वातावरण पत्रकार समूहलाई पहिलो संरक्षण पत्रकारिता पुरस्कार

नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले संरक्षण पत्रकारिता पुरस्कार प्राप्त गरेको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषले आफ्नो स्थापनाको ४१ औँ वार्षिकोत्सवका अवसरमा समूहलाई ६५ हजार १ रुपैयाँ राशि र सम्मानपत्रद्वारा पुरस्कृत गरेको हो।
वन तथा वातावरण मन्त्री डा. वीरेन्द्रप्रसाद महतोले कोषका तर्फबाट समूहलाई पुरस्कार र सम्मानपत्र प्रदान गर्नुभयो। शुक्रवार (३ कार्तिकमा) ललितपुरको खुमलटारस्थित कोष परिसरमा आयोजित विशेष समारोहमा समूहको प्रतिनिधित्व गर्दै सचिव सृष्टि काफ्लेले पुरस्कार तथा सम्मानपत्र ग्रहण गर्नुभयो।
कोषले यही वर्षदेखि संरक्षक संरक्षण पत्रकारिता पुरस्कार प्रदान गर्न थालेको हो। नेपालको वन, वातावरण, प्रकृति, वन्यजन्तुलगायत जैविक विविधता संरक्षण र जलवायु परिवर्तनका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएकोमा कोषले समूहलाई यो पुरस्कार प्रदान गरेको हो।
२०४३ सालमा स्थापना भएको नेवापसले टेलिभिजन कार्यक्रम आँखीझ्याल, रेडियो सगरमाथाका अतिरिक्त छापा र अनलाइन पत्रकारितामार्फत वातावरण, दिगो विकासका मुद्दा र विषयवस्तुका समाचार प्रकाशन प्रसारण गर्दै आएको छ।
कोषले यस वर्ष ‘राष्ट्रिय प्रकृति संरक्षण कोष–संरक्षक संरक्षण सम्मान’ प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङलाई प्रदान गर्‍यो। समुदायमा आधारित संरक्षण र संरक्षण क्षेत्र व्यवस्थापनमा कास्कीको पार्चे संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका गुरुङलाई कोषले १ लाख २५ हजार राशिसहितको उक्त सम्मान प्रदान गरेको छ। उहाँ समुदायमा आधारित संरक्षणको अवधारणमा लामो समयदेखि क्रियाशील हुनुहुन्छ।
यही अवसरमा कोषले हिमाली क्षेत्रको वातावरण संरक्षणका साथै हिमाल सफाइ अभियानमा खेलेको भूमिकालाई कदर गर्दै नेपाली सेनालाई विशेष सम्मान गरेको छ। सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयबाट कोषले जैविक विविधता संरक्षणमा सहकार्य र समन्वयकारी भूमिका निर्वाह गर्दै आएको छ। साथै कोषले नेपालको जैविक विविधता संरक्षणमा सहयोगको मूल्याङ्कन गर्दै अमेरिका, चीन, बेलायत र जापानलाई पनि सम्मानपत्रसहित सम्मान गरेको हो।
नेपालका लागि बेलायत र चीनका राजदूतहरू क्रमशः रब फेन र केन सङ र अमेरिकी दूतावासका प्रतिनिधिले सम्मानपत्र ग्रहण गर्नुभयो। यही अवसरमा कोषले ३ जना संस्थापक बोर्ड सदस्यहरूलाई सम्मान गरेको छ। मन्त्री महतोले बेलायतका सर अर्थर नोरमेन, अमेरिकाका रुसेल इ ट्रेन र जापानका डा. सुबारो ओकितालाई मरणोपरान्त सम्मान प्रदान गर्नुभयो। सो सम्मान नेपालका लागि बेलायती र चिनियाँ राजदूत र जापानी दूतावासका प्रतिनिधिले ग्रहण गर्नुभयो।
वार्षिकोत्सवका अवसरमा कोषले ३ दशक सेवा अवधि पूरा गरेका आफ्ना कर्मचारीहरूलाई दीर्घ सेवा पदक प्रदान गर्‍यो। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतोले संरक्षण क्षेत्रमा परिणाममुखी नतिजाका लागि तीनै तहका सरकार, वन तथा वातावरण मन्त्रालय र अन्य सरोकारवाला निकायबिच समन्वय र सहकार्यमा जोड दिए। कोषले गरिरहेका कामलाई अझ प्रभावकारी बनाउन मन्त्रालयसँगको समन्वय जरुरी छ,’ उहाँले भन्नुभयो, ‘स्रोत साधन भए पनि सहकार्य र समन्वय भएन भने नतिजा प्रभावकारी हुँदैन।’
सोही अवसरमा बोल्दै प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत व्यवस्थापन समितिका सभापति डा. आरजु राणा देउवाले सिमसार र संरक्षण क्षेत्रमा राज्यको बजेट न्यून भएको उल्लेख गर्दै पर्याप्त स्रोत साधनबिना अपेक्षाकृत नजिता नआउने बताउनुभयो। सो अवसरमा कोषका अध्यक्ष डा. कृष्णप्रसाद ओली, मुख्यसचिव वैकुण्ठ अर्याल, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, कोषका सदस्य–सचिव शरदचन्द्र अधिकारीलगायतले जीवजन्तु र वन्यजन्तु संरक्षणमा सरकार र सरोकारवाला निकायबिच निरन्तर हातेमालोको खाँचो औँल्याउनु भएको थियो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
वातावरण पत्रकार समूहलाई पहिलो संरक्षण पत्रकारिता पुरस्कार
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link