ब्रिटिस काउन्सिलले माग्यो साफकाका लागि आवेदन 

ब्रिटिस काउन्सिलले एडिनबर्ग न्यापियर विश्वविद्यालयसँगको साझेदारीमा दक्षिण एसिया फेस्टिभल एन्ड कल्चर एकेडेमी (साफका) कार्यक्रममा सहभागिताका लागि आवेदन खुला गरेको छ ।

अहिले विश्वभर स्वतन्त्र र स्थापित कला र संस्कृति मेलाहरूको वृद्धि भइरहेको छ । सोको प्रतिक्रियामा यो आवेदन खुलाइएको हो । यो अग्रणी पहलले मेला पर्वप्रति उत्साहित र उद्योगका विज्ञहरूबिचको दूरी मेटाउने सेतुको काम गर्नेछ । यसले भारत र दक्षिण एसियाका उसका छिमेकी देशहरूमा अनलाइनमार्फत ज्ञान र अन्तर्दृष्टि आदानप्रदानमा सहजीकरण गर्नेछ ।

दक्षिण एसिया फेस्टिभल एकेडेमीको इन्टरमिडियट कोर्स सन् २०२४ को जनवरीमा सुरु हुनेछ । यसको आवेदन भने सन् २०२३ को नोभेम्बर १९ सम्म खुला रहनेछ ।

सफका फेस्टिभल म्यानेजरहरूलाई फेस्टिभल व्यवस्थापनमा सफलताका लागि आवश्यक सिपयुक्त बनाउन विशेष गरी तयार पारिएका छोटा कोर्सहरू छन् । यी कोर्सहरूले अन्तर्राष्ट्रिय प्रोग्रामिङ र क्युरेशन, नेतृत्व र सुशासन, वित्तीय व्यवस्थापन, सञ्चालन र कर्मचारी व्यवस्थापन, मार्केटिङ र दर्शक विकास, जोखिम व्यवस्थापन र स्वास्थ्य एवम् सुरक्षा, समानता, विविधता र समावेशीकरणलाई समेट्नेछ ।

ब्रिटिस काउन्सिल नेपालका निर्देशक शाहिदा म्याकडगल भन्नुहुन्छ, ‘फेस्टिभल व्यवस्थापनसम्बन्धी बलियो सिपको महत्वलाई अतिरञ्जित गर्न सकिन्न । बेलायतको विस्तृत र जीवन्त मेला÷पर्वका दृश्यहरू हेर्दा हामीलाई के थाहा छ भने यस्ता मेला पर्वहरुको राम्रो व्यवस्थापन र दक्ष मेला पर्व व्यवस्थापकले कलाको क्षेत्रमा दिगोपना र वृद्धिको थप सम्भाव्यताहरू ल्याउन सक्छन् ।

कलाकार, अभिनेता र सृजनशीलता उद्यममा आबद्ध वा यसमा रुचि राख्ने व्यक्तिहरूलाई दक्षिण एसिया फेस्टिभल एकेडेमीले समावेशी परिस्थितिमा व्यावसायिक दृष्टिकोण विकसित गर्न असाधारण मौका उपलब्ध गराउनेछ भने अन्तर्राष्ट्रिय मेला व्यवस्थापकहरूको विज्ञताबाट पनि उनीहरूले लाभ उठाउन सक्नेछन् ।’

‘विश्वभर नै मेला एवम् पर्वहरू कलात्मक अभिव्यक्ति, सांस्कृतिक संवर्द्धन र समावेशिताका लागि मञ्चका रूपमा हेरिन्छ । यसले स्थानीय अर्थतन्त्रमा उल्लेख्य प्रभाव पार्न सक्छ ।

यसको सांस्कृतिक महत्त्व बेलायत र नेपाल दुवैतिर निकै धेरै छ, अनि यसले स्थानीय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिन सक्छ । एकेडेमीका लागि नेपालबाट आवेदन पाउने आशामा हामी छौँ,’ उहाँले भन्नुभयो ।

साफकाले उपलब्ध गराएको इन्टरमिडियट कोर्स तीन वर्षको अनुभवको परिणाम हो । यो एकेडेमी बीएन कोर्स अनुसार बनेको हो । यसले दक्षिण एसियाको अद्वितीय मेला पर्व र सांस्कृतिक प्रसङ्गलाई अपनाएको छ ।

यो प्रोग्राममा बेलायत र दक्षिण एसिया दुवैका फेस्टिभल एकेडेमिक्स र विज्ञहरूले सिकाउँछन् । यो खास गरी पर्व निर्देशक, संस्थापक, उद्यमी र दक्षिण एसियाभर कला र संस्कृति मेलाका वरिष्ठ व्यवस्थापकका लागि तयार पारिएको हो । यो १० हप्ता अवधिको गहन, संरचित सिप विकास कार्यक्रम रहेको काउन्सिले बताएको छ ।

वरिष्ठ नेतृत्वदायक भूमिकामा सक्रिय अनुभव देखाउन सक्ने अनि मेला र संस्कृतिको क्षेत्रमा ५ देखि १० वर्षसम्म काम गरेको अनुभव भएकाबाट आउने निवेदनलाई विचार गरिने काउन्सिलले बताएको छ ।

मेलाको लागि प्रतिव्यक्ति ७५० पाउन्ड अर्थात् १ लाख २१ हजार ५०० सय रुपैयाँ खर्च लाग्ने भएपपनि ब्रिटिस काउन्सिलले प्रतिव्यक्ति ५०० पाउन्ड दिने भएपछि कुल खर्च २५० पाउन्ड अर्थात् नेपाली ४० हजार ५०० रुपैयाँ लाग्ने काउन्सिलले जानकारी दिएको छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link