लुम्बिनी प्रादेशिकसहित देशभरका अस्पतालमा ओपिडी सेवा बन्द, बिरामी उपचारबाट वञ्चित

मकवानपुरको हेटौँडास्थित सन्चो अस्पतालमा कार्यरत २ जना चिकित्सकमाथि आक्रमण भएको घटनाको विरोधमा बुटवलसहित देशभरका चिकित्सकहरू आन्दोलित भएका छन्। नेपाल चिकित्सक संघको आह्वानमा डाक्टरहरू आन्दोलित बन्दा बिरामी भने अत्यावश्यक उपचार सेवा पाउनबाट वञ्चित भएका छन्।

नेपाल चिकित्सक संघले शनिबार एक विज्ञप्ति जारी गर्दै आइतबारदेखि आइतबारबाट देशभरका अस्पताल र स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा ठप्प पार्ने भनेको थियो। संघको आह्वानअनुसार आइतबार देशभरका अधिकांश अस्पतालमा ओपिडी सेवा बन्द गरिएको छ।

देशभरका अधिकांश अस्पतालले आइतबार बिहानदेखि बहिरंग (ओपिडी)को टिकट वितरण गरेका छैनन्। लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा आन्दोलनलाई समर्थन गर्दै नेपाल चिकित्सक संघ रुपन्देही शाखाका चिकित्सकहरू विरोध कार्यक्रमसहित धर्ना दिएका छन्। उनीहरूले ‘स्वास्थ्यकर्मी कुट्न बन्द गर’, ‘सुरक्षाको ग्यारेन्टी गर’ लेखेका प्लेकार्डसहित केहीबेर धर्ना दिए।

विरोध कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. सुदर्शन थापाले विगतमा पनि यस्ता घटना घटिरहेको भन्दै कानुनी रुपमा व्यवहारमा लागू नगरिँदा पुनः घटना दोहोरिएको बताउनुभयो। यस विषयमा सरकार गम्भीर हुनुपर्ने भन्दै पटकपटक घटना घट्दा सरकारले केवल प्रतिबद्घता मात्र जनाउन नहुने उहाँको तर्क छ।

नेपाल चिकित्सक संघ रुपन्देही शाखाका सहकोषाध्यक्ष वर्षा थापाले चिकित्सकहरु आफ्नो हकहितका लागि एकजुट हुनुपर्ने बताउनुभयो। संघका महासचिव डा. सन्तोष पोखरेलले क्लिनिकमा समेत कुनै काम नगर्न सुझाव दिनुभयो।

लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ चिकित्सक डा. नेत्र रानाले चिकित्सकहरूबीच रहेको विभेद हटाउन जरुरी रहेको बताउनुभयो। सिनियर र जुनियरबीचको विभेद हट्न सके धेरै समस्या समाधान हुने रानाको भनाइ छ।

सन्चो अस्पतालका २ जना चिकित्सक डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि आक्रमण गर्नेलाई कारबाही नगरिएको भन्दै संघले देशभरका अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो। यस्तै, देशभरका स्वास्थ्य संस्थामा अनिवार्य रुपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था अविलम्ब मिलाउनुपर्ने माग पनि संघको छ।

यता संघको आह्वानमा अस्पताल बन्द हुँदा बिरामी भने मर्कामा परेका छन्। देशका विभिन्न ठाउँबाट उपचारका लागि भन्दै संघीय राजधानी काठमाडौं आएका बिरामी अलपत्र परेका हुन्। फलोअपमा रहेका र ओपिडीमा जाँच गराउने गरी आएका बिरामी पनि अस्पताल बन्द हुँदा मर्कामा परेका छन्।

डेंगुको लक्षण देखिएपछि सन्चो अस्पतालमा भर्न भएका बिरामीलाई चितवन लगिएको थियो। सो क्रममा बिरामीको चितवनको एक अस्पतालमा भदौ २५ गते मृत्यु भएको थियो। अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तहरू विरोधमा उत्रिएका थिए। क्षतिपूर्तिको माग गर्दै आन्दोलनमा उत्रिएका उनीहरूले चिकित्सकद्वय थापा र विडारीमाथि हातपात गरेका थिए।

चिकित्सकमाथि कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। प्रहरीले रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधानलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
लुम्बिनी प्रादेशिकसहित देशभरका अस्पतालमा ओपिडी सेवा बन्द, बिरामी उपचारबाट वञ्चित
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link