हुलाकी राजमार्गको मोरङखण्ड अलपत्र

भुक्तानी ८० प्रतिशत, काम ५० प्रतिशतमा सीमित

तराई मधेसलाई यातायातमार्फत पूर्वपश्चिम जोड्ने लक्ष्यसहित निर्माण भइरहेको हुलाकी राजमार्गको काम सुस्त छ । हुलाकी राजमार्ग अन्तर्गत मोरङतर्फको सडक बिस्तारका लागि दुई पटक म्याद थपेर २०८० साल कार्तिकसम्म सडक बिस्तारको काम सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि यो अवधिमा जम्मा २३ किलोमिटर मात्र कालोपत्रे भएको सुनसरीको इटहरीस्थित हुलाकी राजमार्ग योजना कार्यालयले जनाएको छ । 

२०७६ सालमा तीन वर्ष भित्र चार लेन सडक निर्माण गर्ने ठेक्का सम्झौता भएको थियो । पहिलो तीन वर्षमा काम सम्पन्न नभए पनि गएको वर्ष थप एक वर्ष सडक बिस्तारको म्याद थप गरिएको थियो । 

हुलाकी राजमार्ग योजना कार्यालयले कुल तीन अर्ब ६० करोड लागतमा कुल ४१ किलोमिटर सडक निर्माणको ठेक्का लिएका निर्माण व्यवसायीले ८० प्रतिशत रकम खर्च भुक्तानी लिइसेका छन् । तर भौतिक प्रगति भने ५० प्रतिशत हाराहारीमा मात्र रहेको कार्यालयले जनाएको छ । जसका कारण सडक निर्माण पूरा नहुँदा सर्वसाधारण कष्ट भोग्नु परेको छ । बर्खामा हिलो र हिउँदमा धुलोले राजमार्ग आसपासमा बस्न समेत समस्या हुने गरेको छ । साथै सडक निर्माण पूरा नहुँदा सर्वसाधारण कष्ट भोग्नु परेको स्थानीयले बताएका छन् । 

कार्यालयले रतुवा खोलादेखि विराटनगरको केशलिया खोलासम्मको सडक बिस्तारको काममा ८० प्रतिशत खर्च भइसक्दा भौतिक प्रगति त्यसको आधा मात्रै छ । निर्माण व्यवसायीको हेलचेक्र्याइँले सडक अलपत्र पर्दा सर्वसाधारणले अनेकौँ सास्ती भोग्नु परेको छ ।

सम्झौता अनुसार मोरङतर्फको राजमार्गको निर्माणको काम चालु आवको कार्तिक मसान्तसम्म सम्पन्न भइसक्नु पर्ने थियो तर अहिले पनि हुलाकी राजमार्ग अन्तर्गत मोरङ तर्फको  सबै प्याकेटको काम जारी छ ।
विभिन्न पाँच प्याकेजमा ठेक्का सम्झौता भई निर्माण कम्पनीहरूले सडक विस्तारको जिम्मा लिएका छन् । तीन वटा प्याकेट बाहेक थप दुई वटा प्याकेजको काम भने ९० प्रतिशत भन्दा बढी सम्पन्न भइसकेको हुलाकी राजमार्ग योजना कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार रतुवा–केशलिया सडक खण्ड अन्तर्गत रतुवादेखि झुँगी टोलसम्म १६ दशमलव ५ किलोमिटरमा पिएस गजुरमुखी/मोतिदान जेभी, झुँगी टोलदेखि बेतौनासम्म ७ दशमलव ६ किलोमिटरमा कालिका मैनाचुली–वेदान्सी जेभी, बेतौनादेखि कटहरिको नयाँ बजारसम्म ११ दशमलव ९ किलोमिटरमा गजुरमुखी–मोतिदान जेभी र कटहरिदेखि विराटनगरसम्म ६ किलोमिटरमा श्रेष्ठ कन्स्ट्रक्सनले सडक विस्तारको जिम्मा पाएका छन् ।


रतुवा खोलादेखि विराटनगर महानगरपालिकाको केशलिया खोलासम्मको मोरङ खण्डको भौतिक प्रगति सुस्त हुँदा सर्वसाधारणले सास्ती बेहोर्नु परेको हो । कार्यालयका इन्जिनियर शिवराम देवले सडक निर्माणमा सबै भन्दा समस्या कटहरिदेखि विराटनगरसम्मको ६ किलोमिटर सडकमा रहेको छ ।

श्रेष्ठ कन्स्ट्रक्सनले सडक विस्तारको जिम्मा पाएका छ । तर सडक बिस्तारको समय अवधि सकिए पनि सडकको भौतिक प्रगति मात्र २८ प्रतिशत रहेको हुलाकी राजमार्ग योजना कार्यालयले जनाएको छ । सो सडक बिस्तारको काम भने चालु आवको कार्तिक मसान्तसम्म रहेको थियो ।

०७६ कात्तिक २४ मा सम्झौता भएको बेतौनादेखि कटहरिको नयाँ बजारसम्मको ११ दशमलव ९ किलोमिटर भौतिक प्रगति पनि ४० प्रतिशतमा सीमित छ । गएको कार्तिक मसान्तसम्ममा सम्पन्न गर्न पर्ने सडकको काम रोकिदा समस्या भएको छ । निर्माण सम्पन्न गर्नुपर्ने समय सीमा सकिएकाले निर्माण कम्पनीले म्याद थपको निवेदन कार्यालयमा दिए पनि के गर्ने भन्ने विषयमा छलफल भइरहेको इन्जिनियर देवले बताए ।

हाल सडक संरचना र केही चेनेज निर्माण कार्यको कार्य मात्र भएको छ कार्यालयले जनाएको छ । करिब ७८ करोडको लागतमा निर्माण सम्झौता भएको कम्पनीलाई १४ करोड बढी भुक्तानीसमेत भइसकेको छ । तर प्रगति भने निराशाजनक छ ।

मोरङमा निर्माण कार्य जारी रतुवा केशलिया सडक खण्डअन्तर्गत झुँगी टोलदेखि बेतौनासम्मको ७ दशमलव ६ किलोमिटर सडक खण्डको भौतिक प्रगति सन्तोषजनक देखिएको हुलाकी राजमार्ग योजना कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार सो खण्डको ७ दशमलव ५ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । सडकमा आवश्यक संरचना निर्माणको कार्य समेत सम्पन्न भइसकेको जनाइएको छ । ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण तराईका जिल्लाहरू जोड्ने लाइफलाइनका रूपमा हेरिएको हुलाकी राजमार्गको मोरङ जिल्ला अन्तर्गतको निर्माण कार्य सुस्त हुँदै आएको छ ।

तराई/मधेशका २१ जिल्लाहरू जोड्ने हुलाकी राजमार्ग विस्तारको कार्य २०६२/०६३ बाट सुरु भएको थियो । राजमार्गको निर्माण कार्य केही वर्ष अघिसम्म द्रुत गतिमा भइरहेको भए पनि पछिल्लो केही समययता भने ठप्प भएको छ। राजमार्ग निर्माणको   कार्यले कागजी रूपमा मात्र प्रगति हासिल गरेको स्थानीय बताउँछन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link