही माघ ११ गते बुधबारबाट १५ वटै वडाका तोकिएका खोप केन्द्रहरूबाट दादुरा–रुबेला विरुद्धको खोप लगाउने तयारी गरिएको छ । ६ महिना भन्दामाथि र १५ वर्षमुनिका २६ हजार १४२ जना बालबालिकाहरूलाई दादुरा–रुबेला विरुद्धको खोप सेवा प्रदान गर्ने लक्ष्य रहेको पनि उनले जनाए ।

दादुरा फैलिएका प्रभावित क्षेत्रमा विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ र स्थानीय सरकारले धेरै सहयोग गरे पनि केन्द्र र प्रदेश सरकारले खासै चासो नदेखाएको स्वास्थ्य सम्वद्ध अधिकारीको भनाई छ । तथापि केही दिन अघि मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले दादुरा प्रभावितहरूको अवस्थाबारे जानकारी लिँदै दादुरा नियन्त्रणका लागि सरकारले खोप अभियान तीब्र पारिने बताएका थिए । सरकारले २०२३ सम्म दादुरा–रुबेला रोग निवारण गरिसक्ने लक्ष्य लिएको छ । तर नेपालगञ्जमा फैलिएको दादुराका कारण यो लक्ष्य पूरा गर्न थप चुनौती थपिएको देखिन्छ ।

के हो दादुरा–रुबेला ? कस्तो हुन्छ लक्षण ? 

दादुरा छिटो फैलिने सरुवा रोग हो । सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार एक जना दादुरा सङ्क्रमितले झन्डै १८ जनालाई सार्न सक्ने भएकाले यसलाई निकै तीव्र गतिमा फैलिने सरुवा रोग मानिन्छ । पुनका अनुसार सामान्यतया दादुरा ५ वर्षमुनिका बालबालिकामा धेरै लाग्छ र छिट्टै महामारीको रूप लिन पनि सक्छ । यदि बालबालिकाको समयमा उपचार भएन भने गम्भीर प्रकारको जटिलता हुनुका साथै मृत्युसमेत हुन सक्छ । शरीरमा दादुराको भाइरस प्रवेश गरेको ७ देखि १४ दिनसम्ममा लक्षणहरू देखिने स्वास्थ्यकर्मीले बताएका छन् । ज्वरो आउने, जिउ दुख्ने, खोकी लाग्ने, आँखा रसाएको जस्तो रातो हुने र मुख हुँदै शरीरभरि रातो बिबिरा देखिन्छन्  । यो रोग खोक्दा वा हाच्छिउँ गर्दा एक व्यक्तिबाट अर्कोमा सर्ने गर्छ । मुखबाट वा श्वासप्रश्वासका माध्यमबाट निस्किने पानीका ससाना कणले यो रोग अरू स्वस्थ व्यक्तिमा फैलाउने काम गर्छन् ।

चिकित्सकका अनुसार, कडा रूपमा देखिने दादुरा कुपोषित बालबालिका र शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई बढी हुने गर्छ । यस्तो रोग लागेमा अरुलाई सर्नबाट बचाउन बिरामीलाई अलग्गै राख्नुका साथै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तत्कालै गई लक्षण उपचार गर्नुपर्छ । रुबेला रोगको असरहरू दादुरा भन्दा सामान्य प्रकारको हुन्छ तर गर्भावस्थामा रुबेला संक्रमण भएमा गर्भपतन हुने, समय नपुगी बच्चा जन्मने, मृत बच्चा जन्म हुने तथा गम्भिर प्रकारको जन्मजात हुने विकलाङ्ग देखा पर्न सक्दछ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

शुक्रऋषि चौलागाईँ का अन्य पोस्टहरु:
नेपालगञ्जमा दादुराः कहाँ चुक्यो सरकार ?
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link