विश्व खाद्य कार्यक्रमको अखाद्य चामल नेपालगञ्ज भन्सारमा अझै अलपत्र

शुक्रऋषि चौलागाईँ

नेपालगञ्जज । जसमाथि पूर्ण विश्वास र भरोसा गरिएको हुन्छ, उसबाट नै लापरवाही हुन्छ भने त्यसको नोक्सानी के कति हुन्छ अनुमान पनि लगाउन सकिदैन । तथापि त्यसैले निम्त्याउने शंका र प्रश्नहरू भने जीवन्त रहिरहन्छन् । यस्तै प्रकृतिको घटनाक्रम हालै नेपालगञ्जमा विश्व खाद्य कार्यक्रमले नेपालको बालबालिकाको पोषणको लागि पठाएको गुणस्तरहीन खाद्य सामाग्रीको प्रकरणमा देखिएको छ । 

बालबालिकालाई खुवाउन संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले पठाएको ५४ हजार किलो चामल नेपालगञ्जको खाद्यान्न आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले गुणस्तरहीन भेटिएपछि यो सवाल सतहमा आएको हो । 

उक्त कार्यालयको परीक्षणबाट हाल नेपालगञ्ज भन्सार कार्यालयमा रोकिएको बालबालिका दिवा खाजा कार्यक्रमका लागि संयुक्त राष्ट्रसंघ मातहतको विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले नेपाल ल्याएको चामल गुणस्तरहीन पुष्टि भएको थियो । उक्त चामल पाँच सातादेखि भन्सारको परिसरमा अलपत्र अवस्थामै छ । अब के गर्ने भन्ने निर्क्यौल पनि भैसकेको छैन । 

डब्लुएफपी नेपाल कार्यालयले सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ र कर्णालीको हुम्ला जिल्लामा १ देखि ५ कक्षाका विद्यालयमा अध्ययनरत बालबालिकाका लागि दिवा खाजा कार्यक्रम चलाएको छ । सो चामल डब्लुएफपीले विभिन्न जिल्लामा अनुदानस्वरुप वितरण गर्न आयात गरेको हो । 

भारतीय मार्ग हुँदै नेपालगन्जको जमुनाहा नाकाबाट ल्याएको चामल खाद्यान्न आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, नेपालगञ्जले परीक्षण गर्दा खान योग्य नभएको प्रमाणित भएपछि शंका उब्जिएको थियो ।  विश्व खाद्य कार्यक्रमजस्तो जिम्मेवार संस्थाले पठाएको चामलसमेत खान योग्य नभएको पाइएपछि प्रश्न उठ्नु अस्वभाविक थिएन । त्यसैले सो कार्यालयले उक्त चामल आयात अनुमति नदिन भन्सारलाई सचेत जानकारी गराएको थियो । त्यसपछि भन्सार कार्यालयले सो सामाग्री रोकिरहेको छ । यस अगाडि भन्सारले चामल परीक्षणका क्रममा भिजेको र खराब गन्ध आएको चाल पाएपछि नमूना परीक्षणका लागि सो चामल खाद्यान्न आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय नेपालगञ्जलाई पठाएका थियो । परीक्षणका क्रममा चामल खान योग्य नभएको र कुहिएको भेटिएको जानकारी परीक्षण कार्यालयले पठाएको हो ।

सो चामल समुद्री मार्ग हुँदै भारतीय बन्दरगाहसम्म आएको हो । त्यहाँबाट भारतीय नम्बरका तीन वटा कन्टेनर जमुनाह नाका हुँदै माघ १६ गते नेपालगन्ज भन्सार कार्यालय आइपुगेको थियो । 

खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय नेपालगञ्जका अनुसार जाँच गरिएको ३ बोरा चामल पानीले भिजेर सडेको छ । कार्यालय प्रमुख सन्तोष दाहालका अनुसार चेकजाँचको लागि भन्सारको पत्र आइसकेपछि चामल निरीक्षण र परिक्षण गरिएको हो । केही बोरा चामल सढेको पाइएकाले आयात गर्न उपयुक्त नदेखिएको पत्राचार गरिएको दाहालले जानकारी दिए ।

चामल पानीले भिजेर मक्किएकाले खानसमेत योग्य नभएको प्रतिवेदनका आधारमा भन्सारले कन्टेनर रोक्नु परेको जनाएको छ । ‘सम्बन्धित कार्यालयले आयात गर्न अयोग्य भनिसकेपछि हामीले पास दिने कुरै भएन’  भन्सार अधिकृत एवं सूचना अधिकारी डिल्लुप्रसाद शर्माले भने । 

भन्सारका एक अधिकारी भन्छन् :  यो नियमित गर्ने काम हो । कानून अनुसार नै प्रक्रिया अघि बढ्छ ।’ तर के प्रक्रिया अघि बढ्ने अझै टुंगो छैन ।’

ती अधिकारीका अनुसार : यो चेकजाँच आवश्यक थिएन? या दुख दिन गरिएको हो कि भन्ने कोणबाट पनि बहस भइरहेको छ तर खाद्य आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले दिएको नमुना परीक्षणका आधारमा मात्र नाकाबाट खाद्य वस्तु भित्र्याउने गरिदै आइएको छ । यो विषय अहिले माथिल्लो तहमा पनि पुगिसकेको छ ।

विश्व खाद्य कार्यक्रमको नेपाल कार्यालयका अधिकारीहरू हाल भन्सार कार्यालयसँग नियमित सम्पर्कमा रहेको बुझिएको छ । कृषि र अर्थ मन्त्रालयबीच पनि अहिले यसबारे छलफल भइरहेको छ । थप अध्ययन र निकासका लागि काठमाडौँबाट भन्सार विभागको एक टोली नेपालगञ्जमा आएको बुझिएको छ । तथापि त्यो चामल नष्ट गर्ने या फिर्ता भन्ने कुराको टुंगो अझै भएको छैन । स्थानीय भन्सार कार्यालयको स्रोतका अनुसार विभागको निर्देशन अनुसार नै निर्णय गरिने छ । यस अघि कतिपय घटनामा अखाद्य भेटिएमा पुनः शुद्ध र गुणस्तरीय खाद्य ल्याउने प्रतिवद्धता गराएर फिर्ता गर्ने गरिएको बताउँदै भन्सारका एक कर्मचारी भन्छन् : अहिले पनि त्यसै गरिन पनि सक्छ । 

डब्लुएफपी संयुक्त राष्ट्रसंघको खाद्य सहायता निकाय हो । यो भोकमरीविरुद्ध सम्बोधन गर्ने संसारकै सबैभन्दा ठूलो मानवीय संगठन पनि हो । यसले खाद्य सुरक्षालाई महत्व दिन्छ । यसको मुख्यालय इटालीको रोममा छ । ८० भन्दा बढी देशमा यसका कार्यालय रहेका छन् ।

संयुक्त राष्ट्रसंघको जिम्मेवार संस्थाबाटै यस्तो खाद्य लापरबाहीलाई सामान्य प्रतिवद्धताको आधारमा छुट दिन नहुने माग गर्दै नागरिक समाजका सदस्यहरूले सो खाद्यान्न तत्काल नष्ट गर्न र अखाद्य सामाग्री आयातकर्ता अधिकारीहरूलाई भन्सार कानुन अनुसार दण्ड गरिनुपर्ने धारण राख्दै आएका छन् । 

विश्व खाद्य संगठनको यो लापरबाहीपूर्ण आयातबारे अहिलेसम्म नेपाल सरकारको शिक्षा मन्त्रालय, कृषि मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयले कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन् । विश्व खाद्यको नेपाल कार्यालयले भने चामल आयात गर्ने क्रममा लामो सडक यात्राबाट ल्याउँदा बाटोमा केही अनपेक्षित अवस्थाहरू परेकोले पानीले भिजेर केही बोरा चामल भिजेको र सो कार्यालय दुखी भएको वक्तव्य जारी गरेको थियो । 

विद्यालयमा अध्ययनरत बालबालिकाको उचित पोषणका लागि वितरण गरिने खाद्य सामाग्रीमा यस्तो लापरबाही मानवीय दृष्टिकोणबाट क्षम्य नहुनुपर्ने माग स्थानीय मानवअधिकारकर्मीले गरिरहेका छन् । तर, नेपाल सरकार यसप्रति संवेदनशिल नदेखिएकोमा उनीहरूले दुख पनि प्रकट गरेका छन् ।  

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

शुक्रऋषि चौलागाईँ का अन्य पोस्टहरु:
विश्व खाद्य कार्यक्रमको अखाद्य चामल नेपालगञ्ज भन्सारमा अझै अलपत्र
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link