गए राति गएको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा ज्यान गुमाउनेको सङ्ख्या एक सय ३७ पुगेको छ । कर्णाली प्रदेशका कानुनमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता कृष्णबहादुर जिसीका अनुसार भूकम्पबाट जाजरकोटमा ६९ महिला र ३० पुरुष गरी ९९ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै, रुकुम पश्चिममा १९ पुरुष र १९ महिला गरी ३८ जनाको मृत्यु भएको छ । भूकम्पबाट जाजरकोटमा ८१, रुकुम पश्चिममा ७२, जुम्ला र दैलेखमा तीन/तीन तथा सल्यानमा एक जना घाइते भएका छन् । उनीहरूको जाजरकोट, रुकुम पश्चिम, सुर्खेत र बाँकेका विभिन्न अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । घाइतेको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको छ ।
जाजरकोट र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको भूकम्प प्रभावित क्षेत्रमा आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पूर्वगृहमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मालगायत पुगेर मृतकका परिवारजन तथा घाइतेलाई भेट्नुभएको छ। गए राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो ।
यसबीच सरकारले भूकम्पबाट बढी प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लालाई केन्द्रीय राहत व्यवस्थापन कोषबाट तत्काल रु पाँच/पाँच करोड आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा आज बसेको सरोकारवालाको बैठकले राहत वितरणलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने निर्णय गरेको छ। कम्बल, पाल, खाद्यान्न पठाउने काम भइसकेको र अपुग भएको अवस्थामा तुरुन्तै खबर गर्न प्रादेशिक सरकार र जिल्ला व्यवस्थापन समितिलाई निर्देशन दिइसकिएको बैठकपछि उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिनुभयो।
“जिल्ला विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्रबाट आवश्यक सम्पूर्ण जनशक्ति खटिइएका छन्। सङ्घीय, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर पीडितको खोजी, उद्धार र राहतका काम अगाडि बढाइरहेका छौँ”, उहाँले भन्नुभयो। भूकम्पका कारण अवरुद्ध सडकलाई केही घन्टाभित्रै खुलाउने गरी सडक विभागलाई निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो।
भूकम्पमा परी घाइते भएकाको स्वास्थ्य उपचारका निम्ति चिकित्सक प्रभावित क्षेत्रमा पुगिसेकेको, स्वास्थ्य सामग्रीका साथै औषधि प्रभावित क्षेत्रमा पुगिसकेको उहाँको भनाइ छ। “थप सामग्री आवश्यक परेको अवस्थामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तत्कालै व्यवस्था गर्ने निर्णय भएको छ”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो।
मृतकको शव व्यवस्थापनका लागि विशेष टोली खटिइएको जानकारी दिँदै उहाँले सो टोलीले मुचुल्कासहित आवश्यक सदगत्को व्यवस्था गर्ने बताउनुभयो। उद्धारका लागि सबै सुरक्षा निकाय खटिइएको, थप सुरक्षा बल त्यसतर्फ पठाइने उहाँले जानकारी दिनुभयो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- सामाजिक सञ्जालको सदुपयोग गर्दा …
- ब्लू ओरिजिनको पहिलो कक्षीय रकेट प्रक्षेपण स्थगित
- ‘बेलायतसँग भएको सन्धीले नेपाललाई सार्वभौम राष्ट्रका रूपमा चिनायो’
- देवघाटमा आजदेखि माघे सङ्क्रान्ति मेला
- अमेरिकी डलरको भाउ बढ्यो
- आज माघ सङ्क्रान्ति पर्व मनाइँदै
- महाकुम्भमा एक करोड भक्तजनको ऐतिहासिक स्नान
- शेन्झाउ–१९ दलद्वारा अन्तरिक्ष स्टेशनमा नयाँ प्रयोगको सुरूवात
- मुस्ताङ
- सूर्योदय