पूर्वीय वैदिक सनातन धर्म परम्पराका विभिन्न पौराणिक एवं आध्यात्मिक ग्रन्थहरूमा, खासगरी स्कन्द पुराण र भविष्योत्तर पुराणलगायतमा वर्णन भएबमोजिम राजा हिमालयले आफ्नी पुत्री गौरीको विवाह भगवान्र विष्णुसँग गरिदिने निधो गरे। पिता हिमालयको निर्णयबाट पुत्री गौरी आहतरअसहमत भएपश्चात, साथीहरूले माता गौरीलाई हरेर (सखीहरूको सहयोगमा) विकट स्थानमा पुर्याए र त्यहीँ गौरी (पार्वती) ले कठोर तपस्या गरिन्। उनको तपस्याबाट महादेव प्रसन्न भई , भाद्र महिनाको शुक्ल पक्षको तृतीया तिथि हस्ता नक्षत्रका दिन स्वयं महादेव प्रकट भई गौरीको तपस्या स्वीकार्दै (विवाह गर्न स्वीकार) आशीर्वाद दिएर तपस्या सफल तुल्याइदिएकाले हरेक वर्ष भाद्र महिनाको शुक्ल पक्षको तृतीयाका दिन हरितालिका तीज पर्व मनाउदै आएको पाइन्छ। सखीहरू (आलीका) बाट हरेर तपस्या गराई सफल भएकोले तीज पर्वलाई हरितालिका तीज पनि भनिन्छ।
तीज पर्व नेपालमा मात्र नभएर भारतका उत्तर प्रदेश, विहार, मध्य प्रदेश, राजस्थान, हरीयाणा, गुजरातलगायतका स्थानमा लाखौँ धर्मालम्वीहरूले मनाउँदै आएका छन्। तीज पर्वलाई हरियाली तीज, काजरी तीज, केभाडा तीज, अखा तीज, काजल तीज, तीजरी तीज आदि नामबाट पनि मनाइन्छ। कतै–कतै वैशाख तथा श्रावण महिनामा पनि मनाउने गरिन्छ। तर समग्रमा तीजको महत्व र मान्यता समान देखिन्छ।
हरितालिका तीज नेपाललगायत भारतसहित संसारका विभिन्न देशमा नेपाली र भारतीय समुदायले मनाएको पाइन्छ। खासगरी नेपाली समुदायले विदेशमा विशेष पर्वका रूपमा मनाउँदै आएको देखिन्छ। अर्को शब्दमा भन्नुपर्दा यो पर्व नेपालीहरूको सांस्कृतिक पहिचानको रूपमा विदेशमा समेत परिचित हुँदै गरेको देखिन्छ।
तीज पर्व सामान्य हर्षोल्लासका निमित्त मनाउने चाड मात्र नभएर यसको आफ्नै सामाजिक, सांस्कृतिक, आध्यात्मिक एवं तात्विक महत्व रहेको छ। त्यसो त हाम्रा अधिक चाडहरू यिनै महत्वले ओतप्रोत छन्। सामाजिक सद्भाव, मेलमिलाप एवं समाजका विविध विसंगति र सामाजिक अधिकारलाई उजागर गर्ने पर्वका रूपमा हजारौं हजार वर्षदेखि यो चाड मनाइँदै आइएको छ। स्वयं माता पार्वतीले पनि नारी जातीले आफ्नो अनुकूलको योग्य वर छान्न पाउने जन्मसिद्ध नैसर्गिक अधिकारलाई व्यावहारिक रूपमा स्थापित गराउन तपस्या (सत्याग्रह र शान्तिपूर्ण आन्दोलन) गरेर आफू अनुकूल वर छानी समाजमा अधिकार स्थापित गरेको देखिन्छ। यस अर्थमा हामी माता पार्वतीलाई नारी जातीको अधिकार र स्वतन्त्रताको बिगुल फुक्ने पहिलो महिला अभियन्ताका रूपमा लिन सक्छौं। यो चाडले सांस्कृतिक रीतिरिवाज परम्परा एवं गीतसंगीत अनि वेशभूषालाई संरक्षण र संवर्द्धन गर्दै आएको छ। हालका दिनमा संसारभर छरिएर रहेका नेपालीहरूमार्फत तीजको माध्यमबाट सांस्कृतिक पहिचान गराउने काम भइरहेको छ।
दरको नाममा देखिएका विकृति
तीजको दिन निराहार र निर्जला व्रत बस्न अघिल्लो दिनको साँझ र राति सात्विक खानेकुरा खाने प्रचलनलाई दर खाने भनिन्छ। तन मन पवित्र बनाउँदै व्रत बस्नुभन्दा अगाडि सात्विक खाना दर खाने चलन आफैँमा व्यावहारिक र वैज्ञानिक छ। तर अचेल महिनौँअघिदेखि दर खाने नाममा भोजभतेर चल्न थालेका छन्।सामाजिक सद्भाव तथा मिलनका हिसाबले पूर्ण असान्दर्भिक नभए तापनि दरका नाममा व्यापक विकृति छाएका छन्। दरको नाममा जाँड, रक्सी, माछा तथा मासुजस्ता तामसी खाना खाने खुवाउने कुप्रथा र कुचलन बढेको छ। हुँदा हुँदा दर खाने केही दिदी बहिनीहरूले नै हातमा बियरका बोतल तथा वाइनका गिलास लिएर सगौरव फोटो खिचाउँदै सामाजिक सञ्जालमा राख्ने गरेको देखिन्छ। त्यसमा पनि दुःखका साथ भन्नुपर्दा तीजको धार्मिक आध्यात्मिक महत्व बुझेका केही (सबै होइन) केही ब्राह्मण परिवारका तथा ब्राह्मणका नातिनी छोरीहरू नै अग्रपंक्तिमा आएर विकृतिदूत बनेको देख्दा अत्यन्तै दुःख लाग्छ।
तुलनात्मक रूपमा तीजको आध्यात्मिक धार्मिक महत्व कम बुझेका र तीज पर्व कमै मनाउने मतवाला समुदायका छोरी चेलीहरूबाट के आशा गर्नु र ? तर माता पार्वती तथा भगवान् शिवसंग संस्कारगत तथा सांस्कृतिक रूपमा नजिक रहेको जनजाति आदिवासी (मतवाला) समुदायले यस बारेमा बुझ्न अध्ययन गर्न आवश्यक छ। अर्कोतर्फ तीजको आध्यात्मिक धार्मिक महत्व बुझ्ने समुदायका छोरीचेलीले तीजको महत्व र मर्यादालाई आत्मसात् गर्दै सकारात्मक तथा सिर्जनशील रुपमा तीज मनाउनु उपयुक्त हुनेछ।
तीज मनाउन नामक अनावश्यक भौतिक तडकभडकले समाजमा अस्वस्थ प्रतिस्पर्धा चलाउनुको साथसाथै असक्षम नारीहरूका निम्ति आत्मस्वाभिमानमा चोट पुर्याएको पाइन्छ। असहायहरूका निम्ति मौलाउँदै गएको यो विकृतिपूर्ण प्रतिस्पर्धाले तीज पर्व नआइदिए हुन्थ्यो भन्ने बनाएको देखिन्छ। तसर्थ जति सकिन्छ सादगी तवरले तीज पर्व मनाऔं। अनावश्यक देखावटी आडम्बरमा खर्च गर्ने पैसा असक्षम अति आवश्यक दिदीबहिनीहरूलाई तीजको उपहार स्वरूप साडी चोली किनेर दिऔं। बालगृह, वृद्धाआश्रम तथा गौशालाहरूमा दान गरौं। पढ्ने रहर र प्रतिभा भएका तर आर्थिक अभाव भएका छोरी नानीहरूलाई पढ्न सहयोग गरौं।
दर खाने तथा व्रतालु चेलीहरूले मनोरञ्जनका साथसाथै आपसी सौहार्द, सद्भाव तथा प्रेम भावको विकास गर्दै, तीजको महिमा तथा ऐतिहासिक पृष्ठभूमिको बारेमा आपसी छलफल विचार विमर्श गर्न जरूरी छ। अन्यथा मनोरञ्जनका नाममा जानअन्जानमा गरिने विकृतियुक्त कर्मले ऐतिहासिक महत्व बोकेको तीज पर्वलाई नै कालान्तरमा बदनाम गराउने छ। अन्तत्वगत्वा तीज पर्व नै विकृति र विसंगतिपूर्ण पर्वका रूपमा स्थापित हुन गई यसको अस्तित्वमै संकट आउने छ।
आध्यात्मिक रूपमा पनि तीजको निकै ठूलो महिमा छ। श्रद्धापूर्वक श्रद्धालुहरू व्रत बस्ने, शिवपार्वतीको आराधना एवं मठ मन्दिरको दर्शन तथा नाचगान गर्ने गरिन्छ। यसैगरी पञ्चमीका दिन व्रत बस्ने, सप्तऋषिको पूजा गर्ने गरिन्छ। यसैप्रकार तीजको तात्विक महत्व पनि उस्तै छ। हाम्रो वैदिक षड्दर्शनले स्त्रीलाई प्रकृति मानेको छ। यसर्थ तीजको सम्बन्ध प्रकृति (जड तत्व) सँग छ। एक प्रकारले प्रकृतिको सम्मान, महत्व र सामिप्यतालाई यो चाडले आत्मसात् गरेको छ। तात्विक रूपमा प्रकृति र पुरूष (आत्मा) तत्वको मिलनको चाड हो। प्रकृति आत्मा र परमात्माको संयुक्त स्वरूपलाई नै हाम्रा दर्शनले ब्रह्म भनेका र मानेका छन्। समस्त जड तत्वको समुचित उपयोग, उपदेयता, ज्ञान र संरक्षणजस्ता कुराहरूलाई हाम्रा दर्शनले महत्व दिएको पाईन्छ। यसर्थ यो पर्व तात्विक दृष्टिकोणले पनि त्यतिकै महत्वपूर्ण छ।
तीजको समग्र महत्वका बारेमा उजागर नहुनु
खासगरी मुख्य रूपमा पण्डितज्यूहरूले तीज मन परेको पति पाउन र पतिको दीर्घायुका निम्ति निराहार तथा निर्जला व्रत बसेर पूजाआजाका साथ मनाउने चाड हो भनेर भनिदिनुले छोरी जातिको आफ्नो मन परेको वर छान्न पाउने नैसर्गिक जन्मसिद्ध अधिकारको प्रत्याभूतिका निम्ति माता गौरी (पार्वती) द्वारा गरिएको संघर्ष र विजयको उत्सव ओझेल पर्न गयो। यो पर्व गौरवशाली विजयको विजय उत्सव र नारी अधिकारको प्रत्याभूति तथा सुनिश्चितताको दिवस पनि हो भन्ने महत्वपूर्ण कुरा भनिएन र भनिँदैन। जसले गर्दा नारी अधिकार, स्वतन्त्रता र गौरवले परिपूर्ण पर्वको वास्तविक महत्व उजागर हुन सकेन। तीजमा व्रत पूजाको साथसाथै असहाय तथा असक्षम दिदीबहिनीलाई दर खुवाउने, सक्दो सहयोग गर्ने र बालगृह, गौशाला तथा वृद्धाआश्रमहरूमा यथासक्य दान सहयोग गर्दा राम्रो हुन्छ। आवश्यक जनलाई सहयोग मिल्छ र व्रतालुलाई पनि धर्म हुन्छ भन्न कन्जुस्याइँ गर्दा सामाजिक सहयोग तथा सद्भाव घट्दै गएको छ। लाखौं लाख तीजका व्रतालु र श्रद्धालुलाई व्रत र पूजासँगसँगै नारी जागरण, अधिकार, सामाजिक तथा मानवीय सेवामा जोड्न र प्रेरित गर्न सके समाज, संस्कृति र सभ्यतालाई नै ठूलो लाभ पुग्ने छ।
यिनै कमजोरीका कारण हाम्रो धर्म र संस्कृतिलाई कमजोर बनाउन चाहनेले पुरूषका निम्ति नारीलाई भोको बसाउने नारी शोषणको चाड भनेर लाञ्छना लगाउनसम्म भ्याएको देखिन्छ। तसर्थ पण्डितज्यूहरूले पूजाआजा र ब्राह्मण दक्षिणाको अलावा आवश्यक जन तथा बालगृह, वृद्धाश्रम अनि गौशालामा पनि दान सहयोग गर्दा राम्रो हुनुका साथै धर्म पनि हुन्छ भन्न हिचकिचाउन हुँदैन। साथसाथै तीजको महत्वको अर्को पाटोलाई पनि उजागर गर्न अति आवश्यक छ।
यी कुराबाहेक हाम्रा बौद्धिक समाज, कलाकार, गीतकार, संगीतकार, पत्रकार, शिक्षक, प्राध्यापक, धार्मिक तथा आध्यात्मिक अगुवा, महिला अगुवा, सामाजिक अगुवालगायत सम्पूर्ण चेतनशील नागरिक समाजले तीजको ओझेल परेको पक्षलाई उजागर गर्दै यसको महता र वैभवतालाई सबैका अगाडि प्रष्ट्याउन आवश्यक छ।
समय परिवर्तनशील र गतिशील छ। समयसँगसँगै मानव समाज र सभ्यता परिवर्तन हुँदै आएका छन्। समयको गतिसँगै भएका सकारात्मक एवं सिर्जनशील परिवर्तनले समाज र सभ्यतालाई वैभवता प्रदान गर्दै विकासको उचाइँमा पुर्याएका छन्। समयको बदलिँदो प्रवाहसँगसँगै नकारात्मक र असिर्जनशील परिवर्तनले समाज र सभ्यतालाई बदनाम गर्दै विनाशको बिन्दुसम्म पुर्याएका छन्। तीज पर्व पनि समयसँगै परिवर्तन हुँदै आएको छ र समय अनुकूल मूलभूत यथार्थ, मूल्य र मान्यतामा आँच नआउने गरी परिवर्तन हुन आवश्यक छ। हिजो माइतीघर, व्रत, पूजा, पँधेरो, चौतारो अनि मन्दिरमा सीमित हुने पर्व आज सहर, बजार, बस्ती, व्यसाय, विद्युतीय सञ्चारमाध्यम,सामाजिक सञ्जालतिर फैलिएको छ। हिजो डम्फु, मादल, थपडी र मुर्चुङ्गामा गाइने तीजका भाका आज सुव्यवस्थित तरिकाले आधुनिक बाजागाजामा लयबद्ध भएका छन्। तीज गीतको माध्यमबाट आफ्ना दुःख, पिडा, अधिकार र स्वतन्त्रता लय बाँध्दै समाजलाई जागरूक गराउने पर्व हरेक क्षेत्र र समुदायको पर्व बन्दै आएको छ। एक प्रकारले तीज पर्वको माध्यमबाट सामाजले सांस्कृतिक एवं सांगितिक उपलब्धि हासिल गरेको छ। यी सकारात्मक पक्ष हुन।
तीज पर्वमा लुकेको सौहार्द, सद्भाव र मानवीयता
हरेक पर्व महत्वपूर्ण हुन्छन्। तथापि तीज पर्वले आमा, छोरी अनि दिदीबहिनीको ममतालाई उजागर गर्छ। व्रतालु तथा श्रद्धालुहरूको आभाबाट ममताको प्रकाश पुञ्जित भइरहेको हुन्छ। उक्त पवित्र निश्चल मानसिक एवं भावनात्मक अवस्थामा धार्मिक तथा आध्यात्मिक समर्पण र कर्मका साथसाथै सामाजिक एवं मानवीय सेवाको भावलाई मिसाउन सकेको खण्डमा लाखौं लाख असहाय तथा अति आवश्यक जनहरूलाई सहयोग र सद्भाव मिल्ने छ। सयौं हजारौं बालगृह, वृद्धाआश्रम तथा गौशालामा प्रेम र सेवाको सौगात सहयोगका रूपमा पुग्नेछ।
विगत केही वर्षदेखि आधुनिकताको नाममा, परिवर्तनको बहानामा अनि सस्तो लोकप्रियता र सजिलो आयआर्जनको लोभमा तीजजस्तो पवित्र चाडलाई विकृति, विसंगति र यौन स्वच्छन्दताको सिकार बनाइँदै छ। ‘पोइला जान पाम’, ‘डिस्कोमा तीज’ ‘छोटो लुगा’ आदि–इत्यादि हुँदै अगाडि बढेको तीज गीतको आधुनिकताको नाममा स्वच्छन्द तथा उच्छृंखल यात्राले यसपालिको तीजमा दरको साटो रक्सी खाइन्छ। थाहा छैन यो आधुनिकताको स्वच्छन्द तथा उच्छृंखल गतिले कुन उचाइँ छुने हो।
यस्ता उच्छृंखल र छाडा गीत, संगीत र अभिनयले तत्काल कोही कसैलाई सस्तो लोकप्रियता र सहज आर्जन गराए पनि हाम्रो वैभवशाली संस्कार, संस्कृति एवं परम्परालाई पटक्कै फाइदा पुग्ने छैन। जीवन्त समाज र वैभवशाली सभ्यताका विनाशका कारक बन्न सक्ने यस्ता गलत क्रियाकलाप रोक्न सरकारी निकाय, संस्कृति प्रेमी, कलाकार, गीतकार, संगीतकार, रेकर्डिङ कम्पनी, सरोकारवाला संघसंस्था र सिंगो संस्कृतिप्रेमी नागरिक समाज लागिपर्न जरूरी छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?
- बगेर खेर गइरहेछ भोटको नुन
- गाउँकै अगुवा किसान, गाउँले एफएम दाइ
- नेतन्याहू, ग्यालेन्ट र देइफविरुद्धको आइसिसीको पक्राउ पुर्जी ‘बाध्यकारी’: इयू
- बुढाहाङ सेवामा वढाङमी नाचको रन्को
- कर्णालीमा आमसञ्चार विधेयकबारे छलफल
- सम्मान र पुरस्कारले उत्साहित पूजा
- लेबनानको सार्वभौमिकता उल्लङ्घन गर्ने इजरायलसँगको युद्धविराम स्वीकार्य छैनः हिजबुल्लाह प्रमुख
- इन्जिनियरिङ अध्ययन गरेर ब्लक उद्योगमा स्थापित
- जर्मनीले ‘एआई’ बाट नियन्त्रण गर्न मिल्ने चार हजार ड्रोन युक्रेन पठाउने