बझाङको भूकम्प र परकम्पले हल्लियो सुदूरपश्चिम

मङ्गलवार दिउसो २ बजेर ४२ मिनेट जाँदा बझाङको तलकोट आसपास केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । त्यसको केही क्षणमा ३ बजेर ७ मिनेट जाँदा बझाङको सदरमुकाम चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्नेच्युटको भूकम्प गएको हो ।

भूकम्प गएपछि सदरमुकाम मार्तडी बजारमा भाग दौड र हल्ला मच्चिएको छ । सुदूरपश्चिम प्रदेश र कर्णालीसँगै पश्चिम नेपालका कयौँ जिल्लामा समेत भूकम्पको धक्का महसुस गरिएको थियो । यसबिच जयपृथ्वी राजमार्गको कचली खोलामा माथिबाट धुले पहिरो खसेर सडक अवरुद्ध भएको जनाइएको छ।

यसै गरी यो भूकम्पबाट बाजुरामा भूकम्पको प्रारम्भिक विवरण अनुसार  १० घरमा पूर्ण क्षति भएको छ ।  खप्तड छेडे दह गाउँपालिका-३ टुनिसैनका ५ घर भत्किएका छन्  भने बडिमालिका नगरपालिका ९ मा ३ घर वडा नम्बर ५ मा एक घर र त्रिवेणि नगरपालिकामा १ घरमा पूर्ण रूपमा क्षति भएको छ  । त्यस्तै बुढिगंगा नगरपालिकाको महेन्द्र आधारभूत विद्यालयको भवन पनि पूर्ण रूपमा क्षति भएको विवरण आएको छ।

भूकम्पले बझाङ सहित बैतडीको सिगास गाउँपालिका, पुर्चौडी नगरपालिका, डिलासैनी गाउँपालिका र पाटन नगरपालिकामा दर्जनौँ घर र विद्यालयका भवनमा क्षति पुगेको छ । बैतडीको डिलासैनीमा एक बालिका घाइते भएकी छिन् ।

पश्चिम नेपालमा ५०० वर्षभन्दा बढी समयदेखि महाभूकम्प नगएकाले त्यहाँको भूगर्भमा धेरै ऊर्जा सञ्चित भएर बसेको भूगर्भविद्हरू बताउँछन्। तर डोटी र बाजुरामा गएका भूकम्पहरू सञ्चित ऊर्जा निष्कासनका लागि पर्याप्त नभएको उनीहरूको भनाइ छ।

नेपाल भारत र तिब्बतका बिचमा पर्ने भएकाले उच्च भूकम्पीय जोखिम भएको क्षेत्रमा पर्छ।

भारतीय उपमहाद्वीपको भूगर्भमा रहेको चट्टानहरूको तह उत्तरतिर गइरहेको छ र युरेशिएन प्लेटमा जोतिइरहेको छ। पूरै हिमालय भएको क्षेत्र ती दुई प्लेटहरू ठोक्किने स्थान हो। त्यसैले हिमालय छेउछाउ भूकम्पको सम्भावना सधैँ हुन्छ।

आवरण तस्बिर: दिउँसो ३:०७ मा भएको भूकम्पका कारण बझाङको जयपृथ्बी नगरपालिका–४ मा रहेको वाल विकास माध्यमिक विद्यालय भवनमा पुगेको क्षति । पहिलो भूकम्प आएपछि विद्यार्थीलाई घर पठाएका कारण मानवीय क्षति पुग्न पाएन ।

फोटो नरेन्द्र उपाध्यायको फेसबुक वालबाट

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link