रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२ सिम्रुतुमा मङ्गल वादीले मादल बेचेर घर खर्चको जोहो गर्दै आउनुभएको छ। विगत पाँच वर्षदेखि उहाँले यहाँ मादल व्यवसाय सञ्चालन गर्दै आउनुभएको हो।
चाडपर्व तथा घरायसी खर्च मादल बेचेर व्यवस्थापन गर्दै आएको वादीले बताउनुभयो। राप्ती राजमार्गको छेउमा व्यवसाय सञ्चालन गरेको भन्दै बजारको कुनै समस्या नरहेको उहाँले बताउनुभयो।
“आवश्यक परेको बेला जिल्ला बाहिरका व्यक्तिसमेत मादल किन्न आउने गर्छन्। दसैँतिहारको बीचमा मादल बनाउन भ्याइनभ्याइ हुन्छ”, वादीले भन्नुभयो, “व्यवसाय सुरु गरेको पाँच वर्ष भयो। मादल बिक्री गरेरै वर्षमा रू दुई लाखदेखि तीन लाखसम्म आम्दानी हुने गरेको छ। बजारको समस्या छैन पसलमै मादल किन्न मान्छेहरु आउँछन्।” उहाँका अनुसार अहिले पसलबाट दमाहा, डमरु र मादल बिक्री भइरहेका छन्।
एउटा मादल रू दुई हजार पाँच सयदेखि रू २५ हजारसम्म बिक्री हुने गरेको वादीले जानकारी दिनुभयो। मादल बनाउने काठलगायत आवश्यक अन्य सामग्री गाउँमै उपलब्ध हुने भएकाले सामग्री जुटाउन समस्या नरहेको उहाँले बताउनुभयो। मादल बनाउने पेसामा वादीको दम्पतीनै लागेको छ। आफूले मात्रै माग धान्न नसकेपछि एक जनालाई रोजगारसमेत दिएको उहाँले बताउनुभयो।
कामदारका रूपमा मादल बनाउने पेसामा लाग्नुभएका ५६ वर्षीय गगन वादीले आफू यो पेसामा लागेपछि चाडपर्वलगायत अन्य खर्चमा सहज भएको सुनाउनुभयो। “विगत पाँच वर्षदेखि यहाँ काम गरिरहेको छु। यहाँ वार्षिक काम गरेमा रू एक लाखदेखि डेढ लाखसम्म कमाइ हुन्छ”, उहाँले भन्नुभयो। यही पेसाले जीविकोपार्जनमा सहज भएको उहाँको भनाइ थियो।
व्यावसायिक रूपमा मादल बनाउने पेसामा लाग्नुभएका मङ्गले, वादी समुदायको जीवनस्तर माथि उकास्न र वादी समुदायको व्यवसायलाई थप व्यवस्थित बनाउन स्थानीय सरकारले चासो देखाउनुपर्ने र आर्थिकरुपमा सहयोगको गर्नुपर्ने उहाँहरुको भनाइ थियो।
दलित तथा वादी समुदायका लागि क्षमता विकास कार्यक्रमअन्तर्गत गाउँपालिकाले चालु आर्थिक वर्षमा रू दश लाख बजेट विनियोजन गरेको त्रिवेणी गाउँपालिका अध्यक्ष गनेशकुमार केसीले जानकारी दिनुभयो। उहाँका अनुसार दलित तथा वादी समुदायलाई सोही बजेटबाट सीपमूलक तालिम प्रदान गरी स्वरोजगार बनाउने लक्ष्य गाउँपालिकाले लिएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
- महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
- भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड
- कञ्चनपुर-कमला सडक विस्तार: लहानमा ‘ओभरपास’ निर्माण थालियो
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु, तनाव चुलियो
- राष्ट्रिय सूचना आयोगको १८औँ स्थापना दिवसमा प्रधान सम्पादक दाहाल सम्मानित
