राष्ट्रपतिबाट कैद माफी पाएको २५ दिनमै युवाले गरे महिलाको हत्या

राष्ट्रपतिबाट बाँकी कैद मिनाहा गरिएका रुकुम पश्चिममा एक व्यक्तिले जेलमुक्त भएको २५ दिनमा एक महिलाको हत्या गरेका छन्।

असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफी भएर कारागार कार्यालय रुकुमबाट कैदमुक्त भएका रुकुम पश्चिमको सानीभेरी गाउँपालिका –९ का ३३ वर्षीय लोकेन्द्र भनिने लोकबहादुर बिकले होटेलमा लगेर एक महिलाको हत्या गरेको प्रहरीले जनाएको छ।

लोकबहादुरले मुसीकोट नगरपालिका –७ साँखकी २८ वर्षीया भावना बिकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक (डिएसपी) नमराज भट्टराईले जानकारी दिनुभयो।

भावनाको हत्या गरेको आरोपी लोकबहादुरले स्वीकार गरेको, दसी–प्रमाण र अनुसन्धानका क्रममा समेत खुल्न आएको भन्दै प्रहरीले लोकहादुरलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ।

लोकबहादुर गत असोज ३ गते नवौ संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद माफि गरिएपछि कैदमुक्त भएका व्यक्ति हुन्। उनै लोकबहादुरले कैदमुक्त भएको २५ दिनपछि असोज २९ गते सोमबार भावनालाई मुसीकोट नगरपालिका –१ खलङगा बजारको होटेल सत्कारमा हत्या गरेको प्रहरीको दाबी छ।

अघिल्लो दिन होटेल पुगेका उनीहरुले त्रिवेणी गाउँपालिकाका विकास केसीको नाममा श्रीमानश्रीमती नाता उल्लेख गरेर होटेलको कोठा नम्वर १ बुक गरेका थिए। दुवै जना २९ गते बिहान १० बजेबाट सम्पर्कमा नआएपछि ३० गते बिहान बन्द कोठा खोलेर हेर्दा भावनाको शव सिरकले छोपिएको अवस्थामा भेटिएको थियो। लोकबहादुरले भावनाको घाँटीमा धारिलो चक्कु प्रयोग गरी हत्या गरेको डिएसपी भट्टराईले बताउनुभयो।

प्रहरीले घटनास्थलबाट धारिलो चक्कु, चक्कुको खोल, नगद ८५ हजार ८३५ रुपैयाँ र प्रतिवादीको मोबाइलसमेत बरामद गरेको छ।

अनैतिक सम्बन्ध र आर्थिक लेनदेनको कारण हत्या भएको प्रहरीको भनाइ छ।

मृतकको श्रीमान् र हत्या आरोपितकी श्रीमती हाल बैदशिक रोजगारीमा रहेको बताइन्छ। प्रतिवादी कारागार मुक्त भएयता २५ दिनमा १२४ पटक दुई जनाबीच मोबाइलमा कुराकानी भएको, प्रतिवादी कारागारमा रहँदा मृतक दुईपटक भेट्न गएको समेत प्रहरीले उल्लेख गरेको छ।

मृतक भावना गत वर्ष भएको स्थानीय तह निर्वाचनको बेला म्यादी प्रहरीमा भर्ना भएर सानीभेरी गाउँपालिका कार्यक्षेत्रमा खटिएकी थिइन्। सानीभेरी ९ सिम्लीमा रहेको हत्या आरोपी लोकबहादुरको होटेलमा म्यादी प्रहरीले खाना खाने गरेका थिए। प्रहरीका अनुसार त्यतिबेलैदेखि दुबै जना नजिक भएर अनैतिक सम्बन्धमा गाँसिएको खुलेको छ।

हत्या आरोपी लोकबहादुरले बहुविवाह मुद्दामा रुकुम कारागारमा कैद भुक्तान गरेका थिए। उच्च अदालत सुर्खेतले २०७६ जेठ ९ गते एक वर्ष कैद सजाय सुनाएका उनी २०७९ फागुन १४ गते कैद परेका थिए। अन्तिम फैसला नहुँदा त्यसअघि उनले २४ दिन कैद भुक्तान गरेका थिए।

२०८० माघ १९ गते कैदमुक्त हुुनुपर्ने लोकबहादुरलाई ७ महिना १२ दिन कैद भुक्तान गरेको र असल चालचलन रहेको भनी राष्ट्रपतिबाट बाँकी कैद मिनाहा गरिएको थियो।

कैदभुक्तान गर्न ३ महिना २३ दिन बाँकी रहँदै कैदमुक्त भएका लोकहादुरले कारागारबाट निस्केको २५ दिनपछि महिलाको हत्या गरेका हुन्। प्रहरीले लोकबहादुरबिरुद्ध कर्तव्य ज्यान मुद्दा शीर्षकमा मुद्दा दर्ता गरेर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link